कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्बन्ध विच्छेद गर्ने पुरुष बढ्दै

धनगढी — पारिवारिक खटपट भए पनि यसअघि सम्बन्ध विच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्ध विच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् ।

सम्बन्ध विच्छेद गर्ने पुरुष बढ्दै

कैलाली जिल्ला अदालतमा भदौयता १ सय ७१ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । ती मध्ये ६७ पुरुष छन् ।

‘पीडा दबाएर बसेका पुरुषहरू पनि भदौमा नयाँ कानुन आएपछि सम्बन्धविच्छेद गर्न अग्रसर देखिएका हुन्,’ शाखा अधिकृत नरबहादुर नेगीले भने, ‘सम्बन्ध विच्छेद अहिले फेसन भएको छ, सम्बन्ध विच्छेद गर्न पतिपत्नीबीच प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।’

सम्बन्ध विच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको, खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेको उनको भनाइ छ । तर, वास्तविकता त्योभन्दा फरक भएको नेगी बताउँछन । ‘पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमानहरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्ध विच्छेद गर्ने गरेको देखिएको छ,’ नेगीले भने, ‘बर्षेनी सम्बन्ध विच्छेद गराउनेको संख्या डरलाग्दो रुपले वृद्धि भइरहेको छ । अहिले त पुरुषको संख्या पनि बढ्यो ।’

सम्बन्ध विच्छेदको अर्को कारण बालविवाह पनि देखिएको नेगी बताउँछन् । ‘लहलहैमा लागेर कलिलै उमेरमा बालविवाह गर्छन् । जिम्मेवारी बढेपछि सम्हाल्न नसकेर सम्बन्ध विच्छेदका लागि आउँछन्,’ उनले भने ।

यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमामात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्ध विच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्ध विच्छेदमा अग्रसर हुने गरेको देखिएको अधिवक्ता लोकबहादुर चौधरीले बताए ।

‘सामाजिक सञ्जाल, बैदेशिक रोजगारी, एक–अर्काप्रतिको बुझाईमा फरक आउनु, बालविवाह सम्बन्ध विच्छेदका मुख्य कारण बन्ने गरेका छन्,’ चौधरीले भने, ‘सम्बन्ध विच्छेद गर्न आउनेहरूमा प्रेम बिवाह गरेकाहरू पनि उत्तिकै छन् ।’

पतीपत्नीबीच समझदारी हुन नसक्दा, सम्बन्ध विच्छेदमा गएर टुंगो लाग्ने गरेको उनले बताए । ‘सानो कुरामा विवाद गरी ठुलो बनाउँछन्, मेलमिलाप गर्नुलाई आफ्नो अपमान भएको ठान्छन्, त्यसैले विच्छेद गर्नेको संख्या बढेको हो,’ उनले भने । सम्बन्ध विच्छेदपछि उनीहरूका बालबच्चाको बिचल्ली हुने गरेको छ । परिवार र समाजमा नराम्रो प्रभाव पार्ने गरेको उनले सुनाए ।

‘श्रीमानबाट श्रीमती मात्रै होइन श्रीमतीबाट श्रीमान् पनि पीडित छन्,’ धनगढी उप महानगरपालिका न्यायिक समिति सदस्य तेजु जोशीले भनिन्, ‘सम्बन्ध टिकाउन पतिपत्नीबीच विश्वास कायम हुनपर्छ ।’ जिल्ला अदालत कैलालीका अनुसार आव ०७३/७४ मा १ सय ५१ जनाले सम्बन्ध विच्छेद गराएको तथ्यांक छ । ०७४/७५ मा १ सय ९३ जना र चालु आवको ९ महिनामा १ सय ९५ जनाले सम्बन्ध विच्छेद गराएका हुन् ।

–(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख १२, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?