गाइड छैनन्, जलयात्राको होडबाजी

स्थानीय तहले पूर्वाधार निर्माणभन्दा पनि जलयात्रा सञ्चालनमा बढी जोड दिएका छन्
भवानी भट्ट

कञ्चनपुर — पुस अन्तिम साता भीमदत्त नगरपालिकाले महाकाली नदीमा जलयात्रा सञ्चालनका लागि परीक्षण गर्‍यो  । चुरे फेदीमा रहेको नगरपालिका ९ मसेट्टीदेखि सुरु गरिएको जलयात्रामा प्रदेश सरकारका मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भए  ।

परीक्षण सफलभएपछि छिट्टै महाकालीमा नियमित रुपमा साहसिक जलयात्रा गरेर पर्यटकहरूलाई तान्ने नगरपालिकाले योजना बनायो ।

चैत अन्तिम साता जिल्ला समन्वय समिति कैलाली र मोहन्याल गाउँपालिकाले पनि चिसापानी क्षेत्रमा जलयात्रा महोत्सव आयोजना गरे । उक्त महोत्सवमा पनि प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र विभिन्न तहका जनप्रतिनिधिहरू सहभागि भए ।

चिसापानी क्षेत्रमा पहिल्यैदेखि नियमित रुपमा जलयात्रा चलिरहेको छ । डोटीमा पनि विभिन्न स्थानीय तहहरूले जलयात्रा गराउने जमर्को गरेका छन् । डेढ साता सम्म सेती नदीमा जनप्रतिनिधिदेखि थुप्रैले साहसिक जलयात्राको आनन्द लिए । तर पछिल्लो पटक स्थानीय तहहरू प्राविधिक योजना विना आफै यसका लागि हौसिएका देखिन्छन् ।

पछिल्लो पटक ठूला नदी किनारका स्थानीय तहहरूले साहसिक जलयात्रामा विशेष जोड दिएका छन् । यसलाई पर्यटक आकर्षण गर्न सकिने प्रमुख स्रोतको रुपमा हेरेका छन् । तर यसका लागि आवश्यक पूर्वाधारसँगै जलयात्राका दक्ष गाइडहरूको अभाव छ । यसतर्फ भने उनीहरूले चासो दिएको देखिदैन ।

‘अहिले जलयात्राका लागि नेपालमा दक्ष गाइडको ठुलो खाँचो छ,’ कर्णालीको चिसापानी क्षेत्रमा लामो समयदेखि जलयात्रा गराइरहेका कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जोशीले भने, ‘अहिले धेरै स्थानीय तहले र्‍याफ्टिङ चलाउने भनेका छन्, तर अन्य पूर्वाधारमा भने ख्याल गरेका छैनन् ।’

उनले जलयात्राको प्रमुख पूर्वाधार नै दक्ष गाइड भएकाले स्थानीय तहहरूले यसतर्फ जोड दिए दोहोरो फाइदा हुने बताए ।

कर्णाली एडभेन्चर प्रालिले अहिले युगाण्डाबाटसमेत गाइडहरू झिकाए जलयात्रा गराइरहेको छ । उक्त कम्पनीलाई पनि गाइडको ठुलो खाँचो छ । जलयात्रा गाइडको तालिम दिएर दक्ष बनाउन सके जल पर्यटनको विकाससँगै रोजगारी सृजना हुन्छ । महाकालीमा मात्रै जलयात्रा सुरु भए तत्काल १५/२० जना दक्ष गाइड चाहिने जोशी बताउँछन् । यसैगरि अन्य नदीहरूमा पनि थुप्रै गाइडको आवश्यकता रहेको उनले बताए ।

