कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलीय जैविक विविधता संरक्षणमा चासो

कञ्चनपुर — महाकाली नदी तथा आसपासका जलाधार क्षेत्रको जलीय जैविक विविधता संरक्षणका लागि स्थानीय तहहरूले चासो देखाएका छन् । महाकाली नदीसँंग जोडिएको भीमदत्त र महाकाली नगरपालिकाले जलचर संरक्षणका लागि निर्देशिका निर्माणको तयारी थालेका हुन् ।

खासगरी महाकाली र आसपासका खोलानालाको जलीय जैविक विविधता संरक्षणका लागि दुवै स्थानीय तहले निर्देशिका निर्माण गर्न लागेका छन् । अवैध तरिकाले हुने उत्खनन तथा माछा मार्ने कार्यले जलचर संरक्षणमा समस्या परेको भन्दै निर्देशिका बनाएर त्यसलाई नियन्त्रण गरिने स्थानीय तहले जनाएका छन् । ‘जलचर संरक्षणका लागि निर्देशिका बनाउन छलफल सुरु गरेका छौं,’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘लोपोन्मुख जलचर संरक्षणका लागि विशेष पहल गरिनेछ ।’


उनले निर्देशिका निर्माणको तयारी भइरहेकाले सरोकारवाला सबैबाट सुझाव संकलनको काम भइरहेको बताए । महाकाली नदीमा माछासंँगै अन्य जलचर पनि संकटमा परेका छन् । पानीको प्रकृतिक बहावलाई परिवर्तन गरी तल्लो तटीय क्षेत्रमा पानी नै नहुने अवस्था सिर्जना हुँंदा जलचरहरू संकटमा परेका छन् । यसैगरी माछा मार्न प्रयोग हुने मापदण्ड विपरीतको महाजाल, विषादी, करेन्ट र बम पड्काउने कार्यले अन्य जीवमा समेत असर परेको छ ।


‘महाकालीमा माछाको अवस्था पनि दयनीय भइसकेको छ,’ यसै साता निर्देशिका निर्माणका लागि आयोजना गरिएको छलफलमा महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले भने, ‘कतिपय प्रजाति लोप भइसकेका छन्, कतिपय लोप हुने अवस्थामा छन् ।’


जहिल्यै पानीकै दुःख

बैतडी– बैतडीको पाटन नगरपालिका ९ मा पर्ने राजमार्ग किनारमा रहेको मुख्य बजार हो खोड्पे । विभिन्न कार्यालय, होटल व्यवसायसहित २ सय बढी घरधुरीहरू रहेको खोड्पे बजारमा बाह्रै महिना पानीको अभाव हुने गरेको छ । बजारदेखि सबैभन्दा नजिक रहेको पानीको मुहान ७ किमि टाढा छ ।


बजारका लागि पानीको अभाव टार्न १६ सय मिटर टाढाको खोलाबाट पम्प र मोटरबाट पानी ल्याइएको छ । ७ वर्षअगाडि ल्याइएको पानीले केही महिना त राम्रै काम चल्यो । तर बिस्तारै पम्प र मोटर बिग्रिएकाले समस्या पहिलाजस्तै भयो । सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष हरीश विष्टले भने, ‘उपकरण बिग्रिएकाले अहिले पानी आउँदैन ।’ विद्युत् नियमित नहुँदा पानी तान्ने उपकरणहरू चल्दैनन् ।


पानीका लागि दैनिक १५ सय बढी खर्च गर्नुपर्ने अवस्था रहेको होटल व्यवसायी चक्रबहादुर कुँवरले बताए । उनले भने, ‘दिनको १५ सय कमाइ हुन्न । पानीको जोहो गर्न त्योभन्दा बढी लगानी गर्नपर्ने अवस्था छ ।’ १५ किलोमिटर टाढाबाट सवारीसाधनमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । अर्का होटल व्यवसायी किरण राईले ब्यवसाय सञ्चालन गर्नै कठिन भएको बताए ।

आधा घण्टा पैदल हिंडेर पानी खान परिरहेको स्थानीय कैलाश भट्टले दुखेसो पोखे ।


पानी अभावले शौचालय प्रयोग गर्न पनि नसकिने अवस्था आएको उनको भनाइ छ । घरका सबै जनाले पानी बोक्ने काम गर्नुपर्ने भएकाले अन्य काममा पनि बाधा पुगेको उनको भनाइ छ । पानी अभावकै असरले रमणीयस्थल खोड्पे बजारमा पाहुनाहरू बस्न रुचाउँदैनन् । सिगास गाउँपालिका चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले भने, ‘खोड्पेमा बस्नैपर्ने भए मात्र बस्छु, नत्र हिंडिहाल्छु ।’

प्रकाशित : वैशाख १, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?