लोप हुँदै परम्परागत पेसा

डीआर पन्त

डडेलधुरा — नन्दी टमटाले बनाएका पित्तलका आकर्षक पानस कुनै बेला डडेलधुरादेखि राजधानी काठमाडौं हुँदै जर्मनीसम्म पुग्थे । जर्मनी मात्र होइन, बौद्ध धर्मावलम्बी भएका विभिन्न देशमा उनले बनाएका पानस मात्र पुगेनन् घण्टा र अन्य पूजामा चाहिने पित्तलका भाँडा पनि पुगे ।

सीपमा प्रख्याती कमाएका उनी दशक यता आफ्नो पेसा छोडेर दैनिक मजदुरी गरेर गुजारा गरिरहेका छन् । उनी जस्तै भागेश्वर ४ डुंगरीका दर्जनौं दलित परिवारले पनि आफ्नो पेसा छोडेको दशक बितिसकेको छ ।

कुनै समय डडेलधुराका विभिन्न गाउँमा बसोवास गर्दै आएका विश्वकर्मा समुदायले बनाएका पित्तल, तामा र फलामका भाँडाको बजार टाढा टाढासम्म फैलिएको थियो । ‘डडेलधुराका टमटाले बनाएका भाँडावर्तन भनेपछि सुदूर र मध्य पहाडी क्षेत्रमा हातोहात बिक्री हुन्थे,’ ९६ वर्षीय कालु टमटाले भने ‘अब त सबैले यो पेसा छोडेर कोही तराई पलायन भए कोही रोजगारीका लागि भारत छिरे । गाउँमै रहेकाले पनि दैनिक मजदुरी गरेर गुजारा गर्न थालेका छन् ।’

भाँडा मात्र होइन, बाँस, निंगालो जस्ता वन पैदावारबाट आकर्षक घरायसी सामान बनाउने पार्की र कैनी जातका दलितले पनि आफ्नो परम्परागत पेसा छोडिसकेका छन् । जंगलमा सहज रूपमा पाइने बाँस र निंगालोबाट डोको, डालो, नाङ्लो, चाल्नी, टपरी, भकारी, छाप्री लगायतका घरायसी प्रयोजनका सामान बनाएर बिक्री गर्ने उनीहरूले जंगल विनाश भएपछि परम्परागत पेसा छाड्न बाध्य हुनु परेको हो । सुदूरका पहाडी जिल्लामा महाभारत जंगल क्षेत्रमा बाँस र निंगालो पाइन छाडेपछि उनीहरूको परम्परागत कला र सिप पनि लोप हुँदै गएको हो ।

दलित सुमदायका यी जातिबाहेक लावड, ओड, सार्की लगायतका सबै जातजातिको परम्परागत पेसा संरक्षण र संवर्द्धन हुन नसक्दा लोप हुँदै गएको छ । उनीहरूको पुर्ख्यौली पेसा संरक्षण गर्न राज्यले कुनै चासो नदिएकाले कलाका धनी दलित समुदाय मजदुरमा परिणत भएका छन् ।

तिब्बती व्यवसायी दोर्जी लामा भन्छन्, ‘पछिल्लो २ दशकदेखि बिस्तारै यस क्षेत्रका दलितले बनाएका सामग्री तिब्बती बजारमा आउनै छाडेका छन् ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बने न्यायिक समितिका इजलास

कान्तिपुर संवाददाता

बाजुरा — बाजुराको वडिमालिका नगरपालिकाको न्यायिक समितिमा छुट्टै इजलासको व्यवस्था गरिएको छ । जिल्ला सदरमुकामको नगरपालिका भए पनि हालसम्म खासै उजुरी आएको छैन ।

तर छलफल गर्दा खेरी छुट्टै ठाउँ आवश्यक पर्ने भएकाले नगरपालिकामै इजलासको व्यवस्था गरिएको न्यायिक समितिकी संयोजक नगरपालिका उपप्रमुख कविता विष्टले बताइन् ।

न्यायिक समितिमा नगरउपप्रमुख वा गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति रहने व्यवस्था रहेको छ । नगरपालिकाको इजलास जाने कोठामा बाहिर वडिमालिका नगरपालिका न्यायिक समिति संयोजक उप्रमुख कविता विष्ट, सदस्य विश्वराज पण्डित, जयन्ती सिंह हमाल लेखिएको छ भने भित्र एकदमै शान्त र व्यवस्थित इजलास बनाइएको छ ।

नगरपालिका रहेको सदरमुकाममा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका न्याय प्रदायक संस्थासमेत भएकाले आफू कहाँ खासै उजुरी नआएको संयोजक विष्टको भनाइ छ ।
उनले भनिन, ‘आर्थिक वर्ष ०७४/७५ मा न्यायिक समितिमा ५ मुद्दा दर्ता भएका थिए ।

त्यसमा २ मुद्दा किनारा लगाइसकिएको र ३ मुद्दा छफलमा रहेको छ । त्यस्तै ०७५/७६ को अहिलेसम्म ६ मुद्दा दर्ता भएका छन् जसमा ३ मुद्दा किनारा लगाइसकिएको र ३ छलफलमा रहेका छन् ।’ न्यायिक समितिमा घरायसी झै झगडा र लेनदेनका विवाद बढी आएको उनले बताइन ।बुढीनन्दा नगरपालिकामा भने छुट्टै इजलास बनाउने प्रकृया अघि सारिएको संयोजक सृष्टि रेगमीले बताइन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT