सुदूरमा पनि रोपाइँ सुरु

मोहन बुढाऐर, मेनुका ढुंगाना

धनगढी र अछाम — कैलाली हसुलियाका भागिराम चौधरी आकाशमा कालो बादल मडारिएको देख्दा खुसी भए । हलभाडी (खेत जोत्न प्रयोग गरिने सामग्री) ठिक्क पारेर राखे । नल्का (धारा) को पानीमा मोटर जोडेर बेर्ना भिजाएर उखेल्न थाले । आकासे पानी रोक्न खेतका कान्ला बनाए । रातमा पानी वर्षंदा सोमबार उनले एकै दिन ५ कट्टामा रोपाइँ गर्न भ्याएका छन् । 

‘लामो समयदेखि पानी नपरेकाले पानी पार्न परम्परागत चलन भ्यागुतो नाच (मेघालोट्ना) र गैया बेहर्ना खेलियो,’ उनले भने, ‘पानी पर्ने संकेत दिइरहेको थियो । नपर्दा चिन्तित थियौं तर आइतबार मौसममा परिवर्तन आएर रोपाइँ गर्न पाउँदा खुसी भइयो ।’ उनी किसानका लागि बाली लगाउनु र भित्र्याउँदाको जतिको खुसी केही नहुने बताउँछन् ।

उनले मात्रै होइन आइतबारदेखी मनसुन सुरु हुँदा किसानलाई रोपाइँको चटारो परेको छ । रोपाइँले स्कुले बालबालिकासमेत प्रभावित भएका छन् । उनीहरूलाई परिवारका सदस्य रोपाइँमा व्यस्त हुँदा स्कुल पठाउन सकेका छैनन् । धनगढी उप–महानगरपालिका ११ का भानु चौधरीले रोपाइँमा केटाकेटीलाई स्कुल पठाउन फुर्सद नहुने बताए । उनले उनीहरूको स्कुल छुट्ने बताए ।

धनगढी जुगेडा हसुलियाका किसान कुलप्रसाद चौधरीले मल र डिजल अभाव भएको बताए । ‘मनसुन सुरु भएपछि किसानलाई डिजल र मलको अभाव खड्किएको छ,’ उनले भने, ‘पहिलाको जस्तो हलगोरुको प्रयोगबाट रोपाइँ गर्ने चलन छुटिसक्यो । ट्र्याक्टर प्रयोग गर्दा डिजल चाहिन्छ ।’

कैलालीको जुगेडामा सोमबार रोपाइँ गर्दै एक किसान परिवार ।तस्बिर : मोहन/कान्तिपुर


कैलालीमा सोमबार एकै दिनमा ८ प्रतिशत खेतमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी महेश जोशीले सोमबार रातीको पानीले कैलाली र कञ्चनपुरमा १० प्रतिशत रोपाइ भएको बताए । उनका अनुसार असार ३ गतेसम्म ३ प्रतिशत मात्रै रोपाइँ भएको थियो । उनले तराईमा सिँचित क्षेत्रफलमा पनि बर्खा सुरु भएपछि मात्रै रोपाइँ गर्ने चलन भएकाले पानी पर्नुअघि सम्म ३ प्रतिशत मात्रै रोपाइँ भएको बताए ।

कैलालीमा ७५ हजार ७ सय १५ हेक्टरमा धानबाली लगाइन्छ । सरकारी तथ्यांकमा ४५ प्रतिशत क्षेत्रफल सिँचित देखाएको छ । तर थुप्रै पुराना सिँचाइ योजनामा पानी सञ्चालन हुन नसक्दा २० देखि २५ प्रतिशत क्षेत्रफल मात्र नहरबाट सिँचित छ । त्यतिकै प्रतिशत भूमिगत स्रोतबाट सिँचित छ । बाँकी आकासे पानीकै भरमा रोपाइँ गरिने जोशी बताउँछन् ।

