कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धामीको भर पर्दा...

धामीबाट उपचार सम्भव नभएपछि उनका बुबा गोपाल बोहराले डाक्टरकहाँ देखाउन सदरमुकाम चैनपुर ल्याए । जिल्ला अस्पतालमा उनको उपचार भएन । सुविधासम्पन्न अस्पताल पुर्‍याउन चिकित्सकले सल्लाह दिए । उनको आर्थिक अवस्थाले त्यो सम्भव थिएन । 
वसन्तप्रताप सिंह

बझाङ — प्रमा बोहरा । वर्ष २४ । घर साइपाल गाउँपालिका २, धलौन । हेर्दै फरासिली । मिलनसार । रहरैरहर अनि सपनाले घेरिएकी । तर बाध्यताले थिचिएकी । पिटिएकी । क्रूर काला रातसंँग संघर्ष गरेर धन्न बाँचेकी उनी दुवै कान सुन्दिनन् । 

धामीको भर पर्दा...

उनीसँगैका दौंतरी महिला अधिकांशले घरजम गरिसके । छोराछोरी हुर्काइसके । यो देख्दा प्रमालाई पनि विवाह गर्ने अनि केटाकेटी खेलाउने रहर जाग्छ । साथीले देउडा खेलेको, फोनमा कुरा गरेको देख्दा त्यसै गर्न रहर लाग्छ । रहरहरू मन मै जन्मिन्छन । मनमै मर्छन् । भन्छिन्, ‘भावीले यस्तै लेखेको रैछ भनेर मन बुझाउँछु ।’


देउडाका टुक्का मिलाउन खप्पिस प्रमा मनमा उकुसमुकस गितबाटै पोख्छिन् । जिन्दगीका रहरहरू देउडाबाटै बताउँछिन् । गीतबाटै चित्त बुझाउँछिन् । यसैगरी जिन्दगी गुजारेको पनि १२ वर्ष भैसकेछ । उनले भेटमा सुनाइन् ।


१२ वर्षअघि के भयो उनलाई ?

एकदिन गाईबस्तु चराउन घर नजिकैको जंगलमा गइन् । अचानक पेट दुख्न थाल्यो । लगातार वान्ता हुन थाल्यो । सँगै गएका अरु साथीले घरसम्म बोकेर ल्याए । प्रमा अचानक बिरामी भएपछि बाआमाले घरमा धामी बोलाए । घर बाहिरैबाट काँप्दै आएका धामीले उनलाई भूत लागेको भन्दै झारफुक (मन्त्र लाउन) सुरु गरे । भूत भगाउने बहानामा कुटपिट सुरु भयो । निर्घात कुटे ।


बिरामीलाई कुटेर थाकेका धामीले भूत सहजै नभाग्ने भन्दै उनका परिवारलाई अर्को पटक फेरि आफ्नो दियो बाल्नु (फेरि धामी बसाल्नु) भनेर निस्किए । प्रमा कुटाइले झन थिलथिलो भइन् । अवस्था गम्भीर र चिन्ताजनक बन्दै गयो । यो देखेर आत्तिएका उनका बुवाले लगतै अर्को धामी बोलाए । अर्को धामीले पनि मरणसान्न हुने गरी पिटे । तर उनलाई सन्चो भएन । कुटाइ रातभर चल्यो । धामीहरू फेरिदै गए । उपचारका नाउमा रातभर खाएको पिटाइ र पीडा सम्झदा अहिले पनि प्रमा तर्सिन्छिन ।


‘नथाकुन्जेल कुट्थे, थाकेपछि भुत बलियो रैछ एकै पटकले गएन, अर्को पटक फेरी दियो बाल्नु भन्थे’ प्रमाले त्यो कालो रातको सम्झना गर्दै भनिन, ‘१०/१२ जना धामीले पालैपालो कुटे, चिथोरे, टोके, कोहीले पन्यु रातो हुने गरी तताएर पिट्थे।’ होस हुँदासम्म कुटेको उनलाई याद छ । धेरै कुटाई खाएपछि बेहोस भइन् । त्यसपछि के गरे थाहा पाइनन् । भोलीपल्ट होस फर्कदा उनका दुबै कानले सुन्न छोडिसकेका थिए । ठुलो खोला सुसाए जस्तो लगातार आवाज आईरहेको थियो । संयोगवश उनको पेट दुख्न भने रोकिएको थियो । वान्ता रोकिएको थियो । बलिया धामीको बेहिसाब कुटाईले उनका दुबै कान फुटिसकेका रहेछन् ।


अघिल्लो दिन सम्म उनले कल्पना पनि गरेकी थिइनन । त्यो कालो रातले जीवन सधैका लागि अन्धकार बनाइ दिन्छ भनेर । कान सुन्न छोडेपछि उनी माथीको यातना झन चरम हुँदै गयो । दिनहुँ जसो घरमा धामी बोलाइन्थ्यो । लाटो भुत लागेको भन्दै सबै धामीले विभिन्न खाले यातना दिन्थे । झण्डै छ महिनासम्म यो क्रम चल्यो । तर उनले कान सुनिनन् ।


