फेरिँदै तल्लो स्वराड

डीआर पन्त

बैतडी — तल्लो स्वराड असुरका ७६ वर्षीय जयबहादुर लुहारले ५० नकटदै आफ्नै आंँखाले गाउंँ रित्तिँदै गएको देखे । कोही गाउंँ छोडेर छिमेकी जिल्लाका लेक क्षेत्र पुगे । कोही डडेलधुराको रंगुन उपत्यकातिर लागे । आर्थिक अवस्था अलि राम्रो भएकाहरू तराइ झरे । ‘एक समय त यस्तो पनि आयो मेरो गाउंँ मात्र होइन पुरै तल्लो स्वराड क्षेत्रका गाउंँ सुनसान भए,’ जयबहादुरले भने, ‘मुर्दा उठाउन पनि दुई–तीन गाउंँ जम्मा नभई नहुने अवस्था आयो ।’

‘स्वास्थ्य उपचार, बिजुली बत्ती, सडक यातायातको त हामीले कल्पना पनि गरेका थिएनौं खानेपानीसमेत दैनिक ६ घण्टा पैदल हिँड्नुपर्ने अवस्था थियो,’ महाकाली किनारको तल्लोस्वराड कुलाउंँका पूर्वशिक्षक धर्मराज भट्ट विगत सम्झँदै भन्छन, ‘समय यसरी कोल्टे फेर्ला भन्ने हाम्रो पुस्ताका मान्छेले सोचेकै थिएनन् ।’

उनका अनुसार यहाँका ७० प्रतिशत बढी बासिन्दाले महाकाली पारि भारतीय बजारहरूमा मजदुरी गरी साँझ–बिहानको छाक टार्ने गर्थे । बिरामी भए पनि तुइन तरेर महाकाली पारी जानुपर्ने बेग्लै पीडा थियो । ‘यस क्षेत्रका बासिन्दाका लागि राज्यको अनुभूति नै थिएन,’ शिक्षक भट्टले भने, ‘तर ८/१० वर्षमै यो क्षेत्रमा ठूलो परिवर्तन भएको छ । आफ्नो देशको रुपैयाँसमेत नचिन्ने क्षेत्रका वासिन्दा देशको मूलधारमा जोडिन थालेका छन् ।’

Citizen


पछिल्लो समय तल्लो स्वराडका लुहार र भट्टले भने जस्तो छैन, गाउँबस्ती पुरै फेरिएका छन् । डडेलधुराको भागेश्वर गाउंँपालिकावाट तल्लो स्वराडको बिशालपुर छिर्ने बित्तिकै घर–घरमा बिजुली देखिन्छ । आंँगन अगाडी १/२ भैंसी, एक हल गोरु र २/४ बाख्रा नभएको घरै भेटिँदैन । अलि माथि उक्लदै असुर र रोकटा गाउँं पुगेपछि पक्की घरहरू पनि भेटिन्छन् । घर–घरमा डिसहोमका छाता जोडेको देख्न सकिन्छ । हरेक टोलमा खानेपानीका धारा छन् । कुनै समय जस्तो उजाड नभएर गाउँंहरूमा हरियाली छाएको छ ।

‘गाउंँ छोडेर छिमेकी जिल्लाका लेक डांँडा तिर जीवनयापन गर्न हिंँडेकाहरू गाउंँ फर्किएका छन्,’ कोटी गाउँंका युवा हर्क ठगुन्नाले भन,े ‘यस क्षेत्रका युवा रोजगारीका लागि तेस्रो मुलुक जान थालेपछि पछिल्लो दशकमा बिस्तारै जीवन शैलीमा परिवर्तन भएको हो ।’ ठगुन्नाका अनुसार राज्यले लामो समय उपेक्षा गरेको यो क्षेत्रमा लोकतन्त्र आएपछि सरकारी योजनाहरू आउन थाले । ‘विभिन्न अन्तरर्राष्ट्रिय दातृ निकायका कार्यक्रमहरू पनि आए,’ उनले भने, ‘स्थानीयतहको निर्वाचनपछि गाउंँमै आएको ठूलो विकास बजेटका कारण आर्थिक गतिविधि निकै वढेका कारण जीवन शैलीमा पनि परिवर्तन आउन थालेको हो ।’

