पढ्ने उमेरमा आमा

‘लहैलहैमा लागेर सानै उमेरमा विवाह भयो । पछुतो लागेको छ, दोस्रो सन्तान गर्भमा बसेको थाहै भएन । अहिले कमजोर भएको महसुस गर्दै छु’
मेनुका ढुंगाना

अछाम — जनालीकोटकी उर्मिला ताम्राकारले १४ वर्षको उमेरमै ४ वर्षअघि मंगलसैन नगरपालिका ३, बिरालतोलीका सिद्ध विकसँग भागी बिहे गरिन् । अहिले उनी १८ वर्ष पुगिन् । साथमा २ सन्तान छन् । पहिलो सन्तान छोरी जन्माएकी उनले जन्मान्तर २ वर्ष नहुँदै पुन: छोरी जन्माइन् । पछिल्लोपटक जन्मेकी छोरी १ महिना पुगिन् ।

१८ वर्षमा २ सन्तानकी आमा बनेकी उर्मिला ताम्राकार । तस्बिर : मेनुका/कान्तिपुर

‘सुत्केरी अवस्थामा खानलाई घरमा अन्न छैन । पति भारतमा छन्,’ उनले भनिन्, ‘सामान्य चिनजान थियो । पछि फोनमा कुरा हुन्थ्यो । ५ कक्षाको परिक्षा नदिएरै भागेर बिहे भयो । अहिले गुजारा चलाउन गाह्रो छ ।’

विवाहपछि विद्यालय भर्ना भए पनि घरायसी कामले पढ्न नसकेको उनी बताउछिन् । ‘अहिले २ छोरी छन् । दोस्रो पनि छोरी भएको भन्दै सासू-ससुरा र आफन्तले गर्ने व्यवहार बदलिएको छ,’ उनले भनिन्, ‘छोरो नजन्मिएसम्म शान्त वातावरणमा बस्न पाइने अवस्था छैन ।’

मंगलसैन नगरपालिका १३ कि शान्ता धामी १९ वर्षकी भइन् । बिहे भएको ३ वर्ष भयो । अहिले उनिसँग १ छोरी छन् । ७ कक्षा पढ्ने बेला नै प्रेम विवाह गरेकि शान्ता फेरि आमा बन्दै छिन् । ‘सानै उमेरमा लहैलहैमा लागेर विवाह भयो । अहिले पछुतो लागेको छ,’ उनले लजाउँदै भनिन्, ‘दोस्रो सन्तान गर्भमा बसेको थाहै भएन । अहिले कमजोर भएको महसुस गर्दै छु ।’

उर्मिला र शान्ता जस्तै जिल्लाका धेरै किशोरीले पढ्ने उमेरमै आमा बन्ने गरेको जिल्ला अस्पतालको तथ्यांकले देखाउँछ । आव ०७५/७६ मा जिल्लाभर ७ हजार ३ सय १५ महिलाले गर्भ जाँच गराएको र त्यसमा १ हजार ४ सय ६ महिला २० वर्षमुनिका किशोरी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

प्रोटोकलअनुसार ४ पटक गर्भवती जाँच गर्ने ४ हजार ६ सय १७ गर्भवतीमध्ये ७ सय ५९ जना २० वर्षमुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । आव ०७१/७२ मा ७ हजार ७ सय १ गर्भवतीले जाँच गराएकोमा १ हजार ४ सय १५ २० वर्षमुनिका गर्भवती किशारी थिए ।

त्यसै आव ०७२/७३ मा ७ हजार ६ सय ६९ जनाले गर्भवती जाँच गराएकोमध्ये १ हजार ६ सय ७७ जना २० वर्षमुनिका थिए । चालु आवको वैशाखमा जिल्ला अस्पताल मंगलसैनमा मात्रै २० वर्ष मुनिका २५ किशोरी आमा बनेका छन् ।

१० जनाले गर्भपतन गराएका छन् । सानो उमेरका विवाहमा गर्भधारण गर्दा आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भए पनि किशोरावस्थामा गर्भधारण गर्नेको संख्या घट्न सकेको छैन । अघिल्लो वर्षभन्दा केहि संख्या घटे पनि बालविबाह गर्नेको संख्या भने घटेको छैन ।

गर्भ जाँच गर्न आउँदा वास्तविक उमेर नबताउने गर्भवती किशोरी पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयकी सिनियर अनमी ज्ञानु माझीले बताइन् । ‘१६/१७ वर्षका किशोरीहरू वास्तविक उमेर बताउँदैनन् । २० वर्षभन्दा बढि नै भन्छन्,’ उनले भनिन्, ‘आफैं बच्चा उमेरका किशोरीहरू गर्भ जाँच गराउन आउँछन् तर वास्तविक उमेर बताउन चाहदैनन् ।’

वास्तविक उमेर नभन्नेहरू धेरै भएका कारण गर्भवती किशारीको संख्या बढ्न सक्ने उनले बताइन् । बाल विवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप प्रताडित हुन पुग्छन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ १२:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सेती लोकमार्गको काम सुस्त

