कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलबिनै रोपाइँ, सहकारीले महँगोमा बेच्दै

पहाडी समुदायमा वर्षौंदेखि चल्दै आइरहेको पर्म (आलोपालो प्रथा) अझै यथावत छ, बरु यो थारु समुदायमा पनि सरेकाले किसानलाई सहज भएको छ

(टीकापुर) र (धनगढी) — टीकापुर नगरपालिका १ का पदम सापकोटा रोपाइँका बेला मल नपाएर आत्तिएका छन् । धेरै दिन उनी कुरे । तर कुर्दाकुर्दै खेतीको समय घर्किन थालेपछि मल नभए पनि रोपाइँ सुरु गरे ।

मलबिनै रोपाइँ, सहकारीले महँगोमा बेच्दै

प्रशस्त पानी भएको कैलालीको पुर्वी भेकमा समयमै मलको बन्दोबस्त भएको भए किसानले रोपाइँ करिब आधा सकेका हुन्थे । सरकारले मल देला भन्ने आशामा बसेका किसानले मल नपाएपछि ढिलो गरी रोपाइँ सुरु गर्न बाध्य भएका छन् । कैलालीको पुर्वी भागमा धान खेतीका लागि सिँचाइको खासै समस्या छैन । रानीजमरा कुलरिया सिँचाइ आयोजना बनेपछि पानीको अभाव छैन । तर रासायनिक मल नहुँदा यहाँका किसानहरू बिना मल रोपाइँ गर्न थालेका हुन् । सापकोटाले भने, ‘मल नहुँदा रोपाइँ ढिलो सुरु गरियो । समयमै मल हाल्न नपाएको खेती कति फल्छ थाहा छैन । समृद्धिको कुरा गर्ने सरकारले नेपालकै प्रमुख बाली धान लाउने समयमा मल दिदैन अनि कसरी हुन्छ समृद्धि ।’


जानकी गाउँपालिका ३ का किसान वीरबहादुर चौधरीले पनि मल नहालेरै धान रोपाइँ गरेको बताए । उनले भने, ‘सरकारले रासायनिक मल नै दिएन । पहिलेको जस्तो गाइगोरु पाल्ने चलन घटेकाले कम्पोष्ट मल हुने कुरै भएन । रोपाइँको समय जान थालेकाले जति फल्छ, फल्छ । चित्त बुझाएर रोप्नै पर्‍यो । बाँझै छोड्ने कुरा भएन ।’


यस कारण किसानले पाएनन् मल

यस वर्ष रायायनिक मल खरिद नै कम भएकाले अहिले मलको अभाव भएको कृषि सामग्री कम्पनी धनगढीका प्रबन्धक नवलसिंह बोगटीले बताए । कैलालीमा १२ हजार टन युरिया, ८ हजार टन डीएपी र १ हजार टन पोटासको माग भए पनि यस वर्ष सबै मल न्यून परिमाणमा मल आएको उनले बताए । ‘५ हजार २ सय ७३ टन युरिया, ४ हजार ५ सय ८२ टन डीएपी र पोटास २ सय ८ टन मात्र आपुर्ति भएको छ,’ उनले भने, ‘मल नै नआएपछि किसानले पाउने कुरै भएन ।’


देशभर करिब ७ लाख टन रासायनिक मल माग भए पनि सरकारले यो वर्ष साढे २ देखि ३ लाख टन मात्र मल खरिद गरेकोले सबैतिर अभाव भएको उनले बताए । उनकाअनुसार यो वर्ष किसानले धानवालीका लागि डिएपी पाउन मुस्किल छ । उनले भने, ‘भैरहवाबाट दैनिक १० टन जति युरिया मल मात्र आपूर्ति भइरहेकाले सोही बमोजिम सबै ठाउँमा युरिया मल वितरण गरिरहेका छौं ।’


सहकारीले महँगोमा बेच्दै

कृषि सामग्री कम्पनीमा रायायनिक मलको अभाव भएपछि कृषि सहकारीले महँगोमा किसानलाई मल बेच्न थालेका छन् । मल मौज्दात राखेका सहकारीले अभावको फाइदा उठाएको किसानहरूले बताएका छन् ।

