कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिकाको बजेट मन्दिरै मन्दिरमा

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिकाले डेढ करोडभन्दा बढी रकम मठमन्दिर, चर्च र सत्संग कमिटीलाई बाँडेको छ । केही मन्दिरमा योजना दोहोरिएका छन् । 

उपमहानगरपालिकाले मन्दिर, सत्संगका नामका यो वर्ष ५० भन्दा बढी योजनामा ५० हजारदेखि १० लाखसम्म विनियोजन गरेको छ । उपमहानगरपालिकाको बजेट आवश्यकताका योजनामा भन्दा अनुत्पादक क्षेत्रमा परेको स्थानीय बताउँछन् । ‘मन्दिरलाई बाँडिएको डेढ करोडले नगरभित्र सडकपेटी, ढल, नालीलगायतको काम गर्न सकिन्थ्यो,’ स्थानीय दिनेश भण्डारीले भने । जनप्रतिनिधिहरूले आफ्ना मतदाता ‘रिझाउन’ मन्दिर र सत्संग समूहलाई पैसा बाँडेको आरोप उनले लगाए ।


वडा नम्बर १० को रामजानकी मन्दिरमा सत्संग भवनलाई १० लाख बजेट विनियोजन भएको छ । त्यही वडाको भनिएको रामजानकी मन्दिरको सत्संग भवन निर्माणका नाममा अर्को योजनामा ५ लाख परेको छ । वडा नम्बर १५ शिवपार्वती मन्दिरको अधुरो भवन भनेर १ लाख र त्यही नामको मन्दिर र शीर्षकमा ५ लाख परेको छ । त्यही वडाको झिनुवा शिव मन्दिरमा भनिएर तेस्रो योजना १ लाख घेरबारका लागि विनियोजन भएको छ ।


धनगढी वडा नम्बर ५ मा देउथान निर्माण शीर्षकमा १/१ लाखका २ वटा योजना परेका छन् । वडा नम्बर १८ दुर्गा मन्दिरमा नाममा पनि २ लाख र ५ लाखका छुट्टाछुट्टै योजना परेका छन् । वडा नम्बर ५ को गौरीशंकर मन्दिर निर्माणमा १ लाख र गौरीशंकर मन्दिरको कोठा निर्माण भनेर २ लाख बजेट विनियोजित छ । वडा नम्बर ९ मा पनि शैलेश्वरी मन्दिरमा पूजा घरका लागि ५० हजार र छाना मर्मत गर्न ३ लाखको बजेट छ ।


वडा नम्बर १२ बी गाउँको नवदुर्गा मन्दिरलाई ३ लाख छुट्याइएको छ । त्यही वडाको नवदुर्गा भगवतीको मन्दिर नाममा ५ लाखको योजना पारिएको छ । वडा नम्बर ११ भुइयाँ देवताको ट्रस्ट निर्माण गर्न डेढ लाख र फुलनहिया टोलमा भनिएको भुइयाँ मन्दिर निर्माणमा १ लाख विनियोजित छ । यहाँ पनि ट्रस्ट र मन्दिर निर्माण हुने एउटै मन्दिर हो/होइन स्पष्ट छैन ।


एउटै खालको संरचना निर्माणमा पहुँचका आधारमा कुनै मन्दिरलाई १० लाख रुपैयाँ दिइएको छ । वडा नम्बर १० फुलनैयामा त्यस्तै खालको संरचनाका लागि ५० हजार मात्रै छुट्याइएको छ । आफ्नै आम्दानी महिनाको ५ लाखभन्दा बढी हुने लक्ष्मीनारायण मन्दिरलाई समेत धर्मशाला निर्माण गर्न १० लाख विनियोजन गरिएको छ ।


कनिका छराइ

मन्दिरका पूजा घरमा कार्पेट, रंगरोगन, मन्दिरको आँगन, गौरा पर्व खेल्ने घर, गायत्री मन्त्र जप गर्ने मन्दिर, घेरबार, जातिविशेषका कुल देवताको मन्दिरमा नगरपालिकाले कनिका छरेजस्तै बजेट बाँडेको छ ।


वडा नम्बर ६ कृष्ण मन्दिरमा कार्पेटका लागि ५० हजार, वडा नम्बर ९ मा पनि शैलेश्वरी मन्दिरमा पूजा घरका लागि ५० हजार, वडा नम्बर ७ को हनुमान मन्दिरमा रंगरोगनका लागि ४ लाख, कालिका मन्दिरमा पर्स निर्माणमा १ लाख विनियोजन गरिएको छ । भुइयाँ माता मन्दिर निर्माणका लागि १ लाख र थारू देउथानमा १ लाख बजेट दिइएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?