कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषकलाई पेन्सन

बाजुरा — बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षको बजेटमा ‘कृषकलाई पेन्सन’ दिने कार्यक्रम ल्याएको छ । पेन्सन बापत कृषकले मासिक १ हजार पाउने छन् ।

कार्यक्रम कार्यान्वयनका लागि ५ लाख विनियोजन गरिएको नगरप्रमुख दिपक विक्रम शाहले बताए । कम्तीमा ५ रोपनीमा तरकारी खेती गर्ने, २ सय बिरुवा रोप्ने, एक हजार कुखुरा पाल्ने, ५ वटा गाइभैसी पाल्नेलगायत ब्यवसायिक कृषि ब्यवसाय गर्ने किसानलाई महिनाको एक हजारसम्म पेन्सन दिने योजना ल्याइएको नगरप्रमुख शाहले बताए । उनले भने ‘कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गर्छौ ।’ नगरसभा मंगलबार सम्पन्न भएको हो ।


यस्तै कतिपय लोकप्रिय कार्यक्रम ल्याएको नगरसभाले नगरभित्र २ वटा नगर बस सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको छ । नगरका सबै वडा सडक संजालमा जोडिएकाले गाउँमा तत्काल खोजेको बेला सवारीसाधन नपाउने र सानै कामका लागि पनि गाडी रिजर्व गर्नुपर्ने भएकाले नगर बसको अवधारणा ल्याइएको नगरप्रमुख शाहले बताए ।


‘हामीले गाडी खरिद गरेर सस्तो, सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौ’ उनले भने, ‘नगरबस खरिद गर्नका लागि आर्थिक वर्ष ०७६/७७ को बजेटमा १ करोड विनियोजन गरिएको छ ।’


नगर स्वयंसेवक शिक्षक

नगरभित्रको शिक्षाको गुणस्तर सुर्धानका लागि नगर कार्यालयले स्वयसेवी शिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । नगरप्रमुख शाहकाअनुसार नगरपालिकामा प्रयाप्त मात्रामा शिक्षण संस्थाहरू भएपनि शिक्षण सिकाई प्रभावकारी नभएकाले उक्त निर्णय गरेको बताए । त्यसका लागि आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन गरिएको छ ।


मदिरा व्यवस्थापन

नगर क्षेत्रभित्र मदिराको बिक्री वितरण तथा सेवनमासमेत व्यवस्थापन गरिने भएको छ । गाउँमा हुने महिला हिंसामध्ये ९५ प्रतिशत हिंसा मदिरा सेवनकै कारण हुने भएकाले मदिरा व्यवस्थापन गर्ने योजना ल्याइएको उपप्रमुख तारा खातीले बताइन् । ‘मदिरा बिक्री वितरण गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्ने, गाउँगाउँमा मदिरा उत्पादन गर्न नपाइने र मदिरा खाएर होहल्ला गर्नेलाई नगरपालिकाको महिला समिति अर्थात् प्रहरीले आवश्यक कानुनअनुसार कारबाही गर्ने योजना अघि बढाएको छौं,’ उपप्रमुख खातीले भनिन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?