कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाम मात्रको ग्रामीण विद्युतीकरण

डीआर पन्त

डडेलधुरा — विद्युत् लाइन विस्तार नभएका गाउँ छैनन् । डडेलधुराका ७ स्थानीयतह मध्ये परशुराम नगरपालिका र आलीताल गाउँपालिकाका केही गाउँबाहेक जिल्लाका १७ हजार घरधुरीमा विद्युत् लाइन विस्तार भएको प्राधिकरणको तथ्यांकमा छ । तर ग्राहकले सातामा २ दिन पनि बिजुली बाल्न पाउँदैनन् ।

नाम मात्रको ग्रामीण विद्युतीकरण

सुदूरका पहाडी जिल्लामध्ये सुगम मानिने डडेलधुरामा नाम मात्रको विद्युतीकरण भएको छ ।


‘सातामा दुई दिन पनि बिजुली बाल्न पाइँदैन,’ बगरकोटका अगुवा प्रेमराज चटौतले भने, ‘१५ वर्षअघि भएको विद्युतीकरण जीर्ण अवस्थामा पुग्दा सामान्य हावाहुरी र वर्षा आउनेबित्तिकै प्रायः दैनिक विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।’ उनकाअनुसार हरेक गाउँमा विद्युत लाइन जीर्ण भएका छन्, कहीं पोल भाँचिएका छन् भने कहीं तार खेतबारीमा खसेका छन् । ‘ग्रामीण क्षेत्रको अधिकांश विद्युत् सेवा अवरुद्ध भएको छ,’ उनले भने ।


अनियमित विद्युत् सेवाका कारण स्थानीयतहवाट लिने सेवा र बैंकिङ कारोबारमा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । ग्रामीण क्षेत्रमा निरन्तर विद्युत् सेवा अनियमित हुँदा सरकारी कार्यालय, स्थानीय तहका कार्यालयहरू, बैंक र शैक्षिक प्रतिष्ठानले दिने सेवा निकै प्रभावित हुने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।


लाइन निर्माणमा भएको लापरबाहीले गर्दा ग्रामीण क्षेत्रका बासिन्दाले दिनमा ५ घण्टा पनि विद्युत् उपभोग गर्न पाएका छैनन । प्रसारण लाइन विस्तार गर्दा मापदण्डअनुसार काम नभएका कारण पोल ढल्ने, जंगल क्षेत्रमा तार चुँडिने, सामान्य हुरी र वर्षामा पनि बिग्रने समस्याले सेवा अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणमा कार्यरत प्राविधिकहरू बताउँछन् ।


सदरमुकाम आसपासका क्षेत्रबाहेक सबै ठाउँमा नाम मात्रको विद्युत सेवा रहेको उपभोक्ताहरूको गुनासो रहेको छ । डडेलधुराकै अजयमेरु गाउँपालिका ६ का दानबहादुर खड्का भन्छन्, ‘उपभोक्ताले मिटर जडान गरेको जरिवाना तिर्नुबाहेक सेवा पाउन सकेका छैनन् ।’ गाउँ–गाउँमा विद्युतका कर्मचारी पनि छन् तर साधन स्रोत अभाव र अस्तव्यस्त भएको विद्युत लाइनका कारण उनीहरूले सेवा नियमित गर्न नसकेको पनि उनले बताए । ४ वर्षअघि निर्माण भइसक्नुपर्ने सब–स्टेसन अहिलेसम्म स्थापना हुन सकेको छैन ।


जिल्लाको पश्चिमी भेकका लागि बगरकोट, पूर्वी भेकका लागि सकायल र दक्षिणी भेकका लागि जोगबुढामा सबस्टेशन निर्माणको प्रकृया सुरु भएको ५ वर्ष वढी भए पनि अहिलेसम्म कुनैपनि स्थानमा सव स्टेशन निर्माण हुन सकेको छैन । विद्युत वितरण हुने फिडर देखि २० किलोमिटर लामो हुनुपर्ने वितरण लाइन ५० देखि सय किलोमिटरसम्म लामो वितरण लाइनका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणका कर्मचारीको भनाइ रहेको छ ।


‘विगतमा निर्माण भएका वितरण लाइन अस्तब्यस्त भएकाले समस्या देखिएको हो,’ डडेलधुरा वितरण केन्द्र प्रमुख ईश्वरलाल श्रेष्ठले भने, ‘वितरण लाइनहरू ५/७ गुणा बढी लम्बाइका भएकाले समस्या उत्पन्न हुँदै आएको छ ।’ वातावरणीय प्रभाव मुल्यांकन नगरि जंगल क्षेत्रवाट विद्युत लाइन लैजाँदा समेत समस्या उत्पन्न भएको उनले वताए ।


‘सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउले बजारनजिकै दुधकाँडेमा निर्माण गरिएको १३२/३३ केभी सबस्टेसन सञ्चालनमा आइसकेको छ,’ श्रेष्ठले भने, ‘ग्रामीण क्षेत्रका विद्युत् लाइन मर्मत गर्ने प्रयास पनि भइरहेको छ ।’


सबस्टेसन निर्माण सम्पन्न भएपछि प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् यसैमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउने पूर्वाधार तयार भएको उनले वताए । बजेट अभावले विद्युत् सेवा भरपर्दो वनाउन नसकिएको गुनासो स्वयं विद्युत प्राधिकरणका कर्मचारीको छ । ‘वर्षेनी ३/४ करोड बजेट खर्च हुन्छ,’ वितरण केन्द्र प्रमुख श्रेष्ठ भन्छन्, ‘जिल्ला भरि ३ हजार वढी काठका पोल छन् यि सवै बिस्थापित गरि स्टील पोल हाल्न कम्तिमा ८ करोडभन्दा वढी बजेट आवश्यक पर्छ ।’


काठका पोल भएका कारण सामान्य हावाहुरी र वर्षाले गर्दा विद्युत सेवा अवरुद्ध हुने गरेको पनि उनले जानकारी दिए । श्रेष्ठले भने, ‘जिल्लाका सवै घरधुरीमा भरपर्दो विद्युत सेवा पुर्‍याउन अझै केही समय लाग्छ ।’

प्रकाशित : श्रावण ८, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?