कम्पनीले कृषि सहकारीलाई युरिया १ हजार ६५२, डिएपी ४ हजार ५५२ र पोटास ३ हजार ३५२ मा बिक्री गरिरहेको जनाएको छ । तर यहाँका सहकारीले किसानलाई युरिया प्रतिक्विन्टल २ हजार २ सय, डीएपी ५ हजार २ सय र पोटास ३ हजार ९ सयसम्ममा बिक्री गरिरहेका छन् । कतिपय सहकारीले व्यापारीलाई मल बेचेका र व्यापारीले डिएपी ६ हजार ४ सय, युरिया २ हजार ६ सयसम्ममा बेच्ने गरेको स्थानीय दिलबहादुर चौधरीले बताए । केन्द्रले निर्धारण गरेको मूल्यमा सहकारीले लोड अनलोड, ढुवानीमा केही रकम वृद्धि गरेर बेच्ने प्रावधान छ । तर मलको अभावको मौका पारी सहकारीहरू नै कालो बजारीको काम सुरु भएको चौधरीले बताए ।


गाउँघरमा पर्म परम्परा कायमै

१६ वर्षीया दीपा भट्ट बिहानै कम्मरमा दोपट्टाको पटुकी कसेर धान रोप्न निस्किइन् । उनी आफ्नो धान रोप्न नभएर छिमेकीको धान रोप्न एकाबिहानै निस्किएकी हुन् । ‘बिहानैदेखि धान रोप्न सुरु गरे पनि आराम गर्न भने दिउँसोको २ बजे मात्रै हो, समय पाइने,’ पालो फर्काउन छिमेकीको धान रोप्न जाँदै गरेकी दिपाले भनिन् ।


आफ्नो खेतमा आधा जति धान रोपिसकेका दीपाका परिवार अहिले छिमेकीको धान रोप्न व्यस्त छन् । ‘खेती अलि बढि नै छ । परिवारकाले मात्र रोपाई गर्न सकिदैन, त्यसैले आफ्नो रोपाइँ नभएको बेला छिमेकमा पर्म (आलोपालो) मा जाने गर्छौं’ दिपाकी काकी कल्पना भट्टले भनिन् ‘सबै मिलेर काम गर्दा छिटै नै काम पुरा हुन्छ ।’


गाउँघरमा धेरै पुराना चलन तथा रितीरिवाजहरू परिवर्तन हुँदै र हराउँदै गएका छन् । तर, पहाडी समुदायमा वर्षौंदेखि चल्दै आइरहेको पर्म (आलोपालो प्रथा) भने अहिले पनि यथावत छ । केहि आफ्नो रोपाइँ सकेर अरुकोमा पर्म तिर्नमा ब्यस्त छन् भने केही आफ्नो रोपाइँका लागि पर्ममा पुगेका देखिन्छन् ।


‘गाउँघरका मानिसहरू एक भएर छलफल गर्छौं कुन दिन कसको रोपाइँ गर्ने भनेर,’ धनगढी उपमहानगरपालिका ८ की ६५ वर्षिया पार्वती भट्टले भनिन्, ‘रोपाइँ गर्नुभन्दा अघिल्लो दिनको साँझ भोली मेरोमा रोपाइँ गर्न आउनुस है भनेर निम्ता दिने गर्छौं रोपाइँ गर्नेहरू भोलिपल्ट विहानै खेतमा आइपुग्छन् ।’ धान रोप्न महिला मात्र होइन् । खेत खन्नका लागि पुरुष र गोरुको पनि पर्म हुने गरेको पार्वतीले सुनाइन् । ‘घरका पुरुषहरू पनि गोरु लिएर आलोपालो गर्न जाने गर्छन् । यो चलन धेरै पहिले देखि नै चल्दै आइरहेको छ’ उनले भनिन् ।


बिहानै ७ बजे खेतमा धान रोप्न गएका उनीहरू दिउँसोको २ बजे केही खेतमै त केहि घरमा आएर खाना खाने गर्छन् । एकै दिन सबै गाउँका मानिसहरू एकै जनाका घर रोप्न जाने भएकोले खेतमा २०/२२ जनाको लहरै लाग्ने गर्दछ । खेतमा नै उनीहरू पश्चिमको देउडा भाकामा गीत गाएर दोहोरी खेल्ने पनि गरेको पार्वतीले सुनाइन् ।