धामीबाट उपचार सम्भव नभएपछि उनका बुवा गोपाल बोहराले डाक्टरकहाँ देखाउन सदरमुकाम चैनपुर ल्याए । जिल्ला अस्पतालमा उनको उपचार भएन । सुविधा सम्पन्न अस्पताल पुर्‍याउन चिकित्सकले सल्लाह दिए । उनको आर्थिक अवस्थाले त्यो सम्भव थिएन । ‘यसको भाग्यमा यस्तै लेखेको रैछ भनेर चित्त बुझाएँ, घर फर्काएर आएँ’ प्रमाका बुवाले भने ‘अहिले यसको भविश्य सम्झेर चिन्ता लाग्छ ।’


भाग्यमाथि भरोसा

उनको भाग्यमा के लेखिएको थियो ? तर धामीको यातनाले सबै मेटिदियो । उनको भागमा बाँकी रह्यो मात्र पीडा र निरासाको जीवन । उनी भाग्यलाई सराप्न थालिन् । देउडा भनेपछि हुरुक्कै हुने प्रमा गाउन पनि जान्दछिन् । आफ्नो भाग्यलाई देउडा मार्फत यसरी व्यक्त गरिन् । ‘नरोउँ भन्या मन मान्दैन, रोयाले (रोएर) पुग्दैन, भाविले बान्याको (बाँधेको) गाँठो केइ गरे फुक्दैन ।’


उनकी भाउजु नाता पर्ने विमला बोहरा भन्छिन्, ‘कान मात्र नसुन्ने हुन्, यति फरासिली र मिलनसार केटी गाउँमा कमै छन, विचरीका रहर त कति छन कति, तर के गर्नु दैवले नै ठगे पछि ? ।’ गाउँमा आफुले कोरीबाटी गरेर हिंड्दा पनि गाउँलेले गिज्याउलान भन्ने डर लाग्छ प्रमालाई । यो कुरा देउडा मै सुनाईन् । ‘उइ दिन आउँदा उई दिन झाँदा मु कसरी काटुँ, दुई बाट्याकी खिस्याउदा (गिज्याउदा) छन एकै चुल्ठो बाटु ।’


कुराकानीका क्रममा प्रमा बेलाबेला भावुक भइन् । आफ्नो भाग्य प्रति निकैनै विरक्त देखिने उनले गितबाटै भनिन ‘म छोरी अभागी जन्म्याँ दोष लाउनु कै (को) सित, भाग्यले दिनु दुःख दियो को बुझाउला चित्त ?’ भगवानले पाप गरेपनि सरकारले धर्म गर्छ र आफूलाई फेरी कान सुन्ने बनाईदिन्छ भन्ने झिनो आशा पनि उनले गितबाटै व्यक्त गरिन् । ‘पाप अर्न्या भगवान बैरी धर्म अर्न्या सर्कार, मेरा दुख बुझौलाकी पड्याको दर्कार ।’ त्यही बेलाको कुटाइका कारण अहिले पनि जीउ दुख्ने हुन्छ । भन्छिन ‘खासै सन्चो पनि हुदैन । विरामी भएर जिन्दगी जाने भयो ।’


सबैको आशा धामीमै

अन्धविश्वासका कारण जीवन अन्धकारमा धकेलिएकी प्रमा साइपाल गाउँपालिकाकी एक जिवित उदाहरण मात्र हुन । सदरमुकाम चैनपुरबाट ३ देखी ५ दिनसम्मको पैदल दुरीमा रहेको जिल्लाकै विकट यस गाउँपालिकाको स्वास्थ्य सेवा र चेतनाको अवस्था अझै पनि फेरिएको छैन ।


स्वास्थ्य चौकीहरू छन । औषधी छैन । उपचार दिने दक्ष जनशक्ती छैन । कार्यालय सहयोगीहरूका भरमा महिनौसम्म चल्छन स्वास्थ्य संस्थाहरू । अनि जस्तोसुकै विमारको उपचारको लागि पनि धामीकै भर पर्छन यहाँका जनता ।


‘धामीको भर पर्दा कति जनाको मृत्यू भैसक्यो होला । कति महिलाको धामीको कुटाईबाट गर्भपतन समेत भएको छ’ धलौनका बसन्त बोहरा भन्छन, ‘सदरमुकाममा गएर उपचार गर्न सक्ने हैसियत सबैसँग हुदैन । आपतकालिन विरामीलाई ३/४ दिन लगाएर बोकेर लैजान पनि सकिन्न । धामी नै यहाँका डाक्टर हुन ।’


यहाँका स्थानियहरू आफूलाई लागाँ देवताका सन्तानको रुपमा मान्ने गरेका छन् । त्यसैले विरामी पर्दा लाँगा कै भर गर्छन । बोहरा भन्छन, ‘देउताको भर नगरौ भने अरु विकल्प पनि त छैन ।’

प्रकाशित : वैशाख ३०, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?