कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका जिल्ला नेताद्वारा आत्मसमर्पण 

बझाङ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका एक जना जिल्ला नेताले आत्मसमर्पण गरेका छन् । चन्द निकट बझाङ जिल्ला सहिद तथा बेपत्ता परिवारका अध्यक्ष रहेका ज्ञानबहादुर चौहानले जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसमर्पण गरेका हुन् । 

चन्द समूहका जिल्ला नेताद्वारा आत्मसमर्पण 

आफूलाई चन्द समूहले गरेका गतिविधि चित्त नबुझेको र सर्वसाधारण नागरिक सरहको जीवन यापन गर्न चाहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारीलाई लिखित निवेदन दिएका थिए ।


चन्दको जिल्ला कमिटी सदस्य तथा खप्तड छान्ना गाउँपालिकाको इन्चार्ज समेत रहेका चौहानले प्रशासनलाई लेखेको पत्रमा चन्द समूहका कार्यकर्ताको सूचीबाट आफ्नो नाम समेत हटाइदिन अनुरोध गरेका छन् ।


चौहानलाई गत वर्ष मष्टा गाउँपालिकाका अध्यक्षमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेर २५ दिनसम्म थुनामा राखेको थियो । १० हजार धरौटी तिरेर थुना मुक्त भएपछि भारततर्फ गएका चौहानले त्यहाँबाट फर्के लगत्तै आफूले आत्मसमर्पण गरेको बताए ।


‘विप्लवको राज्य विरोधी गतिविधि मन नपरेर आत्मसमर्पण गर्न आएको हुँ’ उनले भने ‘विगतमा जे जसो भए पनि अबका दिनमा सर्वसाधारण नागरिक सरह राज्यको नियममा रहेर परिवार चलाउने छु’ उनले आगामी दिनमा आफूले व्यापार व्यवसाय गरेर परिवार चलाउने सोच बनाएको बताए ।


आत्मसमर्पण गरेको कागजमा हस्ताक्षर गराउँदै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राज्यको नियम कानुनको सम्मान गर्ने जो सुकैलाई राज्यले सुरक्षाको प्रत्याभूति सहित स्वागत गर्ने बताए । उनले राज्य विरुद्धको गतिविधि नियन्त्रण गर्नका लागि प्रशासन कार्यालय सचेत रहेको बताउँदै गैरकानुनी कामलाई निरुत्साहित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : असार ४, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?