कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रगतकै लागि हारगुहार

बैतडी — भाइको उपचारका लागि आएका मेलौली नगरपालिका ४, भट्नाका माधव भट्ट जिल्ला अस्पतालमा भेटिएका अधिकांश व्यक्तिसँग रक्तदानका लागि हारगुहार गरिरहेका थिए । उनी कुनै बेला स्वास्थ्यकर्मीहरूलाई गुहार्न पुग्थे, कुनै बेला चिनजानका आफन्तलाई फोन गरी समस्या सुनाइरहेका हुन्थे । भट्ट जस्तै थुप्रै बिरामीका आफन्त रगतको खोजीमा भौंतारिरहेका भेटिन्छन् । 

रगत आवश्यक पर्ने बिरामीहरू आउने वित्तिकै अस्पतालका स्वास्थ्यकर्मीहरूमा पनि चिन्ता सुरु हुन्छ । उनीहरू पनि बेलाबेलामा रक्तदाताको खोजीमा जुट्छन्, तर सजिलै भेटाउँदैनन् । जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा समस्या भएको हो । ‘रगत चढाउनै पर्ने विरामी अस्पतालमा आयो भने समस्या लाग्न थाल्छ,’ मेडिकल अधिकृत डा. देवेन्द्र लेखकले भने ।


गर्भवती र दुर्घटनालगायत रगत चाहिने बिरामीलाई जिल्लामा रगत व्यवस्थापन हुन नसक्दा बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको

लेखकको भनाइ छ । उनले भने, ‘सुरक्षाकर्मीबाट रगतको जोहो त गर्छौं, तर कहिलेकाहीं उनीहरूलाई बोलाएर रगत दिनेबेलासम्म ढिला भइसक्छ ।’ अत्यधिक रक्तश्राव भएका सुत्केरीलाई झन् समस्या हुने गरेको उनले बताए ।


जिल्ला अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्माउने सेवा छ । तर, रगतकै अभावले कतिपय सुत्केरीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन् । रगत नपाएर हालै आफ्नी भाइबुहारीलाई धनगढी पुर्‍याउनुपर्ने अवस्था आएको दशरथचन्द नगरपालिका १ का रामबहादुर टेरले बताए ।


यहीँ उपचार हुनसक्ने बिरामीलाई पनि ऋणकर्जा गरी बाहिर लैजानुपर्ने अवस्था रहेको उनले बताए । ब्लड बैंक स्थापनाका लागि पटकपटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि कतैबाट सुनुवाइ नभएको स्थानीय बासिन्दाको गुनासो छ । रगत नपाएर

छट्पटाउनुपर्ने अवस्था भए पनि कसैको ध्यान जान नसकेको दशरथचन्द नगरपालिका १ का गौतम टेर बताउँछन् । बिरामीलाई यहाँबाट डडेल्धुरा, धनगढी रेफर गर्ने गरिएको छ ।


रक्तसञ्चार केन्द्र नहुनु आफैंमा समस्या भएको बताउँदै स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले रक्तदान गर्न नचाहने यहाँका स्थानीय बासिन्दाको बुझाइ अर्को समस्या भएको बताए । ‘रक्तदान गर्दा कमजोर भइन्छ भन्ने बुझाइले यहाँका शिक्षित युवा पनि रगत दिन मान्दैनन्,’ पाण्डेले भने ‘सधै सुरक्षाकर्मीकै भर परेर मात्रै हुने कुरो भएन । अत्यावश्यक परेका बेला यहाँका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अरुले रगत दिने मान्दैनन् ।


संकट परेका बेला स्वास्थ्यकर्मीहरूले जहिल्यै सुरक्षाकर्मीलाई नै गुहार्ने गरेको उनी बताउँछन् । पहाडी जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्नु चुनौतीपूर्ण भए पनि प्रयास गरिरहेको अस्पताल प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । उनले भने, ‘केही सामानहरू खरिद गरिरहेका छौं, केही प्रक्रियामै छन् ।’

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?