कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चार सञ्जालमा जोडियो साइपाल

वसन्तप्रताप सिंह

बझाङ — फोन गर्नका लागि घण्टौं पैदल हिँडेर डाँडाकाँडा चाहार्नु पर्ने बाध्यताबाट साइपालवासीले मुक्ति पाएका छन् । देशकै सबैभन्दा ठूलो र दुर्गम बझाङको साइपाल गाउँपालिकामा टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

सञ्चार सञ्जालमा जोडियो साइपाल


यार्सा संकलन क्षेत्रमा रहेका परिवारका सदस्यलाई फोन गर्दै धलौनका ६८ वर्षीय बहादुर बोहरा ।तस्बिर : बसन्तप्रताप/कान्तिपुर


तिब्बतसँग जोडिएको यस गाउँपालिकाका सबै बस्तीमा जेठ अन्तिम सातादेखि मोबाइल सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।


गाउँपालिकाको वडा २ मा पर्ने रस्यालेक नांगनामा नेपाल टेलिकमको टावर निर्माण गरिएको छ । अहिले साइपालमा जीएसएमको पोस्टपेड र प्रिपेड सेवा सुरु भएको हो । सञ्चार सेवा पुगेपछि गाउँपालिकाले औपचारिक उद्घाटन कार्यक्रमकै आयोजना गरेको थियो । ‘अब एक कल फोन गर्नका लागि सामल बोकेर उकालो चढ्नुपर्नेछैन । घरभित्रै बसेर फोन गर्न पाउने भयौं,’ टेलिफोन सेवाको उद्घाटन गर्दै वडा २ का अध्यक्ष जंगवीर बोहराले भने, ‘वर्षौंदेखि बेखबर रहेको साइपाल गाउँपालिका अब सञ्चार सञ्जालमा जोडिएको छ ।’


रस्यालेकको टावर सञ्चालनमा आएपछि यहाँका धुली, बलौडी, न्युना, धलौन, काँडा, कायालगायत सबै गाउँमा टेलिफोन चल्न थालेको छ । साइपाल हिमालको आधार शिविर, जडीबुटी संकलन क्षेत्र रहेको अमलागाड, राइढुंगी, माझा, फराल खेत, स्याङवन र नेपाल–तिब्बतको सीमा क्षेत्र उरै भञ्ज्याङसम्म पनि नेटवर्क पुगेको स्थानीयले बताएका छन् ।


पहिलो पटक यार्सा संकलन गर्न गएका श्रीमान् र छोरासँग घरबाटै टेलिफोन गरेर कुरा गर्न पाएकामा धलौनकी विमला बोहराले खुसी व्यक्त गरिन् । ‘लेकमा के भयो होला ? कसो भयो होला ? भनेर चिन्ताले निद्रै लाग्दैनथ्यो,’ उनले भनिन्, ‘२ महिनापछि फोनमा कुराकानी गर्न पाउँदा मन ढुक्क भयो ।’


उनले मोबाइल सेवा सुचारु हुनेबित्तिकै अधिकांशले यार्सा संकलन क्षेत्रमा रहेका आफन्तलाई फोन गरेर हालखबर बुझेको र खुसियाली साटासाट गरेको बताइन् । नेपाल टेलिकम र साइपाल गाउँपालिकाको लगानीमा रस्यालेकमा गत वर्ष कार्तिकमा टावरको संरचना निर्माण भए पनि अन्य उपकरण जडान नहुँदा सञ्चालनमा आउन ढिलाइ भएको थियो । गएको चैतमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले गाउँपालिकाको भ्रमण गरेपछि टावर सञ्चालनमा ल्याउन टेलिकम र ठेकेदारलाई ताकेता गरेका थिए । दबाब बढेपछि सेवा सुचारु भएको हो ।


बझाङका अन्य विभिन्न ६ स्थानमा नेपाल टेलिकमले टावर निर्माण गरेको २ वर्ष बितिसक्दा पनि अन्य उपकरण जडान नहुँदा सेवा सुचारु हुन सकेको छैन । ‘साइपाल गाउँपालिका सञ्चारमा जोडिएको खबरले निकै खुसी लागेको छ,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने, ‘अब त्यहाँका बासिन्दाले सञ्चार सुविधा त पाउने नै छन् । हामीलाई पनि प्रशासनिक सेवा दिन र स्थानीयका गुनासा सुन्नका लागि सहज भएको छ ।’ उनले सञ्चारपछि यो गाउँपालिकालाई सडक सञ्जालमा जोड्नका लागि पनि आफूले पहल गरिरहेको बताउँदै चैनपुर ताक्लाकोट सडकलाई यसै वर्ष साइपालको धुलीसम्म पुर्‍याउन निर्माण कम्पनीसँग ताकेता गरिरहेको जानकारी दिए ।


हाललाई जीएसएमको टुजी इन्टरनेट सेवा पनि सुरु भएको बताउँदै टेलिकमका क्षेत्रीय निर्देशक नामकर न्यौपानेले स्थानीय लघु जलविद्युत्को लाइन टावरस्थलमा ल्याउनेबित्तिकै साइपाल गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनले जिल्लाका अन्य टावरका लागि सोलार खरिद प्रक्रियामा रहेको जानकारी गराउँदै प्रजिअको ताकेताका कारण विद्युत् पुगेका अन्य ठाउँको सोलार साइपालको टावरमा जडान गरेर छिटो सेवा सुचारु गरेको बताए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?