१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

भवानी भट्ट

कञ्चनपुर — एक महिनाअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा छाडिएका घडियाल गोही चौधर नदीमा बिचरण गरिरहेका छन् । चौधर नदीको पिटरघाटदेखि राधापुर क्षेत्रसम्मको १५ किलोमिटर क्षेत्रमा गोहीहरु रमेका छन् । चैत पहिलो साता चितवनको कसरा क्षेत्रबाट ल्याइएका २५ वटा गोही चौधर नदीमा छाडिएको थियो ।

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

सुरुमा निश्चित क्षेत्रमा घेरबार (सफ्ट इन्क्लोजर) लगाएर राखिए पछि दुई दिनमै घेरा तोडेर गोही नदीमा पसेका थिए । गोहीले नदीमा राम्ररी घुलमिल हुनका लागि अर्को घेरामा पनि सफ्ट इन्क्लोजर राखिएको थियो । अहिले दुवै घेरामा लगाइएको घेरबार तोडेर गोहीहरु नदीमा पसेका छन् । ‘अहिले सबै घेरा ताडेर गोही नदीमा आनन्दले रमिरहेका छ,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘हामीले नियमित अनुगमन पनि गरिरहेका छौं ।’

उनका अनुसार सुरुमा एक साता गोही स्थानान्तरण गरिएको क्षेत्रमा टेन्ट गाडेर नियमित अनुगमन गरिएको थियो । त्यसपछि हरेक दिन ड्रोनबाट र प्रत्यक्ष रुपमा पनि अनुगमन गएिको थियो । अहिले पनि नियमित रुपमा अनुगमन भइरहको उनले बताए ।

चितवनबाट झण्डै ३० घण्टा यात्रा गरेर ल्याइएका गोहीलाई निकुञ्जभित्रकै चौधर नदीको पिटर घाट र आसपासको क्षेत्रमा स्थानान्तरण गरिएको हो । काठको बाकसमा ल्याइएका गोही सुरुमा लगिएका थिए । प्राविधिकले हात र लाठीले चलाएपछि गोहीले चाल दिन थालेका थिए । त्यसपछि स्थानान्तरणमा सहभागी अतिथिले गोहीलाई चौधर नदीमा औपचारिक रुपमा स्थानान्तरण गरिएका थिए ।


संकटापन्न अवस्थामा रहेको घडियाल गोही सन् १९९० सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा देखिन्थे । त्यसपछि भने लोप भएको निकुञ्ज कार्यालयले जनाएको छ । घडियाल गोहीको पुरानो बासस्थान भएका कारण सम्भाव्यता अध्ययन गरेर उक्त क्षेत्रमा पुर्नस्थापना गरिएको हो ।

घडियाल गोही स्वच्छ पानीमा बस्छ । यसको आहारा माछा हो । घडियाल गोही भएको नदी स्वच्छताका हिसाबले पनि राम्रो मानिन्छ । यो भएको नदी सफा र स्वच्छ भएको मानिन्छ । यस कारण पनि घडियाल गोहीको वासस्था संरक्षण निकै महत्वपुर्ण छ ।

चौधर नदी क्षेत्रमा ५० गोही स्थानान्तरण गर्ने कार्यक्रम भएपनि पहिलो चरणमा २५ मात्रै स्थानान्तरण गरिएको छ । थप २५ गोही अर्को वर्ष स्थानान्तरण गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ६, २०८१ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?