जन्ती बोकेको जिप दुर्घटनामा एकको मृत्यु, ११ घाइते 

बसन्तप्रताप सिंह

बझाङ — जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् । जन्ती बोकेर खप्तडछान्ना गाउँपालिकाबाट जयपृथ्वी नगरपालिकातर्फ आउँदै गरेको जिप आइतबार अपराह्न चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खप्तड छान्ना गाउँपालिका २ निम भन्ने ठाउँमा दुर्घटना हुँदा सोही गाउँपालिकाका ७० वर्षीय वासुदेव जोसीको घटनास्थलमै ज्यान गएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पानी परिरहेको बेला गुडिरहेको जिप सडकबाट चिप्लिएको स्थानीयले बताएका छन् । घाइतेको उद्धार कार्यमा डिएसपीसहितको प्रहरी टोली र स्थानीय खटिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सूर्यबहादुर केसीले जानकारी दिएका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ १७:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

२५ खर्ब लगानी गर्न ४३ कम्पनीको आवेदन 

कृष्ण आचार्य

काठमाडौँ — गत चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनमा प्रस्तुत ३१ आयोजनामा २५ खर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव परेको छ । सम्मेलन सकिएको २२ दिनपछि लगानी बोर्डले आइतबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । 'लगानीको प्रस्ताव पेस गर्ने समय अझै एक महिना बाँकी छ,' पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले भने, 'लगानी अझै थप हुन सक्छ ।'

पत्रकार सम्मेलनमा जनाइए अनुसार सरकारी र निजी क्षेत्रका ७७ आयोजनामा लगानी गर्नका लागि आव्हान गरिएको थियो । यसमध्ये २६ वटा आयोजनामा लगानीको प्रस्ताव पेस भएको हो । 'प्रस्ताव नै आव्हान नगरिएका ५ वटा थप परियोजनामा समेत आवेदन प्राप्त भएको छ,' पत्रकार सम्मेलनमा बोर्डका प्रवक्ता बलाराम रिजालले भने, 'आवेदन प्राप्त परियोजनाको कूल अनुमानित लागत २५ खर्ब रुपैयाँभन्दा बढी छ ।' यो प्रस्ताव पेस गर्नेमा ४३ वटा कम्पनीहरु रहेका छन् । प्रस्तावित लगानीको रकम विदेशी वा स्वदेशी भन्ने बोर्डले छुट्याएको छैन । कम्पनीहरुको नामसमेत सार्वजनिक गरेको छैन ।

सम्मेलनमा सरकारका तर्फबाट ५० र २७ वटा निजी क्षेत्रका आयोजनाहरु प्रस्तुत गरिएको थियो । लगानी सम्मेलन सकिएको दिनसम्म सरकारले प्रस्तुत गरे र निजी क्षेत्र आफै घोषणा गरेको आयोजनामा करिब १७ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव परेको थियो । सरकारले प्रस्तुत गरेका ५० आयोजनामध्ये ११ वटामा मात्रै लगानी गर्न १७ प्रस्ताव पेस भएका थिए ।

निजी क्षेत्र, सरकार र दातृ निकायबीच १७ आयोजनामा लगानी गर्ने समझदारी भएको छ । यो समझदारीका आयोजनाहरुको लागत भने ५ खर्ब १३ अर्ब रुपैयाँ हुन आउँछ । हाल बोर्डले सार्वजनिक गरेको तथ्यांकमा ५ खर्ब १३ अर्ब रुपैयाँ समावेश छैन । सरकारले प्रस्तुत गरेका आयोजनालाई वैशाख ७ गते शनिबारसम्म लगानीको प्रस्ताव पेस गर्न पाइने समय दिएको थियो ।

प्रकाशित : वैशाख ८, २०७६ १७:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT