२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

अछाम — चैत १२ गते मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भयो । वडा ७ नन्देगडाको सुयडीमा अर्को ट्याक्टर दुर्घटनामा दुई जना घाइते भए । चैत २९ गते बिनायक बजारबाट तोली जाने क्रममा तोली–बिनायक सडक खण्डको ठाँटीमा ट्याक्टर दुर्घटनामा २ जना गम्भीर घाइते भए ।

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

फागुन ९ मा अछामको चौरपाटी गाउँपालिका–५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भयो । १५ जना घाइते भए । प्रहरी चौकी सिउडीका अनुसार लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

कात्तिक ८ मा मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा जीप दुर्घटनामा एक जनाको मृत्यु भयो । प्रहरीका अनुसार बस्तीबाट मंगलसेनतर्फ जाँदै गरेको जीप ब्रेक फेल भई दुर्घटनामा परेको हो । दुर्घटनामा यातायात व्यवसायी दिनेश थापाको मृत्यु भयो ।

साउन ७ मा पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मुत्यु भयो । १८ जना भन्दा बढी गम्भीर घाइते भए ।

अछामका ग्रामीण सडकमा सवारी दुर्घटनामा ज्यान गएका यी केही प्रतिनिधि घटना मात्रै हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन आर्थिक वर्षमा अछाममा घटेका ८९ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । यी दुर्घटनामा ३७ जना गम्भीर घाइते र १ सय ७४ जना सामान्य घाइते भए ।

पहाडी भूगोलमा मापदण्ड पूरा नगरी निर्माण गरिएका सडकमा सवारी दुर्घटना बढिहरेका छन् । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरवाही, सवारीसाधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृति दुर्घटनाका प्रमुख कारण मानिएका छन् ।

अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकका अनुसार चालकको लापरबाही, लाइसेन्सबिनाका चालक, क्षमताभन्दा बढी यात्रु, मदिरा सेवन गरी चलाउनेलगायत मुख्य कारणले सवारी दुर्घटना बढिरहेका छन् ।

‘ग्रामीण सडकमा ट्याक्टरमा यात्रु बोक्ने, लाइसेन्स नभएकाले सवारी चलाउने, मदिरा सेवन गरेर चलाउने गरेको पाइयो,’ उनले भने,‘पछिल्लो समयमा अटो र मोटरसाइकल तीव्र गतिका कारण पनि धेरै घटना हुने गरेका छन् ।’

प्राविधिक अध्ययन बिना बनाइएका सडकका कारण पनि दुर्घटनाको हुने गरेको मेल्लेख गाउँपालिकाका इन्जिनियर खड्कबहादुर धामीले बताए । ‘सडक निर्माण गर्नुअघि डिटेल सर्भे र प्राविधिक अध्ययन गरेर निर्माण गर्नुपर्ने हो । तर त्यसो भएको पाइदैन,’ उनले भने,‘सडक बनाउँदा ग्रेड मिलेको हुँदैन । जग्गा जान्छ भन्ने सोचेर स्थानीयको पनि असहयोग हुन्छ ।’

प्राविधिक पक्ष र मापदण्डको पालना नगरी जथाभावी सडक खन्ने प्रवृत्तिले दुर्घटनालाई बढावा दिइरहेको छ ।

प्रकाशित : वैशाख १०, २०८१ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?