कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुतियाकवरमा बिजुली बल्यो

भवानी भट्ट

(कञ्चनपुर) — नदीले तीनतिर घेरिएको बस्ती । महाकाली पारिको महाकाली नगरपालिकाको पनि टापु मानिने कुतियाकवरमा बिजुली पुगेको छ । यहाँका बासिन्दाको वर्षौंको दबाबपछि असार दोस्रो सातादेखि बस्तीमा बिजुली बलेको हो ।

कुतियाकवरमा बिजुली बल्यो

१ वर्षअघि गाडिएका पोलमा जेठ दोस्रो साता लाइन तानिए पनि मिटर नहुँदा घर(घरमा बिजुली पुगेको थिएन । लाइन तानिएपछि स्थानीयले मिटरका लागि विद्युत् कार्यालयमा निवेदन दिएका हुन् । ‘पहिलो चरणमा ९ घरमा मिटर जडान भएर बिजुली बलेको छ,’ कुतियाकवरका खडके बुढाले भने, ‘बांँकी घर परिवारले पनि मिटरका लागि निवेदन दिएका छन् ।’


महाकाली र जोगबुढा नदी दोभानमा रहेको कुतियाकवरमा ३५ परिवार बस्छन् । भारतसँंग सीमा जोडिएको यो बस्तीमा विद्युत् नहुँदा सबैले सास्ती खेप्नुपरेको थियो । सीमावर्ती क्षेत्रमा चोर(डांँका आउने भएकाले यहांँका बासिन्दाले पटकपटक विद्युत् सेवा उपलब्ध गराउन माग गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।


‘अब धेरै सजिलो भएको छ, राति हिँडन पनि सहज भएको छ,’ बुढाले भने, ‘दशगजामै बस्ती छ, अध्याँरोमा को आउँछ के गर्छ केही थाहा हुदैन्थ्यो, अब त्यसका लागि पनि सजिलो भयो ।’ ६ महिनाअघि बुढाकै घर छेउमा एसएसबीले गोली चलाएका थिए । गोली लागेर मानविय क्षति नभए पनि स्थानीयमा अहिले पनि त्रास छ । एसएसबीका दुई जवानबीच विवाद हुँदा चलाएको गोलीका ठुटा बुढाको घर भित्रै पुगेका थिए । यहाँको बस्ती कटान र डुबानको पनि उच्च जोखिममा छ ।


बर्खा सुरु भएसँंगै महाकाली र जोगबुढा दुवै नदीले कटान सुरु गर्छ । जोगबुढा नदीले त कुतियाकवरमा हिउँदमा समेत कटान गर्दै आएको छ । ‘अब बाढी आएका बेला सुरक्षित ठाउँमा भाग्न पनि सजिलो हुनेछ,’ महिला सशक्तीकरण समूहकी अध्यक्ष रितु सिँजापतिले भनिन्, ‘विद्युत् भएपछि गर्मीमा पंखादेखि सिँंचाइका लागि मोटर चलाउन सहज भएको छ ।’


अधिकांश दलित र विपन्न समुदायका बसोबास रहेको यहांँका बासिन्दाले स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका बेला पनि विद्युतकै माग गरेका थिए । स्थानीय तहको निर्वाचन लगत्तै यहांँ पोलहरू गाडिए पनि लाइन बिस्तार हुन सकेको थिएन । कुतियाकवरमा हुने जुनसुकै कार्यक्रममा पनि वडाध्यक्ष र नगर प्रमुख तथा उपप्रमुख समक्ष स्थानीयले यहि कुरा उठाउने गर्थे ।

यहांँका अधिकांश युवा रोजगारीका लागि भारत पसेका छन् । सामान्य लेखपढसम्म मात्रै गरेका उनीहरू गुजरात, दिल्ली र बेंग्लोरलगायत सहरमा काम गरिरहेका छन् । यहांँका बासिन्दा नुनतेलदेखि सामान्य औषधि खरीदका लागि समेत सीमावर्ती बजारकै भरमा पर्छन् ।


तरकारी उत्पादनका लागि पकेट क्षेत्र

कुतियाकवर तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । सीमावर्ती क्षेत्रमा बंगाली बस्ती छ । उनीहरूले व्यावसायीक तरकारी खेती गर्दै आएका छन् । उनीहरूकै सिको गरी यहाँका बासिन्दा पनि तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । खासगरि तरुल, परवल, खुर्सानी, मुला, करेला, भान्टा र बोडी यहाँका बेमौसमी उत्पादन हुन् ।


यहाँ उत्पादित तरकारी नजिकैको सीमावती भारत उत्तराखण्डको खटीमा मण्डीसम्म पुग्ने गर्छ । कतिपयले २०/२५ किमि टाढा रहेको महेन्द्रनगर समेत पुर्‍याउने गरेका छन् । विगतमा विद्युत् अभावका कारण सिँचाइ सुविधा नहुंँदा पनि राम्रो उत्पादन गरेका कृषकहरू यतिबेला धमाधम बोरिङद्वारा खेतमा पानी पुर्‍याइरहेका छन् । विद्युत् लाइन तानिएसंँगै मोटरबाट पानी तानेर सिंँचाई गर्ने उद्देश्यका साथ उनीहरू बोरिंग तर्फ आकर्षित भएका हुन् ।


प्रकाशित : असार २६, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?