नेपालमा जलयात्राका गाइडहरूले मासिक २० देखि २५ हजारसम्म आनन्दले कमाउन सक्छन् । दक्ष भए विदेशमासमेत राम्रो माग छ । नेपालमा वर्षायाम सुरु भए जलयात्रा रोकिन्छ । कतिपय देशमा त्यहि बेला जलयात्रा सुरु हुन्छ । यसकारण बाह्रै महिना काम पाउन सकिन्छ । विदेशमा आम्दानी पनि राम्रो हुने गरेको जोशी बताउँछन् । अहिले नेपाली गाइडको विदेशमा पनि ठुलो माग भएको उनले बताए ।


‘हामीसँग पनि गाइडको अभाव नै छ,’ ५ वर्षदेखि महाकाली जलयात्रा गरिरहेका भारतीय नागरिक राजु गडकोटीले भने, ‘यदि नेपालमा दक्ष गाइड भए हामी रोजगारी दिन तयार छौं ।’ भारत उत्तराखण्डको टनकपुर नजिकै महाकाली किनारमा दुई कम्पनीले क्याम्प राखेर ५ वर्षदेखि नियमित रुपमा जलयात्रा गराइरहेका छन् । उक्त जलयात्राका लागि नेपालका उच्च घरानाका व्यक्तिहरूसमेत आउने गरेका छन् ।


भीमदत्त नगरपालिकाले कर्णाली र्‍याफ्टिङ एडभेन्चर प्रालिसँग सहकार्य गरेर महाकालीमा मुसेट्टीदेखि खल्लासम्म १२ किलोमिटर जलयात्रा सञ्चालनको तयारी गरेको छ । सीमा नदी भएकाले यसका लागि आवश्यक प्रक्रिया पनि भइरहेको छ ।

यसका साथै गाइडको तालिम सञ्चालन गरेर उक्त क्षेत्रका युवाहरूलाई स्वरोजगार बनाउन पनि पहल गरिने नगर प्रमुख सुरेन्द्र विष्टले बताए । ‘तत्कालि भारतिय व्यवसायीहरूबाट पनि खल्ला क्षेत्रका युवालाई तालिम दिन सकिन्छ’ उनले भने ।

प्रकाशित : जेष्ठ २, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विद्यालयमा एटिएमबाट प्याड

डीआर पन्त

डडेलधुरा — गाउँपालिका प्रमुखले एटिएम जस्तै कार्ड मेसिनमा राखेपछि सेनेटरी प्याड फुत्त निस्क्यो  । विद्यालयका सबै छात्राहरूले ताली बजाएर खुसी व्यक्त गरे  । मर्यादित छुई वर्ष (छाउपडी) विरुद्ध अभियान सञ्चालन गरिरहेको डडेलधुराको भागेश्वर गाउँपालिकाले सबै विद्यालयमा एटिएम शौचालय निर्माण गर्ने अभियान सुरु गरेको हो ।

उक्त अभियानअन्तर्गत पहिलो पटक गाउँपालिका कार्यालयसँगै रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि प्याडसहितको एटिएम मेसिन बुधवार एक समारोहका बीच सुरु गरिएको छ ।


‘छात्राहरूलाई चाहिने सेनेटरी प्याडसहितको एटिएम शौचालय सुरु गर्ने यो पहिलो विद्यालय भएको छ’ उद्घाटन गर्दै गाउँपालिका प्रमुख कौशिला कुमारी भट्टले भनिन् ‘अन्धविश्वासका कारण महिनावारी भएको समयमा बिद्यालय नआउने छात्राहरूका लागि यो अभियान सुरु गरिएको हो ।’

महिनावारी भएका बेला अधिकांश किशोरीहरू लोकलाज र अन्धविश्वासका कारण विद्यालय आउन अप्ठेरो मान्ने गरेको प्रमुख भट्ट बताउँछिन् । विगत सम्झँदै उनले भनिन् ‘मैले पनि यसै विद्यालयमा अध्ययन गरेकी हुँ । महिनावारीका बेला भोग्नुपर्ने कठिनाइ थाहा छ ।’

