कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा किटानी जाहेरी

कञ्चनपुर — दुई साताअघि मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको घटनामा नेकपाका स्थानीय नेताको नाममा किटानी जाहेरी परेको छ  । पीडित परिवारले नेकपाका नेता गोपाल रसाइलीका नाममा किटानी जाहेरी दिएका हुन्  ।

वैशाख २७ गते मृतकका भाइ गोविन्दसिंह कुंँवरले रसाइलीले चलाएको मोटरसाइकलले ठक्कर दिई दाइ तारासिँंह कुवरको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । वैशाख १५ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका भासी क्षेत्रमा महेन्द्रनगरबाट घर तर्फ गइरहेका ६५ वर्षीय कुंँवर मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए ।


उनको उपचारकै क्रममा दोस्रो दिन भारतको बरेलीस्थित राममूर्ति मेडिकल ट्रष्टमा मृत्यु भएको थियो । ‘हामीले किटानी जाहेरी दिएर पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको छैन,’ मृतक तारासिंहका भाइ शेरसिंहले भने, ‘प्रत्यक्षदर्शीका अनुसार रसाइलीले चलाएकै मोटरसाइकलले दाजुलाई ठक्कर दिएको हो ।’

उनका अनुसार घटना भएपछि रसाइलीले नै घाइतेलाई महाकाली अञ्चल अस्पतालसम्म पुर्‍याएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने रसाइलीका नाममा किटानी जाहेरी परेको र उनको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?