कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीच बजारमा बसपार्क

बैतडी — सदरमुकाम गोठलापानीको बीच बजारमा गाडीहरू पार्किङ गरिएका हुन्छन् । बजारको मुख्य केन्द्र मानिने त्यस ठाउँमा प्रहरीहरू ड्युटीमा खटिएकै हुन्छन् । तर जुनसुकै स्थानबाट जिल्ला आउने सवारीसाधनहरू यहीँ रोकिन्छन् । यात्रुहरू पनि यहींबाट गाडी चढ्ने र झर्ने गर्दछन् । 

बीच बजारमा बसपार्क

बजारभन्दा अलिमाथि रहेको बसपार्कमा भने विरलै मात्रामा गाडीहरू रोकिन्छन् । बस, जिप, हाइस, अल्टो, मोटरसाइकलहरू त्यही बीच बजार चोकमा रोकिन्छन् । सडकको चारैतिर होटल तथा पसलहरू छन् । सवारीसाधन बीच सडकमा रोकिँदा पैदल यात्रुहरूलाई हिँड्डुल गर्नसमेत अप्ठेरो हुने गरेको दशरथचन्द नगरपालिका ४ का जनकराज भट्टले बताए ।


बजारको मुख्य ठाउँमा सवारीसाधन रोकिँदा व्यापार व्यवसाय गर्न पनि गाह्रो हुने गरेको स्थानीय व्यापारी जनकराज जोशीले बताए । उनले भने, ‘सडकमा सवारीसाधनको घुइँचोले पसल बाहिर निस्किन पनि असहज हुन्छ ।’ दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको उनको भनाइ छ । सवारीसाधनहरू जथाभावी रोकिँदा पसल अगाडि फोहोर पनि उत्तिकै हुने गरेको उनले गुनासो सुनाए ।


अव्यवस्थित र बजारबाट टाढा रहेको बसपार्कले गर्दा सवारीसाधनहरू बीच बजारमै रोक्नुपर्ने बाध्यता रहेको सवारी चालक सुरेश टेरले बताए । उनले भने, ‘बसपार्कमा यात्रुहरू नै जाँदैनन्, यहाँ नरोकेर कहाँ रोक्नु, सबै यहीँ रोक्ने भएकाले म पनि यहीँ रोक्छु ।

बसपार्कसम्म पुग्ने सडक निर्माण कार्य भइरहेकाले बजारमै गाडी रोकाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले बताए ।


उनकाअनुसार सोही ठाउँमा विभिन्न प्रकारको सुरक्षाका लागि पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको हुन्छ । सडकको काम सकिनेबित्तिकै समस्याको समाधान हुने उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?