कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुखविहीन इलाका प्रशासन

बैतडी — पुर्चौडी नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको छ । निमित्त भएर कामकाज सञ्चालन गर्दै आएका नासु जयबहादुर कुँवर साताअघि सरुवा भएपछि प्रमुखविहीन भएको हो ।

३ वर्षअघि स्थापना भएको इलाका प्रशासन कार्यालयमा अधिकृतको दरबन्दी सुरुदेखि नै रिक्त थियो । २ नायब सुब्बा रहेको उक्त कार्यालयमा कुँवरले कार्यालय प्रमुख भएर काम गरिरहेका थिए । उनी सरुवा भएपछि कामकाज ठप्प भएको हो ।


प्रमुख नहुँदा स्थानीय सेवाग्राही समस्यामा छन् । नागरिकता र राहदानी लिनेहरू रित्तो हात फर्कन बाध्य छन् । अधिकृत अभावमा इलाकाको काम सदरमुकामबाटै हुने गरेकाले सर्वसाधारणलाई सास्ती भएको पुर्चौडी १ का वडाध्यक्ष गणेशबहादुर गडाल बताउँछन् । उनले भने, ‘अधिकृतहरू विकट बस्न नचाहने भएकाले सबैतिर कर्मचारीको अभाव देखिन्छ ।’


हाल कार्यरत रहेका सुब्बा लीलाकृष्ण चौधरी परीक्षणकालमा भएकाले प्रशासनिक कामकाज गर्न पाउँदैनन् । ५ वर्ष काम गरिसकेको नासुले मात्र अधिकृतको काम निमित्त भएर गर्न पाउने व्यवस्था छ । नागरिकतालगायत अन्य प्रशासनिक काम गर्न सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता छ । पुर्चौडीका १० वडा र डिलाशैनी गाउँपालिकाको वडा ४ का बासिन्दाले इलाका प्रशासनबाट सेवा लिँदै आएको स्थानीय अनिरुद्र जोशी बताउँछन् । उनले भने, ‘आशा बोकेर आएका सेवाग्राही काम नबन्दा निराश हुँदै जाने गरेका छन् ।’


आवश्यक संख्यामा कर्मचारी नहुँदा अन्य काम पनि रोकिएको नासु लीलाकृष्ण बताउँछन् । आफू र करारका कार्यालय सहयोगीका भरमा प्रशासन चलिरहेको उनले बताए । ‘लेखापालसमेत गएपछि तलब पनि पाएका छैनौं,’ उनले भने । कर्मचारी समयोजनपछि समस्या आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको भनाइ छ । केही पद पहिलेदेखि नै रिक्त रहेको बताउँदै उनले भने, ‘जिल्लामा अधिकृत स्तरको कर्मचारी अरू छैनन् । निमित्त बनाएर अरूलाई पठाउने अवस्था पनि छैन ।’

प्रकाशित : असार १, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?