एक दशकअघि सुरू भए पनि हालसम्म कामले गति लिन सकेको छैन
मेनुका ढुंगाना

अछाम — सुदूरपश्चिममा सडक यातायातका लागि मेरुदण्ड हुने मानिएको सेती लोकमार्गको निर्माण कार्य सुस्त छ । एक दशकअघि सुरु भए पनि हालसम्म कामले गति लिन सकेको छैन । 

सेती लोकमार्गअन्तर्गत दक्षिणी खण्डतर्फ चित्रेमा ट्र्याक खोलिँदै । तस्बिर : मेनुका / कान्तिपुर

निर्माण कार्यलाई गति दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालयपनि स्थापना गरेको छ । काम भने काम भने छरितो छैन ।

यो लोकमार्गले अछाम, बाजुरा, डोटी, बझाङ र कैलालीलाई जोड्ने योजना छ । जसअन्तर्गत अछाममा ८० किलोमिटर, बाजुरामा १२, बझाङ खण्डमा ३८ किलोमिटर, डोटीमा ४२ किलोमिटर र कैलालीमा ७० किलोमिटर पर्छ । यो मध्ये अछाममा २६ किलोमिटर ट्रयाक खुल्नै बाँकी छ ।

बाजुरा र डोटी खण्डमा निर्माण गर्नुपर्ने कामको सर्भे डिजाइन नै भएको छैन । बझाङको ३८ किलोमिटरमा भने ट्रयाक खुलिसकेको छ । कैलाली खण्डमा २८ किलोमिटर सडकमा मात्र ट्रयाक खुलेको लोकमार्ग निर्माण कार्यालयको दक्षिणी खण्ड अछामका इन्जिनियर दुर्गा मण्डलले बताए ।

‘सेती लोकमार्गमा १ २२ किलोमिटर सडकमा ट्रयाक खुल्न बाँकी छ’ भण्डारीले भने ‘हालसम्म १२० किलोमिटरमा मात्र ट्रयाक खोल्ने काम भएको छ ।’ इन्जिनियर मण्डलले १० वटा ठेक्कामा काम भइरहेको बताए । ती मध्ये २ वटाले काम सम्पन्न गरिसकेको र अर्को एक कम्पनीले अन्तिम चरणमा पुर्‌याएको उनले बताए । ‘अन्य ७ वटा ठेक्कामा काम भइरहेको छ’ उनले भने ।

वन क्षेत्रमा रूख कटानीका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न बाँकी रहेको इन्जिनियर मण्डल बताउँछन् । ‘केही ठाउँमा रूख काट्नुपर्ने भएकाले त्यसको लागि अनुमति पाएका छैनौं,’ उनले भने ‘कार्यालयको तर्फबाट कुनै ढिलाइ भएको होइन ।’

सेती लोकमार्गका लागि चालु आवमा ३८ करोड ८२ लाख विनियोजन भएको छ । उक्त रकममध्ये हालसम्म ५ करोड मात्रै खर्च भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा यस लोकमार्गको दक्षिणी खण्डका लागि ४० करोड बजेट विनियोजन गरेकोमा काम पूरा हुन नसकेर १५ करोड ६० लाख फ्रिज गएको थियो । उत्तरी खण्डमा २३ करोड खर्च गरिएको थियो ।

प्रदेशको राजधानी धनगढीदेखि डडेलधुरा हुँदै अछामको साँफेबगर जोड्ने हाल सञ्चालित एक मात्र सडकको लम्बाइ करिब २ सय ७० किलोमिटर छ । सेती लोकमार्ग निर्माण भएपछि धनगढी-साँफेबगरको दूरी १ सय ३५ किलोमिटरमा झर्नेछ ।

निर्माणाधीन यो लोकमार्ग निर्माण भए पनि १ सय ३५ किलोमिटर दूरी कम हुनेछ । ‘समयमै काम सम्पन्न होस् भनेर दबाब दिइरहेका छौं,’ जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले भने, ‘यो सडकले यस क्षेत्रका बासिन्दाहरूको आवतजावतमा समय र खर्च आधा भन्दा कम गर्नेछ ।’

सेती लोकमार्ग दक्षिण भारत र उत्तर चीनलाई जोड्ने महत्वपूर्ण कोरिडोरका रुपमा पनि लिइएको छ । यस सडकले नेपालका चार धाम मध्येको एक अछामको वैद्यनाथ धाम, जडीबुटीको प्रचुर सम्भाव्यता भएको रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवर्द्भनमा टेवा पुग्ने सरोकारवालाहरू बताउँछन् ।

भारतबाट मानसरोवर क्षेत्रमा जाने तीर्थयात्रीहरूका लागि यो मार्ग सबैभन्दा छोटो र प्रभावकारी हुनेछ । ‘बझाङ, अछाम र बाजुराका बासिन्दालाई प्रदेश राजधानीसँग सहज पहुँच प्राप्त हुनेछ’, अछामका जिसस प्रमुख कुँवरले भने ।

प्रकाशित : जेष्ठ ७, २०७६ १२:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT