कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा ट्याक्टर पुगेपछि...

वर्षौंदेखि तुइनमार्फत खाद्यान्न ओसारपसार गर्दै आएका स्थानीय सडक बनेपछि उत्साह
मनोज बडू

दार्चुला — दार्चुला–तिंकर खण्डको ३९ किमिमा पर्ने सुन्सेरासम्म ट्र्याक खुलेको छ । जिल्लाकै सबैभन्दा विकटमा पर्ने ब्यास गाउँपालिकाको केन्द्र रहेको सुन्सेरामा बिहीबार ३ ट्याक्टर पुगेका छन् । 

गाउँमा ट्याक्टर पुगेपछि...

पालिकाको केन्द्रसम्म ट्याक्टरसँगै जीपहरू पनि गुड्ने भएपछि स्थानीय बासिन्दा खुसी छन् । ठेक्का पाएको निर्माण कम्पनिले चालु आर्थिक वर्षको पुसदेखि कामको गति बढाएर सुन्सेरासम्म गाडी गुड्ने ट्र्याक खोल्न सफल भएको हो ।

सदरमुकाम खलंगालाई जिरो प्वाइन्ट मानेर चीनको सीमा नाकासम्म जोड्ने उद्देश्यले १० वर्षअघि यो सडक निर्माण सुरु भएको हो । १ सय ४० किमि लम्बाइको दार्चुला–तिंकर सडक योजना नियमनकारी निकाय र ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।

पछिल्ला केहि बर्ष जिलेटिनको समस्याले यो सडक निर्माणमा ढिलाई भएको हो । ‘सापटीमा जिलेटिन प्राप्त भएपछि निर्माण कार्यमा प्रगति देखिएको हो’ योजनाका निमित्त प्रमुख दिनेश रैखेलाले भने, ‘विस्फोटक पदार्थ नपाएर लामो समय कामै गर्न सकिएको थिएन ।’

जिलेटिन अभावकै कारण गत वर्षसम्म राताकाठाको चट्टान फोड्न सकिएको थिएन । विस्फोटक पदार्थ उपलब्ध भएपछि विजयपुर भीर, चुकपानी र नाजी भीर तोडेर सुन्सेरासम्म अस्थायी सडकको ट्र्याक खुलेको हो । ट्याक्टरहरू गुड्न थालेपछि स्थानीय बासिन्दाले ढुवानीमा सहज भएको बताएका छन् ।

वर्षौअघिदेखि तिंकर सडकको नाम सुन्दै आएका गाउँलेहरू आफ्नो गाउँठाउँमा ढुवानीका साधनहरू गुड्न थालेपछि खुसी भएका हुन् । यस सडक खण्डको निर्माण कार्य सुरुदेखि नै सुस्त छ । ३ वर्षअघि यस सडकलाई महाकाली करिडोरमा गाभिएको थियो । २ वर्षमा कुनै प्रगति त्यसयता पनि काममा प्रगति भने देखिएको थिएन ।

चालु वर्षमा दुहु गाउँपालिकाको पिपलचौरीस्थित विजयपुर भीरदेखि सुन्सेरासम्मको १५ किमि सडक ट्रयाक खुला गरिएको निमित्त प्रमुख रैखोलाले बताए । जेठ अन्तिमसम्म ब्यासकै तोसरपानीसम्म पुग्ने अनुमान गरिएको सडक योजना कार्यालयले जनाएको छ ।

सरकारले यस सडक आयोजनालाई विगतदेखि नै बजेटमा प्राथमिकतामा राख्दै आएको हो । तर हरेक वर्ष आएको बजेटमा थोरै मात्र खर्च हुने गरेको छ । यो सडक दार्चुलाका अति विकट ब्यास र दुहुँ गाउँपालिकाका बासिन्दाको जीवनस्तर उठाउने सेतुका रुपमा लिइएको छ ।

जिल्लावासीको विकासका लागि महत्त्वपूर्ण मानिएको सडक आयोजनाको निर्माण कार्यसमेत सुस्त भएपछि दुहुँ र ब्यास गाउँपालिकाका प्रमुखहरूले ११ पटकसम्म लिखित र दर्जनौंपटक मौखिक ताकेता गर्दै आएका थिए । आयोजनाको केही सीप नलागेपछि उनीहरू आफैंले निजी कम्पनीसित सापटीमा जिलेटिन मागेर जुटाएका थिए ।

आफैं खटेपछि निर्माणले गति पाएको ब्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । ‘बझाङको कालंगा जलविद्युत् आयोजनाबाट ९ हजार ३ सय किलो जिलेटिन सापटी ल्याएर काम गराइएको हो,’ बुढाथोकीले भने, ‘ट्र्याक खुलेपछि २ देखि ६ नम्बर वडाका बासिन्दलाई सुविधा भएको छ ।’ कच्ची सडक भए पनि आफ्नै देशको बाटो भएर यात्रा गर्न पाउँदा गर्व लागेको उनले बताए ।

वर्षौंदेखि तुइनमार्फत खाद्यान्न ओसारपसार गर्दै आएका स्थानीय अहिले निकै उत्साहित छन् । सडकबाट खाद्यान्न ढुवानी हुन थालेपछि केही सस्तो हुने स्थानीयको आशा रहेको ब्यास गाउँपालिका ४, सुन्सेराका नरेन्द्रदत्त भट्टले बताए । ‘पिठ्युमा भारी बोकेर खाद्यान्न ढुवानी गर्नु पर्ने बाध्यता अब हट्ने छ’ भट्टले भने ‘यो सँगै सडक योजना कार्यालयले सडकको ट्र्याक खोलेको ठाउँसम्म पनि सडक सुधारको कार्यलाईसँगै अगाडी बढाउनुपर्छ ।’

कञ्चनपुरको ब्रह्मदेवदेखि चीनको ताक्लाकोट जोड्ने महाकाली करिडोरको तिंकर खण्डमा झन्डै ४० किमि, सदरमुकाम तलतिरको धनथला–धरमघरमा ७ किमि, डिन्सी–बाकुमा ९, बैतडीको बाराकोट–भटला ९ किमि ट्रयाक खुलेको छ ।

यस्तै डडेल्धुराको जोगबुडामा ३ किमि सडकको अस्थायी ट्र्याक खोलिएको महाकाली करिडोर आयोजनाले जनाएको छ । योसँगै तिंकर सडक खण्डकै राताकाठा क्षेत्रमा पनि सडक सुधारको कार्य भइरहेको सडक योजनाका निमित्त प्रमुख रैखालाले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?