कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति जोगाउन महोत्सव

लोकसंस्कृति झल्काउने प्रदर्शनी र अछाममा उत्पादित स्थानीय उत्पादनको प्रदर्शनी प्रमुख आकर्षण 
मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका ५ का काले दमाई विवाह, व्रतबन्धमा दमाहा बजाउन, हुड्केउली गर्न व्यस्त हुन्थे । दमाहा बजाएरै परिवारको गुजारा चल्थ्यो । अचेल उनलाई आफ्नो परम्परागत कामलाई निन्तरता दिने ठाउँ छैन । 

संस्कृति जोगाउन महोत्सव

काम पाउन छाडेपछि निराश उनी शुक्रबार अछाम महोत्सवको उद्घाटनमा जामा, पगडी र घाँटीमा दमाहा झुन्ड्याएर झुल्किन पाउँदा उत्साहित देखिन्थे । ‘धेरैपछि आज खुसी लागेको छ’, उनले भने, ‘हिजोआज गाउँघरमा पहिलाजस्तो बिहे हुनै छाडे । हुड्केउली र पन्चेबाजा पनि बज्नै छाडे ।’ महोत्सव कार्यक्रम भइराखेको भए परम्परागत पेसाको संरक्षण र संस्कृति पनि जोगिने उनी बताउँछन् ।’


पछिल्लो पुस्ताले बिर्सन थालेको संस्कृतिलाई मेला महोत्सवमा प्राथमिकता दिएकोमा मंगलसैन ५ का ६५ वर्षीय कम्मान सिंह नगार्जीले पनि खुसी व्यक्त गरे । ‘पन्चेबाजा, दमाहा, हुड्केउली बजाउने कामै पर्दैन । अहिलेको युवापुस्ता यस्ता काममा लजाएर चासो दिंदैनन्’ उनले भने, ‘सार्वजनिक कार्यक्रममा परम्परागत संस्कृतिबारे जानकारी गराए युवाहरूमा हौसला बढ्न सक्छ ।’


महोत्सवमा महिलाहरूले पनि सक्रियता देखाउन थालेका छन् । पुरुषले पन्चेबाजा र महिलाले पुतला, न्याउलेजस्ता नाचहरू देखाउन थालेका हुन् । ‘हाम्रो पहिचान र संस्कृतिलाई महिलाहरूले पनि संरक्षण गर्नतिर लाग्नुपर्छ भनेर पुतला नाच देखायौं,’ मंगलसैन ४ की भावना केसीले भनिन्, ‘बाहिरी जिल्लाबाट आएका धेरैका लागि यो नाच नयाँ लाग्छ ।’ उनका अनुसार विगतमा मेला महोत्सव हुनेबित्तिकै युवाहरूको मात्र चहलपहल हुने चलन पछिल्ला दिनमा हराउँदै गएको उल्टिएको देखिन्छ । मेलापात र चुलोचौकोमा सीमित रहने अछामी महिलाहरू हाल सञ्चालन हुने महोत्सव हेर्न छुटाउँदैनन् ।


‘घर बाहिर गएर जात्रा, मेला हेर्ने चलन भर्खरै सुरु भएको हो । घरबाट निस्कनै पाइन्थेन,’ महोत्सव स्थलमा भेटिएकी मंगलसैन ५ की ७५ वर्षीया कोकिला सुवेदीले भनिन्, पहिले कतै विवाहमा रत्यौली भए जान पाइन्थ्यो । अहिले त घर नजिकै ठूला मेला लाग्न थाले । महोत्सवमै पुतला, पन्चेबाजा बज्दा रैछन् ।


मेलामा नाम चलेका र रेडियोमा सुनिएका कलाकारहरूका प्रस्तुति प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले पनि ग्रामीण क्षेत्रका महिलाहरू महोत्सवमा रमाउने गरेको बताउँछन् । गाउँघरमा बिजुली नपुगेका कारण टेलिभिजनसमेत हेर्न नपाएका बुढापाका महिला तथा बालबालिकाहरू कलाकारहरूलाई प्रत्यक्ष देख्न पाउनु ठूलै खुसीको कुरा हुने गरेको सुनाउँछन् ।


खेतीपाती लगाएर यहाँका धेरैजसो पुरुषहरू कामको खोजीमा भारत जाने र गाउँमा वृद्धवृद्धा र महिलाहरू मात्रै हुने भएकाले पनि महोत्सवमा महिलाहरूको बाक्लो उपस्थिति हुने गरेको महोत्सवका आयोजकहरू बताउँछन् । ‘हुन त कान पनि राम्ररी सुन्दिनँ र राम्रोसँग आँखा पनि देख्दिनँ तर जे जति देखे र सुने पनि मेरा लागि सबै नयाँ र रमाइलो लागेको छ,’ लट्ठी टेकेर महोत्सवस्थल पुगेकी ७३ वर्षीया स्थानीय जौमती सुवेदी भन्छिन् ।


घरेलु तथा साना उद्योग महासंघ अछाम आयोजक रहेको महोत्सवमा कृषि औद्योगिक, संस्कृति, पर्यटन विकास र स्थानीय उत्पादनलाई विशेष जोड दिएको महोत्सव आयोजक समितिका संयोजक बमबहादुर रावलले बताए । उनका अनुसार कृषि, औद्योगिक, संस्कृति, पर्यटन विकास र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको हो ।


महोत्सवमा अछामसँगै सुदूरपश्चिमको लोकसंस्कृति झल्काउने प्रदर्शनी, पर्यटन प्रवर्द्धनका लागि अछामस्थित विभिन्न पर्यटकीय स्थलहरूका फोटो प्रदर्शनी, अछाममा उत्पादित स्थानीय उत्पादनको प्रदर्शनी, व्यावसायिक उद्यमशीलताका सामग्रीसमेत स्टलमा प्रदर्शनीमा रहेका छन् ।


महोत्सवमा मुख्य आकर्षकका रूपमा नेपालका ख्यातिप्राप्त कलाकार, हास्यकलाकार लगायतको उपस्थिति रहने मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वर रावलले बताए । महोत्सव अवधिभर होरी, देउडा, पुतला, सरु, पन्चेबाजा, न्याउले लगायतका झलकहरू पनि प्रदर्शन गर्ने रावलको भनाइ छ ।

प्रकाशित : चैत्र १७, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?