कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरले फिर्ता गरे भेटिएको नगद

कान्तिपुर संवाददाता

बझाङ — जयपृथ्वी नगरपालिका प्रमुख (मेयर) वीरेन्द्रबहादुर खड्काले बेवारिसे अवस्थामा भेटाएको १ लाख रुपैयाँ नगद र ५ लाख ४० हजारको हस्ताक्षर गरेको चेक सम्बन्धित व्यक्तिलाई बिहीबार फिर्ता गरेका छन् ।

बैतडीको सिगास गाउँपालिकास्थित जयपृथ्वी राजमार्गमा पर्ने मुस्याखान जंगलमा सोमबार नगरप्रमुख खड्काले झोला भेटाएका थिए । झोलामा बझाङको साविकको देउलीकोट गाविस ५ का राइभान बोहराका छोरा वसन्त बोहराको नागरिकता र शैक्षिक प्रमाणपत्र भेटिएपछि सोही आधारमा सम्बन्धितको खोजी गरी फिर्ता गरिएको खड्काले बताए ।


झोलामा रहेका प्रमाणमा उनको सम्पर्क नम्बर नभेटिएपछि सामाजिक सञ्जालमा सूचना हालेर झोलाधनी वसन्त बोहरालाई बुझाएको उनले बताए । 'आत्महत्या गरौं जस्तो लागेको थियो’ रकम र प्रमाणपत्रसहितको झोला हराउने देउलीकोटका वसन्त बोहरा पेसाले होजियारी प्रशिक्षक हुन् ।


उनी धनगढीबाट ट्र्याक्टरमा बझाङ आउने क्रममा नगद चेक र प्रमाणपत्रहरू हराएका थिए । नगरप्रमुखले भेटाएको झोला प्राप्त गरिसकेपछि रकम हराउँदाको अवस्थाबारे भने, ‘मेरो त सबै सकियो । अब कसरी घर जाउँ भन्ने लाग्यो । बुबालाई फोन गरी घर आउदिनँ मर्छु भने उहाँले सम्झाउनुभयो ।’


भएको सबै पैसा र पढेका प्रमाण सबै हराएपछि चिन्ताले खाना खान पनि मन नलागेको उनले सुनाए । ‘भोलिपल्ट झोला भेटिएको कुरा फेसबुकमा आएपछि खुसीको सीमै रहेन,’ उनले सुनाए ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?