कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमैया मुक्ति दिवस : १९ वर्षदेखि पुन:स्थापनाकाे लडाइँ

गणेश चौधरी

टीकापुर — पश्चिम नेपालमा रहेका मुक्त कमैया मुक्त भएको १९वर्षदेखि पुनःस्थापनाको पर्खाइमा छन् । बिहीबार १९औं मुक्ति दिवस मनाउँदै गर्दा उनीहरूले अझै पनि सरकारले व्यवस्थित पुनःस्थापना नगरेको गुनासो गरेका छन् । 

कमैया मुक्ति दिवस : १९ वर्षदेखि पुन:स्थापनाकाे लडाइँ

‘पुनःस्थापनाको लागि धर्ना, नारा जुलुस ज्ञापनपत्र कैयौं पटक बुझाइ सक्यौं,’ टीकापुर नगरपालिका १ शिवनगरकी उर्मीदेवी चौधरीले भनिन्, ‘मुक्ति घोषणाका बेला जन्मेका बालबच्चाले नागरिकता पाइसके । तर मुक्त कमैयाको बासको लडाइँ अहिलेसम्म जारी छ ।’ सरकारले २०५७ साउन २ गते पश्चिम तराईमा जिमिन्दारका घरमा बँधुवा मजदुरका रुपमा रहेका कमैयाहरूको मक्तिको घोषणा गरेको हो ।


अधिकांश मुक्त कमैयाले जग्गा पाए पनि कैलालीमा अझै करिब ४ सय मुक्त कमैया परिवारको बसोबासको व्यवस्था भइनसकेको मुक्त कमैया समाज कैलालीका अध्यक्ष प्रेम चौधरीले बताए । टीकापुर नगरपालिका १ शिवनगरमा बस्दै आएका टीकापुर मुक्त कमैया नगर समिति अध्यक्ष रामफल थारूले भने, ‘देशमा व्यवस्था बदलियो । मुक्त घोषणा भएको बेला जन्मेको बच्चा लक्का जवान भइसके । धेरै पार्टी सरकारमा गए तर हाम्रो समस्या कसैले समाधान गर्न चाहेनन् ।’ परिचय पत्र पाएका तर सरकारले पुनःस्थापना नगरेका मुक्त कमैया परिवार टीकापुरको शिवनगर, लम्कीको पूर्वपश्चिम राजमार्ग छेउ, लालबोझी लगायतका ठाउँमा अस्थायी टहरा बनाएर बस्दै आएका मुक्त कमैया समाज कैलालीले जनाएको छ ।


उचित बसोबासको व्यवस्था नभएपछि उनीहरूले सरकारी तथा विभिन्न संघसंस्थाको जग्गा कव्जा गरी बसेका छन् । पुनःस्थापनाको काम चाँडो नहुँदा उनीहरू अन्योलमै जीवन जीउन बाध्य भएको उनीहरू बताउँछन् ।


पुनःस्थापना हुन बाँकी मुक्त कमैयाले उचित गाँस, बास र लत्ताकपडाको जोहो गर्न नसकेकाले मुक्त कमैया परिवारलाई नै बढी रोग, महामारी, कुपोषणको समस्या हुने गरेको उनीहरू बताउँछन् । राजनीतिक दलका नेताले मुक्त कमैयाको पुनःस्थापनाका लागि विगतदेखि प्रतिबद्धता जाहेर गर्दै आएका भए पनि अहिलेसम्म पुनःस्थापना कार्य नगरेको उनीहरूको गुनासो छ । उर्मीदेवी चौधरीले भनिन्, ‘चुनावका बेला मात्र नेताहरू मुक्त कमैया बस्तीमा आउँछन् । हामीले कार्यक्रममा बोलाउँदा नि आउँदैनन् हाम्रो कुरा सुन्न ।’


रामफलका अनुसार गणतन्त्रपछि भएका सबै चुनावमा नेताहरूले जग्गाको लालपुर्जा दिने आश्वासन दिए तर अझसम्म कसैले व्यवस्था गरेनन् । ‘स्थानीय तहको निर्वाचनका बेला पनि सबै पार्टीले आ आफनो प्रतिबद्धता सार्वजनिक गर,े’ उनले भने, ‘हामीसित लिखित सहमति गरे तर अहिलेसम्म कुनै सुरसार छैन ।’


कतिपय मुक्त कमैयालाई मुक्त कमैयाको लिस्टबाट हटाइएको र परिचयपत्र भएका मुक्त कमैयालाई पनि जग्गा नदिएको मुक्त कमैयाको गुनासो छ । बस्दै आएको जग्गा नछोड्ने उनीहरूले बताएका छन् । बन्धुविवश चौधरीले भने,‘जग्गाको लागि २ लाख रुपैयाँ दिने भन्दैछ सरकारले । अहिले १ लाखभन्दा बढी एउटा भैंसी किन्न रकम चाहिन्छ । हामीले भैंसी किन्ने कि जग्गा ।’


पुनःस्थापनाको जिम्मा स्थानीय तहलाई

मुक्त कमैयाको पुनःस्थापनाका लागि अहिले स्थानीय तहलाई जिम्मा दिइएको छ । स्थानीय तहमा मुक्त कमैयालाई ३५ क्वि फिट काठ बराबरको रकम र घर बनाउन पनि रकम दिने प्रक्रिया अघि बढेको छ । ३५ क्युविक फिट काठ बरारबर एक लाख र घर बनाउने खर्च बापत १ लाख ५५ हजार रकम दिने निर्णय भएको मुक्त कमैया समाज कैलालीका अध्यक्ष प्रेमलालले बताए ।


‘१९ वर्षको अवधिमा मुक्त कमैयाको जीवनमा सुख पनि आयो दुःख पनि आयो’ मुक्त कमैया समाज कैलालीका अध्यक्ष प्रेमलाल भन्छन्, ‘अब स्थानीय तहले बसोबासको व्यवस्था नभएका मुक्त कमैयाको चाँडै बसोबासको व्यवस्था गर्ने र मुक्त कमैयाका छोराछोरीलाई रोजगार तथा उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्न जरुरी छ ।’

प्रकाशित : श्रावण ३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?