कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमान्‌काे हत्यापछि बिचल्ली

'रक्सी खाएर तेरो पोई मैले मारेको हुँ । तँ पनि धेरै जान्ने नहो, त्यही हालत होला भनेर थर्काउँछन् ।’
वसन्तप्रताप सिंह

बझाङ — बुंगल नगरपालिका ६ दान्तोलीकी लक्ष्मी सिंह (२५) को परिवारमा खुसी थियो । श्रीमान् आनन्द स्थायी शिक्षक थिए । गाउँ समाजमा पनि राम्रै मानमनितो थियो । गाह्रोसाह्रो पर्दा छरछिमेकीलाई पनि सहयोग गर्न उनकै परिवार अघि सर्थ्यो ।

श्रीमान्‌काे हत्यापछि बिचल्ली

उमेरले कम भए पनि उनका श्रीमान्‌ले निकै मेहनत गरेर २३ वर्षको उमेरमा स्थायी शिक्षकको जागिरमा नाम निकालेका थिए । लक्ष्मी पनि २ छोरीको स्याहार र शिक्षामा दत्तचित भएर लागेकी थिइन् ।


लक्ष्मीको परिवारमा बज्रपात भयो । ०७२ चैत अन्तिम साता विद्यालय नजिकै उनको शरीरभरि निलडाम पारेर झ्याङमा कोचेको अवस्थामा उनका श्रीमान्‌काे शव भेटिएको थियो । भर्खर २१ टेकेकी कलकलाउँदो उमेरकी लक्ष्मीको जीवनको रङ पनि उड्यो ।

दुई छोरी पाल्ने र हुर्काउने जिम्मा एकातिर थियो । अर्कातिर श्रीमान् गुमाउन्पुर्दाको पीडा ।


६ महिनासम्म उनी अर्धबेहोस भएर हिँडिन् । ‘श्रीमान् सम्झँदा आत्महत्या गर्न मन लाग्थ्यो । नाबालक छोरीहरूको अनुहार हेर्दा उनीहरूको मायाले पोल्थ्यो,’ लक्ष्मीले भनिन्, ‘छोरीहरूको मुख हेरेर बाँचिरहेकी छु,’ ७ र ५ वर्षका २ छोरीको मायाले उनलाई त बचायो तर अहिले छोरीहरूलाई कसरी हुर्काउने पढाउने भन्ने चिन्ताले उनलाई चैन छैन ।


वृद्धा अवस्थाकी सास् ूर २ छोरीको लालनपालनको पूरै जिम्मेवारी उनकै काँधमा छ । आम्दानीको स्रोत केही पनि छैन । ऋणधन गरेर गुजारा चलाउन निकै गाह्रो भइरहेको उनले सुनाइन् । ‘बूढी सासू र छोरीहरू बिरामी भइरहन्छन् । उपचार गराउनकै लागि पनि कुनै महिना १५/२० हजार खर्च लाग्छ,’ उनले भनिन्, ‘घरमा बिहानसाँझ खानका लागि पनि समस्या छ । छोरीहरूलाई कसरी पाल्ने पढाउने भन्ने चिन्ताले ज्यान खाइरहेको छ,’ कुनै व्यक्ति वा संस्थाले छोरीहरूको पढाइ र पालनपोषणमा सहयोग गरिदिए आफूलाई राहत हुने उनको आशा छ ।


उनको ज्यान खाइरहने अर्को विषय हो श्रीमान्को हत्या । शव हेर्दा हत्या नै गरेर झाडीमा कोचिएको अवस्थामा थियो । शरीरभरि निलडाम थियो तर प्रहरी र केही स्थानीयले भिरबाट लडेर मृत्यु भएको भन्ने बनाएर हत्यारालाई उम्काएको उनको आंशकाले भतभती पोलिरहेको छ ।


‘हत्या हो भन्नेमा मलाई कुनै शंका छैन,’ उनले भनिन्, ‘त्यतिबेला हत्या भयो भनेपछि तिम्रो श्रीमान्ले पाउनुपर्ने कुनै सुविधा आउँदैन । त्योभन्दा मर्ने मरिहाल्यो । मिलाउनुपर्छ भने । म बेहोसीमै थिएँ । केही बोल्न सकिनँ,’ पहिला श्रीमान्को पेन्सन मिलाइदिने आश्वासनमा हत्याबारे नबोल्न दबाब दिए पनि सरकारको नियमअनुसार सेवा अवधि ५ वर्ष नपुगेका कारण उनले कुनै पनि सुविधा नपाएको बताइन् ।


हत्यामा संलग्न रहेको शंका लागेका व्यक्तिहरूले अहिले पनि आफूलाई धम्क्याउने गरेकाले उनी आफ्नो ज्यान पनि असुरक्षित भएको महसुस गर्ने गरेको बताउँछिन् । ‘रक्सी खाएर तेरो पोई मैले मारेको हुँ । तँ पनि धेरै जान्ने नहो, त्यही हालत होला भनेर थर्काउँछन् ।’ आफू न्यायको लडाइँ लड्न तयार भए पनि छोरीहरूका कारण नसकेको बताउँदै उनले भनिन्, ‘मलाई मर्न पनि केही डर छैन । म मरेँ भने छोरीको हालत के होला भन्ने पिरले सुनेको नसुन्यै गर्छु ।’


०७२ मा भएको घटनाका विषयमा आफूलाई केही जानकारी नभएको बताउँदै बझाङका डीएसपी सूर्यबहादुर केसीले त्यो विषयका मिसिलहरू अध्ययन गरेपछि मात्र हत्याबारे बताउन सकिने जानकारी दिए । उनले मिसिल हेर्दा घटना शंकास्पद लाग्यो भने पुनः अनुसन्धान थाल्ने बताए ।

प्रकाशित : श्रावण ७, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?