कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयको असुली : भर्नासँगै सहयोग शुल्क

भवानी भट्ट

कञ्चनपुर — निजी विद्यालयमा पहिलोपटक बाहेक विद्यार्थीको भर्ना शुल्क लिन पाइँदैन । सामुदायिक विद्यालयमा त झन् विद्यार्थी भर्ना शुल्क लिनै मिल्दैन । तर कञ्चनपुरका सामुदायिक विद्यालयले पनि विभिन्न बहानामा धमाधम भर्ना शुल्क असुलिरहेका छन् । 

विद्यालयहरूले विकास, व्यवस्थापनलगायत शीर्षकमा सबै कक्षाका विद्यार्थीबाट ५ सयदेखि २५ सयसम्म शुल्क असुलेका छन् । विद्यार्थीमा विद्युत् शुल्क तिर्न र निजी स्रोतका शिक्षकको खर्च जुटाउन उक्त शुल्क लिइएको व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरू बताउँछन् ।


बेलौरी नगरपालिका १०, भुडामा रहेको भगवानपुर माविले २ सयदेखि ८ सय शुल्क असुलेको छ । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीबाट विकास शुल्कको नामबाट शिक्षक अभिभावक संघको सहमतिमा असुलेको दाबी गरेको छ ।


‘विद्यार्थी संख्याअनुसार शिक्षक छैनन्, माध्यमिक र आधारभूत तहमा २/२ निजी स्रोतका शिक्षक राखेका छौं,’ भगवानपुर माविका प्रधानाध्यापक ज्ञानु आग्रीले भने, ‘विद्युत र निजि स्रोतका शिक्षकको तलबका लागि पनि विद्यार्थीबाट शुल्क लिनुपर्ने बाध्यता छ ।’ उक्त विद्यालयमा साढे ६ सय बढी विद्यार्थी छन् । विद्यार्थी संख्याको अनुपातमा शिक्षक भने निकै कम छन् ।


बेलौरीकै सिद्धेश्वरी माविले भर्ना अभियानका बेला दोहोरो शुल्क लिएको छ । भर्ना शुल्कसंगै अभिभावकबाट अतिरिक्त शुल्क लिएको छ । भर्नावापत ५० रुपैंयादेखि २ सय लिएको प्रधानाध्यापक तेजेन्द्रबहादुर शाह बताउँछन् । यसैगरि अभिभावकबाट पनि १ सय देखि २४ सयसम्म शुल्क असुलिएको छ ।


प्रधानाध्यापक शाहले पनि विद्युत्, निजी स्रोतका शिक्षकको तलब र विद्यालयमा भर्ना गरिएका कर्मचारीका तलबका लागि अतिरिक्त शुल्क लिनुपरेको बताए । ‘हामीले अभिभावककै राजीखुसीमा शुल्क लिएका हौं,’ उनले भने, ‘भर्नाबाहेकको शुल्क वर्षभरि जतिबेला तिरे पनि हुन्छ ।’ बेलौरी नगरपालिकामा मात्रै नभई जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा विभिन्न बहानामा शुल्क लिइएको छ ।


अधिकांशले देखाउने साझा बहाना भनेको शिक्षक अभाव हो । उनीहरूले निजि स्रोतमा भर्ना गरिएका शिक्षकका लागि तलब खुवाउन भर्ना शुल्क लिनुपर्ने बाध्यता रहेको बताउदै आएका छन् । गत वर्ष स्थानीय तहले आर्थिक सहयोग गर्ने भनेपछि सुरुमा धेरै विद्यालयले भर्ना शुल्क लिएनन् । तर पछि स्थान्यी तहले आर्थिक सहयोग नगरेपछि शैक्षिक सत्रको बीचमा समेत शुल्क लिइएको शिक्षकहरू बताउँछन् । ‘अहिले त जनप्रतिनिधिहरूले नै शुल्क लिन भनेका छन्,’ बेलौरी क्षेत्रकै एक शिक्षकले भने, ‘अलिकति वडाबाट दिन्छौं, अलिकति भर्ना शुल्कबाट व्यवस्थापन गर्नुस् भनेको छ ।’


२ वर्षअघि सम्म विद्यार्थी संख्याको अनुपातमा विद्यालयमा केहि रकम आउने गर्थ्यो । त्यही रकमबाट निजी स्रोतका शिक्षक र कर्मचारीको तलब खर्च हुन्थ्यो । यद्यपि उक्त रकम तलबमा खर्च गर्न पाइँदैन । शुल्कभन्दा पनि अभिभावकबाट सहयोग लिने चलन बढी रहेको बेदकोट नगरपालिकाको शिक्षा शाखाका प्रमुख पदमराज भट्टले बताए ।


उनका अनुसार खेलकुद, फर्निचर, विद्युत्का नाममा अभिभावकबाट सहयोग लिने काम भईरहेको छ । ‘भर्ना शुल्कै लिएको भनेर कहींबाट कुरा आएको छैन,’ उनले भने, ‘सहयोग लिने पुरानै चलन हो, अहिले पनि त्यो निरन्तर छ ।’ शुल्क लिएको विषय स्थानीय तहले अनुगमन गरी नियन्त्रण गर्नुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दीपकराज कलौनी बताउँछन् । उनले अहिले अनुमगन र कारबाही सबै स्थानीय तहकै अधिकार भएकाले एकाइले समन्वय मात्रै गर्न सक्ने बताए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?