कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताक्लाकोटसँगको व्यापार बर्सेनि घट्दै

मनोज बडू

(दार्चुला) — नेपाल र तिब्बतबीच दार्चुला नाकाबाट हुँदै आएको व्यापार बर्सेनि घट्दै गएको छ । पश्चिम नेपालको तिंकर नाकामा रहेको छोटी भन्सार कार्यालय द्वन्द्वकालमा विस्थापित हुनपुग्यो । भन्सार हटेसंँगै भएदेखि कम हुँदै गएको स्थानिय व्यवसायीहरूको परम्परागत व्यापार पछिल्लो समय बन्दै भएको छ । 

नेपाल,चीन र भारतको त्रिदेशीय सीमा क्षेत्रमा सदियौदेखि परम्परागत व्यापार चल्दै आएको थियो । यस्तो व्यापार तिब्बतको ताक्लाकोट बजारमा हुँदै आएको हो । ताक्लाकोट बजारमा नेपाल, चीनसंगै भारतका स्थानीय नागरिकबीच परम्परागत व्यापार हुँदै आएको ब्यासका स्थानीय शोभानसिंह तिंकरी बताउछन् । यहाँ हुने व्यापार नगदमा भन्दा बस्तु विनिमय प्रणालीमा हुने गर्थ्यो ।


‘पछिल्लो समय नगदमा कारोबार हुने गरेको छ,’ तिंकरीले भने, ‘नगदमा कारोबार बढदै गएदेखि द्वन्द्वकालअघि सम्म सञ्चालनमा रहेका भन्सार नाका पनि सुरक्षाको कारण विस्थापित हुँदा व्यापार घटदै गएको हो ।’


भारत र चीनसित जोडिएको यो नाका व्यापारिक रुपमा महत्त्वपूर्ण रहे पनि सञ्चालनका लागि सरोकारवाला निकायहरूको ध्यान पुग्न नसकेको स्थानीयको आरोप छ । ताक्लाकोटको सामान नेपाल भित्रिन रोकिएको यकिन तथ्यांक नभए पनि २०६९ सालसम्म आउने गरेको छोटी भन्सार कार्यालय खलंगाका कर्मचारी बताउँछन् ।


‘द्वन्द्वका कारण २०५८ देखि तिंकरको छोटी भन्सार कार्यालय बन्द भएपछि थोरै मात्रामा भए पनि चिनियाँ सामान दार्चुला भित्रिदै आएको थियो,’ व्यासका व्यापारी दानसिंह तिंकरीले भने, ‘घोरेटो बाटोसमेत बन्द भए देखि भने ताक्लाकोटसँंगको व्यापार टुटेको हो ।’ २०६९ सम्म भारतीय बाटो प्रयोग गरी खलंगामा भन्सार काटेर ताक्लाकोटको सामान ल्याएको उनी बताउछन् । पछि भारत र तिब्बतका भन्सारमा कडाई भएपछि सामान ल्याउन छोडेको उनको भनाई छ । खलंगादेखि छाङरुसम्मको घोरेटो बाटो बन्द भएदेखि ताक्लाकोटबाट कुनै किसिमको सामान नेपाल नभित्रिएको खलंगा छोटी भन्सारका कर्मचारी बताउँछन् ।


सन् २०१४ अगाडिसम्म भारत र चीनको नाकामा भन्सारको व्यवस्था थिएन् । भारत र चीन सरकारले गरेको व्यापार सम्झौतापछि भारतसँग व्यापार बढेको छ । दुई देशबीच व्यापार सम्झौता भएदेखि ५ महिनासम्म भारतीय र चीनिया व्यापारीहरूबीच व्यापार हुने गर्दछ । हिमालय क्षेत्र भएकोले ताक्लाकोटसम्म जाने मार्गमा हिउ जम्ने हुँदा १२ महिना व्यापार हुन सक्ने अवस्था छैन ।


नेपाली व्यापारीहरूले बिगत ५ वर्षदेखि चिनियाँ सामान दार्चुला ल्याउन सकेका छैनन् । ‘बाटो नै नभएका कारण ताक्लाकोट दार्चुला व्यापार शून्यमा झरेको हो,’ बिगत २५ वर्षदेखि ताक्लोकाटको गुत्गाउमा व्यापार गर्दै आएका दार्चुलाका स्थानीय ठिम्पु महर बताउँछन् । पञ्चायतकालमा तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य बहादुरसिंह ऐतवालको पहलमा निर्माण भएको दार्चुला–तिंकर घोरेटो बाटोको मर्मत र पुनर्निर्माण नहुँदा ताक्लाकोट–दार्चुला व्यापार बन्द भएको विगतमा ताक्लाकोटमा व्यापार गर्ने कल्यानसिंह धामीले बताए ।


कोही ताक्लाकोटबाट भरिया द्वारा सामान ल्याउथे भने केही व्यापारीले घोडा खच्चर र भेडाबाख्राबाट ढुवानी गरी दार्चुला सदरमुकाम खलंगासम्म चीनिया सामान पुर्‍याउने गरेको धामीले बताए । भरियाद्वारा समान ल्याउन खोज्यो भने पनि नेपालतिर भन्सार नहुँदा ताक्लाकोटबाट खलंगा सामान ल्याउन नसकिने अवस्था रहेको छ । पछिल्लो समय सदरमुकामसम्मै सडक मार्गको पहुँच पुगेपछि अहिले यहाँका सबै व्यापारीहरूले काठमाडौ, धनगढीलगायत बजारबाट चीनिया बस्तु ल्याएर विक्री गर्ने गरेको धामीको भनाइ छ ।


५/६ वर्ष अघिसम्म पनि चीनियाँ सामानका लागि सिमावर्ती भारतीय नागरिकहरू खलंगा बजार आउने गरेको व्यापारी गणेश दत्त बडूले बताए । ‘अहिले खलंगाका व्यापारीहरूले भारतीय सिमावर्ती बजारबाट चिनिया सामान ल्याउनु परेको छ’ उनले भने ।


प्रकाशित : श्रावण १, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?