केटा : ‘मु प्रदेश झान्या बेला सम्झि रुन्छ मन ।

तेरी बउजु रुन्थि ए बैना चैत मु भेटन आउलो मेरी भुलेइ जन ।।

आधा बाटा सम्म बैना सम्झी रुन्छ मन ।

मुई कसिब हुन्थि ए बैना चैत दशैखी घर आउलो मेरी भुलेइ जन ।।

केटी : छोरा जन्म्या परदेश सम्झि रुन्छ मन ।

छोरी जन्म्या पोइल ए दादा चैत मु भेटन आएइ मेरी भुलेइ जन ।।

गाउँघर काजबार आया सम्झि रुन्छ मन ।

दाई आउन्या हो कैल ए दादा चैत दशैखी घर आस मेरी भुलेइ जन ।।


दुई टुक्का देउडा भाकाका गीत सुनाउँदै पार्वतीले भनिन्, ‘छिमेकीहरू आलोपालो गरेर धान रोप्नुको आनन्द नै बेग्लै हुन्छ ।’ उनले बढ्यौली उमेरमा पनि हाँस्दै थपिन्, ‘महिला महिला बीच पनि देउडा भाकामा दोहोरी हुन्छ भने महिला पुरुष बिच पनि दोहोरी हुने गर्छ ।’ धान रोप्न जाँदा खेतमुलिले रोपारेहरूलाई खानामा दाल, भात, तरकारी र पुरी तरकारी पकाएर दिने गरेको उनले बताइन् ।


थारु समुदायमा पनि पर्म प्रथा

पछिल्लो समय पहाडी समुदायमा हुने पर्म प्रथा रानाथारु समुदायले पनि अंगालेका छन् । केही बर्ष अघि सम्म धान छरेर जिविकोपार्जन गर्ने थारुसमुदायले अहिले धानको बीउ रोप्न थालेका हुन् । उनीहरू पनि अहिले पहाडी समुदायका मानिसहरू जस्तै पर्म गरेर धान रोप्ने गर्छन् । ‘बिस बर्ष अघि सम्म पनि मैले थारु समुदायमा धान छरेर नै उमार्ने गरेको देखेकी थिए । केहि बर्ष यता हामीहरू पनि धान रोप्न थालेका छौं’ धनगढी उपमहानगरपालिका ८ की ७० बर्षिया लहानी चौधरीले भनिन, ‘एक्लै रोप्न गाह्रो हुने भएकोले आलोपालो गरेर धान रोप्छौं ।’


लहानीले पनि आफ्नो धान रोप्न छिमेकीहरूसँंग आलोपालो गरिरहेको बताइन् । ‘पहिले अरुकोमा धान रोप्न गएर पालो बनाइरहेकी छुः पछि उहाँहरू मेरोमा धान रोप्न आउछन्’ लहानीले भनिन् । धान रोप्न जाँदा खेतमुलिले रोपारेहरूलाई खाना नास्तामा दाल, भात, तरकारी र जाँड दिने गरेको उनले बताइन् ।


रोपाइँमा विशेष जाँड

‘बर्खाका लागि भनेर नै माघ महिनामा चौधरी जातिका महिलाहरूले जाँड (एक प्रकारको लोकल मदिरा) बनाएर राखेका हुन्छन् । त्यो जाँडको भाँडो रोपाइँ गर्ने बेला खोल्ने गर्छन्,’ धनगढी उपमहानगरपालिका ७ का नरेन्द्र चौधरीले भने, ‘कुनै जाँडमा त किरा परेर रातो भैसकेको हुन्छ । त्यहि जाँड एक एक गिलास खेतालाहरूलाई दिइन्छ । त्यसपछि गाउँदै फेरी रोपाइँ सुरु गर्छन् ।’


केही बर्ष अघिसम्म पनि परिवारका सदस्य मात्रै मिलेर रोपाइँ गर्ने राना समुदायका मानिसहरूले पनि अहिले मिलेर रोपाइँ गर्न थालेका छन् । तीन बहिनी सहित छिमेकीकोमा आलोपालो गर्न आएका धनगढी उपमहानगरपालिका ८ कै राजेश चौधरीले भने ‘पहिले छिमेकीको धान रोपि सक्नु पर्छ अनि हामीहरूको पनि सुरु गर्छौं ।’ आलोपालो गर्दा रमाइलो र रोपाइँ सक्न सहज हुने भएपछि टोलका सबै मिलेर रोपाइँ गर्नमा ब्यस्त रहेको उनले बताए । रोपारेहरूलाई खाना नास्ताका लागि राना परिकारमा बिशेष आलुको कुच्ला (अचार), सुकेको माछाको चट्नी र भात रोटी पाक्ने गरेको राजेशसंँगै रोपाइँका लागि छिमेकमा आलोपालो गर्न आएकी राजेशकी बहिनी गीता रानाले भनिन् ।


प्रकाशित : असार १८, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?