कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धारामा पानी होइन, लेदो

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाको प्रमुख केन्द्रका रुपमा रहेको एक मात्र सहरउन्मुख चैनपुरमा खानेपानीको समस्या चुलिएको छ । ४ दिन बिराएर धारामा पानी आउन थालेपछि यहाँका बासिन्दा सेती नदी र बाहुली गाढ खोलाको धमिलो पानी पिउन बाध्य छन् ।

धारामा पानी होइन, लेदो

सदरमुकाम क्षेत्रमा बसोबास गर्ने करिब ११ सय घरधुरीको खानेपानी व्यवस्थापन चैनपुर खानेपानी उपभोक्ता समितिले गरिरहेको छ । समितिअन्तर्गत हाल सदरमुकाम क्षेत्रमा ४ सय ८० धारा जडान गरिएका छन् । समितिले असमान तरिकाले पानीको वितरण गरेका कारण बर्खायाममा पनि खानेपानीको समस्या भोग्नु परिरहेको उपभोक्ता बताउँछन् ।


‘कसैको धारामा बिहान(बेलुकै पानी आउँछ । कसैकोमा ४ दिन बिराएर आउँछ,’ उपभोक्ता सुभास सिंहले भने, ‘बर्खायाममा पनि सेती र बाहुली गाढको फोहोर पानी पिउनु परिरहेको छ ।’ उनले उपभोक्ता समितिले अवाञ्छित लाभ लिएर निश्चित व्यक्तिका लागि हटलाइन (निरन्तर पानी आउने) धारा जडान गरिदिएका कारण सर्वसाधारणलाई पानीको दुःख भएको बताए ।


केही दिनयता खानेपानीको मूल ट्यांकीमा भल पसेपछि चार दिन बिराएर आउने पानी पनि पिउनै नमिल्ने लेदो हुने गरेको उपभोक्ताको गुनासो छ । ‘कपडाले छान्दा पनि पानी सफा हुँदैन,’ स्थानीय सरिता खडकाले भनिन्, ‘सेतीको पानी पनि धमिलो भएकाले दुई(तीनपटक छान्दा पनि सफा नहुने पानी खाइरहेका छौं ।’


बर्खाको भल मिसिएको धाराको र सेती नदी बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सर्वसाधारण बिरामी हुन थालेका छन् । ‘दिनै पिच्छे कोही न कोही बिरामी भएका भयै छन्,’ चैनपुरका प्रकाश ताम्राकारले भने, ‘अस्पतालमा गए स्वास्थ्यकर्मीहरूले फोहोर पानी पिएका कारण यस्तो भएको हो । अब सफा पानी पिउनुहोला भन्छन् ।’


धारामा कहिले काँही मात्रै पानी आउने गरेको कारण आफूहरूले दिसापिसाब बगेको देख्दा–देख्दै पनि बाउलीगाढको पानी पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सेती नदी र बाहुली गाड खोला सदरमुकाम भरीबाट निस्कने कुहिने तथा नकुहिने फोहोर बगाउने गरिन्छ ।


यही फोहोरकै कारण पछिल्लो समय यो पानी पिउँदा दैनिकजसो बिरामी हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय पानीजन्य संक्रमणका बिरामीको संख्यामा बढेको छ । दूषित पानीबाट टाइफाइड, हेपाइटाइटिस ए, हेपाइटाइटिस ई, जन्डिस, आउँ, झाडापखाला जस्ता बिरामीको संख्या बढेको डा. मिलन रावलले बताए ।


यता चैनपुर खानेपानी उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र विष्टले भने विर्या खोलामा रहेको इन्टेकभन्दा माथि बनाईको सडकबाट आएको पहिरोको भल बगेर ट्यांकीमा पस्दा धमिलो पानी आएको बताए । ‘सडक खन्दा ठाउँ(ठाउँमा पाइप फुटेको हुँदा धमिलो पानी आएको हो,’ उनले भने, ‘यो समस्या समाधान गर्न हामी लागिरहेका छौं ।’


कसैको धारामा नियमित पानी आउने र कुनै धारामा चार दिन बिराएर पानी आउने कारणको जिज्ञासा राख्दा विष्टले चैनपुर खानेपानी आयोजनाका २ अलग्गै मुहान र अलग्गै ट्यांकी भएकाले त्यसो भएको बताए । ‘२ अलग मुहान र ट्यांकीबाट पानी वितरण गरिएकाले त्यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘कुनै ट्यांकी बिग्रँदा नियमित पानी नआएको र अर्कोमा आएको देखेर मानिसहरूले त्यसो भनेका होलान् ।’


बादीलाई सधैं खोलाकै पानी

पिउने पानीको सबैभन्दा बढी समस्या चैनपुरको दक्षिणी कुनामा रहेको विपन्न बादी समुदायले खेपिरहेको छ । १५ परिवार रहेको यो बस्तीमा एउटा मात्र खानेपानीको धारा छ । यसमा पानी कहिल्यै नआउँदा सधैं सेतीको धमिलो पानी खान बाध्य रहेको उनीहरू बताउँछन् ।


‘अहिलेसम्म धाराको पानीको स्वाद चाख्न पाएनौं,’ स्थानीय राधा बादीले भनिन्, ‘फोहोर आए पनि हामी सेतीकै पानी खाइरहेका छौं ।’ निरन्तर दूषित पानी पिउनु पर्दा यस बस्तीका बालबालिकासँगै युवाले समेत अकालमै ज्यान गुमाउनुपरेको उनले बताइन् । उनले गत वर्ष ३६ वर्षीय पदम दमाईको जन्डिसकै कारणले मृत्यू भएको जनाइन् ।


धाराको खानेपानी उपलब्ध गराई दिन भन्दै पटक–पटक जयपृथ्वी नगरपालिका, चैनपुर खानेपानी उपभोक्ता समिती धाए पनि कसैले चासो नदिएको लक्ष्मी बादीले सुनाइन् । ‘हुने खानेले फिल्टर राखेका होलान् । हामीले धमिलो पानी पिउनु परेको छ । हाम्रो समस्या कसैले सुनेका छैनन्,’ उनले भनिन् ।


जिल्ला अस्पतालका डा. सन्दीप ओखेडाले सदरमुकाम चैनपुरमा बसोबास गर्ने अन्य समुदायभन्दा पानी जन्य रोगको संक्रमण बादी समुदायमा बढी देखिने गरेको बताए । ‘फोहोर पानीकै कारण बादी समुदायका मानिस दैनिकजस्तो बिरामी भएर अस्पताल आउने गरेका छन् । यहाँ शुद्ध पानीको व्यवस्था गर्नु निकै जरुरी छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३२, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?