सर्वसाधारणहरू गाउंमै खुलेका बैंक र सहकारी संस्थामा खाता खोलेर रकम जम्मा गर्न थालेका छन् । ‘८/१० वर्षमा ठूलै परिवर्तन भएको छ,’ पाटनमा रहेको ग्लोबल बैंकका प्रबन्धक भरतराज भट्ट भन्छन, ‘१० वर्ष अघि र अहिलेको तल्लो स्वराड क्षेत्रमा तुलना गर्दा कल्पना गर्न नसकिएको परिवर्तन भएको देख्न सकिन्छ ।’ वैकिंग सेवासंँग जोडीनेको संख्या हेर्दा पनि २/४ वर्ष यो क्षेत्रमा ठूलो आर्थिक विकास भएको मान्न सकिन्छ ।’ परम्परागत रुपमा दैनिक जीवन निर्वाह गर्न भारत जाने परम्परा छोडेर युवाहरू तेस्रो मुलुक जान थालेपछि आर्थिक रुपमा यस क्षेत्रको जीवनशैलीमा परिवर्तन आएको भट्टले वताए ।

२०३३ सालमा डडेलधुराका ९ गाउँपञ्चायत बैतडीमा गाभेपछि तल्लो स्वराड क्षेत्र दुवै जिल्लावाट दुर्गममा परेको हो । ८ वर्षअघि डडेलधुराको भागेश्वर हुंदै तल्लो स्वराड जोड्ने एनडीप्रकाश राजमार्गमा यातायात सञ्चालन सुरु भयो । ६ वर्षअघि पाटन पञ्चेश्वर सडकमा पनि यातायात सुरु भयो । उता बैतडी सदरमुकामदेखि पनि सडक सञ्जालले तल्लो स्वराडलाइ छोएपछि यस क्षेत्रमा आर्थिक गतिबिधि वढेको हो । पाटन नगरपालिका प्रमुख केशव चन्द भन्छन्, ‘विगतभन्दा धेरै परिवर्तन भएको छ तर अझै गर्नुपर्ने धेरै वाँकी छ । शिक्षा स्वास्थ्य, कृषि, यातायात विकासका पूर्वाधार तयार भइरहेका छन् ।’

प्रकाशित : वैशाख ११, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अल्लोको व्यावसायिक उत्पादन

कान्तिपुर संवाददाता

बाजुरा — बाजुराको गौमुल गाउँपालिका १, अम्लिसकी भाना रोकाया ३ वर्षअघि खेतीपाती र पुर्खौली अल्लोको कपडा बुन्ने, नाम्लो, दाम्लो, बोरा बनाउन व्यस्त थिइन्  । उनले अहिले आफ्नो त्यही पुर्ख्यौली पेसा प्रवर्द्धन गरी बाजुरा सदरमुकाममा अल्लोबाट कपडा तयार गर्ने उद्योग सञ्चालन गरेकी छन्  ।

उनले सञ्चालन गरेको उद्योगमा अल्लो धागोको विभिन्न प्रकारका कपडा, झोला, टोपी जस्ता सामान उत्पादन हुने गरेको छ ।

स्थानीयले हेला गरेको कच्चा पदार्थ अल्लोबाट उनको उद्योगले मुलायम र बुट्टेदार कपडा उत्पादन गर्छ । उनले सञ्चालन गरेको लक्ष्मी अल्लो धागो उद्योगका उत्पादनको माग स्थानीय स्तरमा मात्र नभएर जिल्लाबाहिर पनि हुने गर्छ । ‘धेरैजसो उत्पादन जिल्लामै खपत हुने गरेको छ,’ भानाले भनिन्, ‘कहिले काँही जिल्ला कै माग पनि धान्न गाह्रो हुन्छ । जिल्लामा बिक्री नभएको मात्र बाहिर पठाउने हो ।’

उनले जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ५७ लाख ऋण निकालेर उद्योगको स्थापना गरेकी हुन् । जग्गा भाडामा लिएर सदरमुकाम मार्तडीमा खोलेको उनको उद्योगले भानाको आर्थिक अवस्था मात्र सुधार गरेको छैन, स्थानीय ९ महिलालाई रोजगारी र सीपसमेत प्रदान गरेको छ । उनले आफ्नै उद्योगमा सीप सिकाएर बाजुराकै महिलालाई रोजगारी दिएकी हुन् । उनले उद्योगको उत्पादन बिक्रीबाट कर्मचारीको तलब, छोराछोरीको पढाई खर्च, बैंकको ब्याज र घर खर्चसमेत कटाएर बार्षिक ३/४ लाख मुनाफा हुने गरेको बताइन् ।

उद्योगमा विभिन्न गाउँपालिका र संघसंस्थाहरूले पठाएका व्यक्तिलाई कपडा बुन्ने तालिमसमेत चलाउने गरेकी छिन् । उनको उद्योगबाट सिकेका धेरै महिलाहरूले घरमै अल्लोको धागो कातेर र कपडा बुनेर स्वरोजगार भइसकेको उनको भनाइ छ । उद्योगमा काम सिकेका महिलाले कातेको धागो केजीका दरले र बुनेको कपडा मिटरका दरमा उद्योगले नै किन्ने गरेको छ । (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ११, २०७६ १३:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT