लोप हुँदै परम्परागत पेसा

डीआर पन्त

डडेलधुरा — नन्दी टमटाले बनाएका पित्तलका आकर्षक पानस कुनै बेला डडेलधुरादेखि राजधानी काठमाडौं हुँदै जर्मनीसम्म पुग्थे । जर्मनी मात्र होइन, बौद्ध धर्मावलम्बी भएका विभिन्न देशमा उनले बनाएका पानस मात्र पुगेनन् घण्टा र अन्य पूजामा चाहिने पित्तलका भाँडा पनि पुगे ।

डडेलधुरा पोखराका दलित परम्परागत सिपको प्रयोग गरेर डोको नांग्लो बनाउँदै । फाइल तस्बिर : कान्तिपुर 

सीपमा प्रख्याती कमाएका उनी दशक यता आफ्नो पेसा छोडेर दैनिक मजदुरी गरेर गुजारा गरिरहेका छन् । उनी जस्तै भागेश्वर ४ डुंगरीका दर्जनौं दलित परिवारले पनि आफ्नो पेसा छोडेको दशक बितिसकेको छ ।

कुनै समय डडेलधुराका विभिन्न गाउँमा बसोवास गर्दै आएका विश्वकर्मा समुदायले बनाएका पित्तल, तामा र फलामका भाँडाको बजार टाढा टाढासम्म फैलिएको थियो । ‘डडेलधुराका टमटाले बनाएका भाँडावर्तन भनेपछि सुदूर र मध्य पहाडी क्षेत्रमा हातोहात बिक्री हुन्थे,’ ९६ वर्षीय कालु टमटाले भने ‘अब त सबैले यो पेसा छोडेर कोही तराई पलायन भए कोही रोजगारीका लागि भारत छिरे । गाउँमै रहेकाले पनि दैनिक मजदुरी गरेर गुजारा गर्न थालेका छन् ।’

भाँडा मात्र होइन, बाँस, निंगालो जस्ता वन पैदावारबाट आकर्षक घरायसी सामान बनाउने पार्की र कैनी जातका दलितले पनि आफ्नो परम्परागत पेसा छोडिसकेका छन् । जंगलमा सहज रूपमा पाइने बाँस र निंगालोबाट डोको, डालो, नाङ्लो, चाल्नी, टपरी, भकारी, छाप्री लगायतका घरायसी प्रयोजनका सामान बनाएर बिक्री गर्ने उनीहरूले जंगल विनाश भएपछि परम्परागत पेसा छाड्न बाध्य हुनु परेको हो । सुदूरका पहाडी जिल्लामा महाभारत जंगल क्षेत्रमा बाँस र निंगालो पाइन छाडेपछि उनीहरूको परम्परागत कला र सिप पनि लोप हुँदै गएको हो ।

दलित सुमदायका यी जातिबाहेक लावड, ओड, सार्की लगायतका सबै जातजातिको परम्परागत पेसा संरक्षण र संवर्द्धन हुन नसक्दा लोप हुँदै गएको छ । उनीहरूको पुर्ख्यौली पेसा संरक्षण गर्न राज्यले कुनै चासो नदिएकाले कलाका धनी दलित समुदाय मजदुरमा परिणत भएका छन् ।

तिब्बती व्यवसायी दोर्जी लामा भन्छन्, ‘पछिल्लो २ दशकदेखि बिस्तारै यस क्षेत्रका दलितले बनाएका सामग्री तिब्बती बजारमा आउनै छाडेका छन् ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

पानी लिन १४ किमि

डीआर पन्त

डडेलधुरा — सदरमुकामको रातागौनका बासिन्दा पानी बोक्ने ट्यांकर उपलब्ध गराइदिन निवेदन लिएर आइतबार नगरपालिका कार्यालय पुगे । यसअघि दमकल ओसारेर गाउँमा वितरण गर्दै आएका उनीहरूलाई नगरपालिकाले ट्यांकर उपलब्ध गराउन नसकिने बतायो । त्यसपछि उनीहरू निर्माण व्यवसायी संघमा ट्यांकर माग गर्न गए ।

यसअघि सञ्चालनमा रहेको उग्रतारा–पोखरा खानेपानी योजना बन्द भएपछि स्थानीय बासिन्दा दैनिक १४ किमि टाढाबाट पानीको जोहो गरिरहेका छन् । समस्या सदरमुकाम नजिकको रातागौन गाउँमा मात्र होइन नजिकैका रिमथलो, जोगेनीथान, रातागौन, डकले, टोटी, सिंलिंगा, राउटेपानीलगायत गाउँमा पनि उस्तै छ । अहिले त्यहाँका बासिन्दा सवारीसाधनमा पानी बोकेर गुजारा चलाइरहेका छन् ।

अहिले समस्या भएका अधिकांश गाउँमा यसअघि उग्रतारा–पोखरा खानेपानी योजनाबाट पानी आउँथ्यो । पोखरा बजारमा घरघरमा धारा वितरण भएपछि पानी अपुग भएर योजनै बन्द भयो । भालुमारे लेकमा मुहान भएको योजनाअन्तर्गत पोखरा बजार क्षेत्रमा पानीको माग बढेपछि गाउँमा आउने कमी रोकिएको हो ।

‘उग्रतारा मन्दिरमा ट्युबेलबाट निस्केको पानी पनि सकिएपछि खानेपानीका लागि निकै सास्ती भोग्नुपरेको छ,’ समाजसेवी सुरेन्द्रबहादुर सार्कीले भने, ‘३ वर्षदेखि निरन्तर विभिन्न निकाय धाउँदासमेत कुनै सुनुवाइ भएन ।’ ६ महिनाअघि उग्रतारा मन्दिर परिसरमा ट्युबेलबाट पानी आउन थालेपछि समस्या समाधान भएको उनले बताए । ‘पानी आउन बन्द भएर ट्युबेल नै बन्द भयो,’ उनले भने, ‘अहिले दैनिक १४ किमि पैदल हिँडेर पानी बोक्नुपर्ने बाध्यता छ ।’

नजिकमा पानीका मुहान नभएको र भएका पनि पहिलेदेखि नै व्यक्ति र गाउँका नाममा दर्ता रहेको स्थानीय भीम सार्की बताउँछन् । उनी भन्छन्, ‘सदरमुकाममा वितरण हुने पानी रातो गुराँस रिर्सोटसम्म मात्र वितरण गरिएको छ ।’ सदरमुकाम बजारमा पानीको हाहाकार छ । गाउँमा पानी आउने कुनै अर्को उपायसमेत नभएको उनको भनाइ छ ।

२०६८ मा सदरमुकाम नजिकका यी गाउँमा खानेपानी योजना ल्याउन सर्भे भएको थियो । एकपटक सर्भे भएपछि सरकारी निकाय फर्केर गाउँ आएन । सार्कीले भने, ‘२ सय परिवारभन्दा बढीले खोलाबाट दूषित पानी ल्याएर प्रयोग गरिरहेका छन् ।’ स्थानीय गुनेखोलामा चारैतिरका गाउँ र सदरमुकामको फोहोरसमेत मिसिएका कारण निकै दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

६ महिनाअघि उग्रतारा मन्दिर परिसरमा समस्यामा परेका गाउँहरूलाई लक्षित गरी ३५ लाख बढीको लगानीमा जमिनमुनिबाट पानी निकालेर वितरण गरिएको थियो । मन्दिर विकास समिति कोषाध्यक्ष श्यामराज ओझाले भने, ‘६ महिना पनि नबित्दै पानी आउन बन्द भएपछि सर्वसाधारणले निकै सास्ती बेर्होनुपरेको छ ।’

पानी समस्या भए पनि हरेक परिवारले ३–३ हजार रुपैयाँ उठाएर मोटर खरिद गरी खोलाबाट ट्यांकीमा पानी भरेर गाउँमा वितरण गर्ने सोचाइ बनाए पनि यस्तो हुन सकेको छैन । ट्यांकर नपाउँदा समस्या ज्युँका त्युँ छ । अमरगढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, खानेपानी डिभिजन कार्यालय, प्रदेश सरकार सबैलाई सर्वसाधारणले खानेपानी योजनाका लागि पहल गरिदिन पटकपटक निवेदन दिए पनि कसैबाट सुनुवाइ भएको छैन ।

अगुवा महिला मनीषा सार्कीले भनिन्, ‘बिहान र साँझ दुईपटक खानेपानीका लागि दैनिक १० किमि पैदल हिँड्नु पर्ने हाम्रो नियति नै भइसकेको छ ।’ आफ्नै सवारीसाधन हुनेले पानी बोकेर गुजारा गरिरहेका छन् । तर गरिबका लागि दैनिक ४ घण्टा पैदल हिँडेर पानीको जोहो गर्नुको विकल्प छैन ।’ अमरगढी नगरपालिकाले समस्या भएका यी गाउँमा खानेपानी योजनाका लागि मुहान खोजी भइरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्