उनका अनुसार पर्याप्त वर्षा भए कैलाली र कञ्चनपुरमा एक साताभित्र ९० प्रतिशत रोपाइँ सकिनेछ । ‘सबै किसानका ब्याड (बेर्ना) ठिक्क अवस्थामा छन्,’ उनले भने, ‘पछिल्लो समयमा अधिकांश समयमा हलगोरु प्रयोग छोडेर ट्र्याक्टरद्वारा खेत जोतेर रोपाइँ गर्ने चलन बढेको छ ।’ उनले एकै दिनमा सयौं हेक्टरमा रोपाइँ हुने बताए । केहि किसानले धान रोप्न आधुनिक प्रविधि प्रयोग गर्दा पहिलाको तुलनामा चाँडै रोपाइँ सकिने बताए ।

धनगढी ४ का देवराज जोशीले किसानलाई अव रोपाइँलगत्तै युरिया मल चाहिने बताए । उनले किसानले डिएपी मल पनि पर्याप्त नपाएको बताए । रोपाइँ सुरुअघि किसानले खेतमा डिएपी छरिसक्नुपर्छ । मल आपुर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीले सुदूरपश्चिम प्रदेशका लागि आवश्यकताअनुसार नभएको बताए ।

उनले कैलालीलाई चाहिने ८ हजार डिएपीको ठाउमा ४५ सय ८० टन मात्रै आपुर्ति भएको बताए । धान लगाउन युरिया पनि आवश्यकता भन्दा कमै आपुर्ति भएको उनले बताए । उनले भने, ‘१२ हजार टन आवश्यकता छ, आपुर्ति ४५ सय २० टन मात्रै भएको छ ।’

अछाममा १० प्रतिशत रोपाइँ
अछाममा १० प्रतिशत रोपाइँ मात्र सकिएको छ । समयमा मनसुन सक्रिय नभएका कारण जिल्लाको कैलाश खोला, साँफेबगर, चाइरालगायतका सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ सुरु भएको हो । जिल्लामा १६ हजार ५ सय हेक्टरमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

‘समयमै मनसुन सक्रिय नभएका कारण रोपाइँ यस वर्ष समयमा सुरु हुन सकेको छैन । यो वर्ष १० दिन ढिलो मनसुन सुरु हुने देखिन्छ,’ कृषि प्रसार अधिकृत जनकराज बोहराले भने । साबिकको कृषि विकास कार्यालय स्थानीय तहमा शाखाका रुपमा गएपछि कहाँ के भएको छ भन्ने तथ्यांक निकाल्नै असहज भएको बोहरा बताउँछन् । ‘धान उत्पादन के कति भयो भन्ने २ वर्ष पहिलेको तथ्यांक मात्रै छ । स्थानीय तहका कृषि शाखा हाम्रो मातहत नभएकाले अहिलेको अवस्थाबारे जानकारी पाउन सकिएको छैन,’ बोहराले भने ।

कार्यालयका अनुसार साँफेबगर, मंगलसैन, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकालगायत सिँचाइ सुविधा भएको ठाउँमा धान उत्पादन धेरै हुन्छ । अहिले यिनै क्षेत्रमा रोपाइँ सकिएका छन् । माथिल्लो क्षेत्र मेल्लेख, रामारोशन, चौरपाटी गाउँपालिका र कमलबजार नगरपालिकामा उत्पादनशील जमिन कम भएकाले थोरै क्षेत्रमा मात्र स्थानीय जातको धान रोप्ने गरेको बोहराले बताए ।

कार्यालयका अनुसार अछाममा खुमल ४, जातको धान उत्पादन हुने गरेको छ । गत वर्ष ३५ हजार टन धान उत्पादन भएको थियो । यो वर्ष समयमै पानी नपरेकाले उत्पादन घट्न सक्ने कार्यालयको अनुमान छ । सबै ठाउँमा आकाशे पानीको भरमा रोपाइँ हुने भएकाले असार सुरु भइसक्दा पनि १० प्रतिशत मात्र रोपाइँ भएको हो । ‘खानेपानी अभाव भएको ठाउँमा सिँचाइको पहुँच त कहिले पो पुग्छ,’ मंगलसैन १२ का कृष्ण रावलले भने, ‘पोहोरभन्दा यो वर्ष रोपाइँ ढिलो सुरु भएको छ ।’

