कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रायल दिनेको घुइँचो

निर्मला खडायत

धनगढी — बर्दगोरिया गाउँपालिका ६ का दीपेन्द्र शाही ट्रायल भइरहेको ठाउँबाट बाहिर निस्किए । वर्षौं अघिदेखि मोटरसाइकल चलाउन थालेका उनले बल्ल योपटक ट्रायल पास गरे । 

‘धेरै खुसी लागेको छ । यात्रा गर्दा बारम्बार ट्राफिक प्रहरीको चेकजाँचमा जरिवाना तिर्नुपर्ने तनावबाट अब छुटकारा पाइने भयो,’ उनले भने, ‘पछिल्लो समय अनलाइन आवेदन प्रणालीले लाइसेन्स लिन सजिलो भएको छ ।’ उनकै पछि ट्रायल दिएका घोडाघोडी नगरपालिकाका खगेन्द्र ओझा ट्रायल सेन्टरबाट निराश हुँदै निस्किए । ‘निकै मिहिनेत गरेको थिएँ । योपटक निस्कन सकिएन । अब रि(ट्रायलमा बोलाएका छन्,’ उनले भने, ‘रि(ट्रायलका लागि १५/२० दिन लाग्छ रे ।’


विगतमा अनुभवी चालकले पनि सानो त्रुटिका कारण सुरुबाटै प्रक्रिया पूरा गर्नुपर्थ्यो । अहिले रि(ट्रायलको सुविधाले चालकहरूलाई अनुमतिपत्र प्राप्त गर्न सहज भएको ओझाले सुनाए । धनगढीमा मंगलबारदेखि दुईपांग्रे सवारीको चालक अनुमतिपत्रका लागि ट्रायल सुरु भएको छ । २ दिन धनगढीको फाप्लास्थित ट्रायल सेन्टरमा अनुमतिपत्रका लागि ट्रायल दिने चालकको लाम लागेको थियो । कोही पहिलोपटक ट्रायल दिन आएका थिए भने कोही वर्षौंदेखि असफल हुँदै आएकाहरू सामेल थिए ।


केही वर्षअघिसम्म पनि चालक अनुमतिपत्र प्राप्त गर्न चालकले महिनौं र वर्ष दिनसम्म पनि कुर्नुपर्थ्यो । अहिले सातैपिच्छे आवेदन खुल्ने गरेको छ ।


यातायात व्यवस्था कार्यालय कैलालीका अनुसार बर्सेनि २ पांग्रे सवारी चालक अनुमतिपत्र लिनेको संख्यामा बढिरहेको छ । पछिल्लो समय पहाडी जिल्ला र सहरबजारमा मोटरसाइकल घरघरमा अनिवार्य जस्तै भएपछि संख्या बढ्दै गएको हो ।

निमित्त कार्यालय प्रमुख गम्भीरसिंह विष्टले स्मार्ट लाइसेन्स लागू भएदेखि हालसम्म ३२ हजार सवारी चालकले लाइसेन्सका लागि आवेदन दिएको बताए । त्यसमध्ये आव ०७५/७६ नयाँ, थप र नवीकरण, प्रतिलिपिलगायत १७ हजार ६ सय १९ ले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएको उनले जानकारी दिए ।


अघिल्ला वर्षहरूमा १४ हजार जनाले दुईपांग्रे सवारी अनुमतिका लागि आवेदन दिएको उनले बताए । ‘बर्सेनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या बढ्दै गएको छ,’ विष्टले भने ‘हालसम्म १२ हजारले त स्मार्ट लाइसेन्स बुझिसकेको अवस्था छ ।’


केही वर्ष पहिले सवारी चालक अनुमतिपत्रका लागि चालकले ३/४ महिना कुर्नुपर्ने अवस्था थियो । हाल हरेक साता ४ दिन (आइतबार, सोमबार, मंगलबार र बुधबार) अनलाइनबाटै फाराम भर्न पाइने भएपछि यो संख्या झनै बढेको हो । विष्टले चालकले जुनसुकै ठाउँबाट पनि आवेदन दिन मिल्ने र छिटै लिखित र ट्रायल परीक्षा हुन थालेपछि अनुमतिपत्र लिनेको संख्या बढेको बताउँछन् । कार्यालयमा साढे ९ हजारको हाराहारीमा दुईपांग्रे सवारी साधन (मोटरसाइकल/स्कुटी) दर्ता भएका छन् ।


हरेक साता चालक अनुमतिपत्रका लागि आवेदन खुले पनि हरेकपटक एकनासै घुइँचो हुन्छ । निमित्त प्रमुख विष्टले भने, ‘हाल महिनामा १ हजारदेखि १५ सय दुईपांग्रे सवारी दर्ता हुन्छन् । एउटै शोरुमका बाइक/स्कुटी ५ सयको हाराहरीमा आइदिन्छन् । ती सबैलाई सवारी चालक अनुमतिपत्र चाहिन्छ ।’

प्रकाशित : श्रावण ९, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?