कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिगका दुवै खेल बराबर

काठमाडौँ — तीन पटकको च्याम्पियन नेपाल पुलिस क्लबले सरस्वती क्लबसँग १–१ को बराबरी खेल्दै जारी सिजनको सहिद स्मारक ए डिभिजन लिग अन्त्य गरेको छ ।

लिगका दुवै खेल बराबर

त्यस्तै जावलाखेल युथविरुद्ध १–१ कै नतिजा निकाल्दै च्यासल युथ क्लब लिगमा आठौं भएको छ ।


पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर गुमायो । दोस्रो हाफको सुरुमै सरस्वतीले गोल गरेपछि पुलिस पछि परेको थियो । ५० औं मिनेटमा भिक्टर अमोबीले गोल गरेका थिए । तीन मिनेटपछि नै रवि पासवानले खेल बराबरीमा ल्याए ।


हल्चोक मैदानमा शनिबारको पहिलो खेलमा अरुज सिंहले १० मिनेटमै गोल गरेपछि जावलाखेलले अग्रता लिएको थियो । तर ३२ औं मिनेटमा छिरिङ गुरुङले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।


यो नतिजापछि २०६२/६३, २०६६ र २०६७ सालको च्याम्पियन पुलिस १९ अंकसहित छैटौं स्थानमा छ । यदि अन्तिम खेलमा हिमालयन शेर्पाले थ्रीस्टारलाई पराजित गरेको खण्डमा पुलिस अझै तल झर्नेछ । १४ अंकसहित सरस्वती नवौं स्थानमा छ ।


मनाङ मस्र्याङ्दी शतप्रतिशत जितसाथ लिग च्याम्पियन बनिसकेको छ भने संकटा क्लबले पनि अन्तिम चरणको खेलअगाडि नै दोस्रो स्थान सुरक्षित गरिसकेको छ ।


पहिलोपल्ट शीर्ष डिभिजनको फुटबल खेलेको च्यासलले भने १६ अंकसाथ लिगको आठौं स्थान सुरक्षित गरेको छ । जावलाखेलले १४ टोली सहभागी लिगमा १३ अंकसहित दसौं स्थान हासिल गरेको छ । यसपालिको लिगमा रेलिगेसन प्रावधान छैन ।


पुलिसका प्रशिक्षक अनन्त थापाले स्ट्राइकरको अभावले लिगको लक्ष्य पूरा हुन नसकेको स्वीकार गरे । ‘फिनिसरको अभाव हामीलाई लिगअघिदेखि नै थियो र प्रतियोगिताभर हामीले त्यही समस्या बेहोरिरह्यौं’, थापाले थपे, ‘यदि राम्रो फिनिसर भएको भए लिगमा चौथो स्थानसम्म आउन सक्थ्यौं ।’


पहिलो पटक ए डिभिजन लिग टिमलाई प्रशिक्षण दिएका थापाले भने, ‘नकआउट प्रतियोगिताको तुलनामा लिग खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने उत्कृष्ट मञ्च हो । फुटबलको विकासका लागि लिग जरुरी छ ।’


टिमलाई नवौं स्थान हासिल गराउन सकेकोमा सरस्वतीका प्रशिक्षक प्रदीप नेपाल सन्तुष्ट देखिए । ‘हामी सबैले धेरै मिहिनेत गर्‍यौं । तर, हामी हाम्रो योजनाअनुसार शीर्ष ६ स्थानभित्र पर्न सकेनौं । किनभने हामी मछिन्द्र र हिमालयन शेर्पासँग पनि हार्‍यौं, जसलाई हामी जित्न सक्थ्यौं ।’

प्रकाशित : पुस २२, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?