पर्व जस्तै रोपाइँ
जिल्लामा रोपाइँ गर्ने दिनलाई विशेष दिनका रूपमा लिइन्छ । विशेष उत्सवका रुपमा रोपाइँमा छोरीलाई निम्तो दिइन्छ । रोपाहारहरू खेतमा पुग्नुअगावै दमाहा बजाएर रोपाइँ उद्घाटन गर्ने चलन रहेको मंगलसैन ५ का उदयराम सुवेदीले बताए । अछामको रोपाइँको रौनक र पहिचान लोप हुन थालेकाले यसलाई जोगाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : असार १०, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

पुस्तौंदेखि मागेरै गुजारा

कान्तिपुर संवाददाता

बाजुरा — बुढीनन्दा नगरपालिका ५ की बुची दमाई ७० वर्ष पुगिन् । अहिले पनि उनी बिहानै जसको घरको धुरीबाट धुँवा निस्किएको देख्छिन्, उतै लाग्छिन् ।

उनलाई कसैले केही खानेकुरा दिएर गर्जो टारिदिन्छन् । कोही उनलाई वास्ता पनि गर्दैनन् । केही पाउने आशामा उनी हरेक दिन गाउँलेसामु पछ्यौरी फिँजाउँछिन् । उनका पति धेरै वर्षअघि नै बितिसके । २ छोरा, १ छोरीलाई निकै कष्टपूर्ण हुर्काइन् । ७० वर्षको उमेर पुग्दासम्म खुट्टामा जुत्ता–चप्पल कस्तो हुन्छ अनुभव गर्न पाएकी छैनन् । धेरै मिहिनेतले बुढीनन्दा ५ मा सानो झुपडी बनाइन् ।

जहाँ अहिले उनको परिवार बस्छ । उनको परिवारले त्यो घर बनाउने जमिनको बदलामा साहुको काम गर्नुपर्छ । ‘जग्गा दिने साहुको सानो देखि ठुलो काम हामी आफै गर्छौं । तैपनि बेला–बेला आएर हामीलाई गाली गरिराख्छन्,’ उनका छोरा रंगले भने ।

उनले अरुको घरमा माग्दै तीनै छोराछोरीको विवाह गरिन् । जेठा छोरा जयलालका ३ छोराछोरी छन् । ३ वर्ष क्यान्सर रोगबाट थला परेर जयलाल पनि बिते । अब बुहारी, नाति–नातिनीको बोझ पनि उनीमाथि थपियो । उनी साँझ–बिहान अरूको घरमा माग्न जान्थिन् । पहिले–पहिले त सबैले सहयोग गरे तर दिनानुदिन यस्तै प्रक्रिया दोहोरिएपछि अहिले सहयोग गर्ने घटेका छन् । ‘दिनप्रतिदिन गाउँ सबै आफूदेखि वाक्क भए,’ बुचीले भनिन्, ‘त्यसपछि आफैंले सानो–तिनो काम गरी जीवन चलाउन थालें,’ उनले भनिन् ।

अहिले उनको घरमा छोराछोरी बुहारी नातिनातिनीलगायत ११ जनाको परिवार छ । उनका छोरा–छोरी पनि मागेरै जीवीकोपार्जन गरिरहेका छन् ।

दमाईंको पुर्ख्यौली पेसा लुगा सिलाउने हो । उनका पति छोराछोरी सानै छँदा बितिसकेकाले सीप पुस्तान्तरण हुन पाएन । कहिले काँही १/२ माना चामलको आशले उनका छोरा रंग जानी/नजानी लुगा सिलाउने गर्छन् । लुगा सिलाएको मानाले त्यति ठूलो परिवारलाई नपुग्ने भएकाले आफुले ज्याला मजदुरीको काम गर्नुपर्छ । नातिनातिनीलाई स्कुल पठाउन, झोला र पोसाकका लागि केही गैरसरकारी संस्थाले सहयोग गरेको उनले बताइन् ।

प्रकाशित : असार १०, २०७६ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्