कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीले जनप्रतिनिधि र स्थानीयमाथि लाठी प्रहार गरेपछि डोकेबजार तनावग्रस्त

भवानी भट्ट

कञ्चनपुर — प्रहरीले जनप्रतिनिधिसहित स्थानीयमाथि लाठी प्रहार गरेपछि कञ्चनपुरको पुनर्वास नगरपालिका ११ को डोकेबजार क्षेत्र तनावग्रस्त बनेको छ । 

बिहीबार साँझ प्रहरीले वडाध्यक्ष तुलसी अर्यालसहित स्थानीयमाथि लाठी प्रहरी गरेपछि स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन सुरु गरेका हुन् ।


पुनर्वास नगरपालिका–११ का १६ वर्षीय रोमन विकले सोही नगरपालिका ३ की १४ वर्षीया पुष्पा तामाङसँग भागी विवाह गर्न खोजेका थिए । रोमनले पुष्पालाई एक साताअघि भगाएका थिए ।


बिहीबार साँझ प्रहरीले दुवैलाई खोजेर आफन्तको जिम्मा लगाउन खोज्दा विवाद भएको हो । रोमनलाई अभिभावकको जिम्मा लगाए पनि पुष्पाका अभिभावक आएनन् । प्रहरीले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा लगेर जिम्मा लगाउन खोज्दा स्थानीयले महिला प्रहरीसँगै लैजानुपर्ने माग गर्दै अवरोध गरेपछि प्रहरीले जथाभावी स्थानीयमाथि लाठी प्रहरी गरेको वडाध्यक्ष अर्यालले बताए ।


लाठी प्रहारपछि स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । शुक्रबार बिहानैदेखि पचगडिया प्रहरी चौकी घेरेर टायर बालेर विरोध भइरहेको छ ।


इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बम लगायतले मदिरा सेवन गरेर जनप्रतिनिधि र स्थानीयलाई लाठी प्रहार गरेको स्थानीयको आरोप छ । बमले माफी माग्नुपर्ने उनीहरुको माग छ ।


‘स्थानीयले किशोरीलाई लैजान महिला प्रहरी हुनुपर्ने माग गरेका थिए, त्यही विषयमा विवाद चर्कँदै जाँदा प्रहरीले लाठी चार्ज गर्‍यो,’ प्रहरीको लाठी चार्जबाट घाइते भएका वडा नं. ११ का अध्यक्ष तुलसी अर्यालले भने, ‘लाठी चार्ज नगर्नुस् भन्न जाँदा म माथि पनि प्रहार भयो ।’


विवाद समाधानका लागि स्थानीय र प्रहरी दुवैले वडाध्यक्ष अर्याललाई बोलाएका थिए । छलफलका क्रममा विवाद हुँदा उनैमाथि लाठी प्रहार भएको हो । उनको टाउकोमा चोट लागेको छ ।


शुक्रबार बिहान महेन्द्रनगरबाट प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिने आचार्यसहितको टोली डोकेबजार पुगेर छलफलमा जुटेका छन् । प्रजिअ वैद्यले अवस्था तनावग्रस्त रहेको र छलफल भइरहेकाले समाधान हुने आशा व्यक्त गरे ।

प्रकाशित : जेष्ठ १०, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?