बुटवलको एउटा क्याम्पसमा एटिएम शौचालयको समाचार पढेर आफूले पनि गाउँपालिकाअन्तर्गतका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने जमर्को गरेको गाउँपालिका प्रमुख भट्टले बताइन् । उनले भनिन् ‘महिनावारी हुनु कुनै पापको कारण होइन, यो प्राकृतिको देन हो । महिनावारी हुनुमा पाप र धर्मको कुनै सम्वन्ध छैन ।’ एटिएम शौचालयको ब्यवस्थाले कुप्रथाका रुपमा रहेको छाउपडी समस्याप्रति जनचेतनामा बृद्धि हुने विश्वास पनि उनले गरिन् ।

ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा उक्त अभियान सुरु गरिएको परियोजनाका सामाजिक तथा विकास बिज्ञ चन्द्र ठगुन्नाले बताए । उनले भने ‘एटिएमसहितको सेनेटरी प्याड शौचालय प्रदेश मै पहिलो हो ।’ अरु प्रदेशमा यो अभ्यास पहिलेदेखि नै चलिरहेको छ । सुदूरपश्चिम प्रदेशमा भने विद्यालयको शौचालयमा सुरु गरिएको ठगुन्नाले बताए ।

यही अभियान डोटी र बाजुरामा पनि सुरु गर्न थालिएको पनि उनले वताए । यस अभियानले महिनावारी हुँदा छात्राहरूमा देखिने समस्या र सामाजिक कुरिती विरुद्ध समाजमा जनचेतना बृद्धि हुने विश्वास पनि ठगुन्नाले गरे । उनले महिनावारी भएकै कारण अधिकांश छात्राहरू बर्षमा ४८ दिन बिद्यालयमा अनुपस्थित हुने अवस्था रहेको बताए । भागेश्वर गाउँपालिकामा मात्र नभई प्रदेशका सबै पहाडी विद्यालयमा समान समस्या रहेको बताए ।

महिनावारी हुने सबै छात्राहरूलाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ । सेनेटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क ३ बर्षसम्म गाउँपालिकाले ब्यहोर्ने प्रमुख भट्टले बताइन् । एटिएम कार्ड वितरण गर्दै उनले भनिन्, ‘स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा आएको रकम बचाएर छात्राहरूको एटिएम रिचार्ज गर्ने ब्यवस्था गाउँपालिकाले गर्नेछ ।’

विद्यालयले पनि प्याडका लागि न्यूनतम शुल्क राख्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चन्दले बताए । ‘प्रति प्याड २ रुपैंयासम्म शुल्क निर्धारण गरिने छ’ उनले भने ‘यो अभियानले महिला सम्बन्धि सामाजमा प्रचलित विभिन्न कुरितीको अन्त्य गर्न ठूलो सहयोग पुग्नेछ ।’ अहिलेलाई यसअघि निर्माण भएका शौचालयमै एटिएम मेशिन प्रयोग गरिने भएपनि केहिपछि आधुनिक शौचालय निर्माण गरिने उनले बताए । आधुनिक शौचालय निर्माणका लागि गाउँपालिकाले ५ लाख र ग्रामिण जलश्रोत परियोजनाले ५ लाख रकम छुट्याएको छ । बिद्यालयका अध्यक्ष चन्दले भने ‘निर्माण समिति गठन भइसकेकाले तत्काल शौचालय निर्माण हुनेछ ।’

बिद्यालयहरूले प्याड खरिद गर्न महंगो हुने भएका कारण प्याड बनाउने तालिमसमेत आयोजना गर्ने गाउँपालिकाले योजना बनाएको छ । ‘हरेक माध्यामिक विद्यालयका २ जना शिक्षिकालाई सेनेटरी प्याड बनाउनका लागि प्रशिक्षण दिन ३ लाख ५० हजार गाउँपालिकाले विनियोजन गरेको छ’ प्रमुख भट्टले भनिन् ‘२ महिनाको प्रशिक्षणपछि छात्राहरूले प्रयोग गर्ने प्याड गाउँपालिकामा उत्पादन हुनेछ ।’

प्रकाशित : जेष्ठ २, २०७६ ११:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT