बालबालिकालाई नि:शुल्क खोखो प्रशिक्षण

साना नानीले राम्रो सिके भने भोलिका दिनमा राष्ट्रिय खेलाडी बन्न सक्छन् । ठूलाहरू उमेर ढल्किँदै जाँदा अल्छी हुन्छन् ।
मधु शाही

दाङ — प्रशिक्षक उषा कुँवर भण्डारी धेरै बालबालिकामाझ खोखो खेल सिकाउन पाए दंग मान्छिन् । ‘खोखो खेल्न आए पुग्छ, शुल्क तिर्नुपर्दैन,’ उनले सुनाइन्, ‘खेल्न आउँछन् भनेरै सित्तैमा सिकाउँदै छु ।’ दाङ उपमहानरपालिका–१६ की २६ वर्षीया उषाले झन्डै ५ वर्षयता नि:शुल्क स्कुलस्तरीय खोखो प्रशिक्षण दिँदै आएकी छन् ।

राजधानीमा आयोजित स्कुलस्तरीय खोखो । फाइल तस्बिर 

उनको खोखो यात्रा पनि स्कुलबाटै सुरु भएको हो । भारतमा अध्ययन गर्दा उनले स्कुलमै खोखो प्रशिक्षण पाइन् । नेपाल आएपछि कलेजस्तरीय खोखो प्रतियोगितामा सहभागी भइन् । त्यसपछि वडास्तरीय हँुदै जिल्ला र राष्ट्रिय स्तरको खेलाडी बन्न सफल भएको उषाले बताइन् । राष्ट्रियस्तरको खोखोमा उनले कांस्य पदक जितेकी छन् । मध्यपश्चिमकी कप्तान उषा विद्यार्थी खोखो सिक्नै भनेर आउनु आफ्ना लागि गौरवको पक्ष मान्छिन् ।

बालबालिकाले विद्यालयस्तरबाटै खेलको महत्त्व बुझ्न सके भविष्यमा परिपक्व हुन्छन् भन्ने अनुभव उषाले सिकेकी छन् । त्यसैले उनी आफैंले विद्यालयमा सिकाउने निधो गरेकी हुन् । दाङका विभिन्न ९ विद्यालयमा समय मिलाएर उनी प्रशिक्षण दिन पुग्छिन् । हिँडेरै स्कुल आउजाउ गर्छिन् । कहिलेकाहीं त गाडी चढ्ने भाडासमेत नभएको भोगाइ उनीसँग छ ।

खाजा के खाने भन्ने चिन्ता उनमा छैन । मात्रै बालबालिकाको खेल्ने समयतालिका बिराउनु हुन्न भन्ने उनको ध्यान छ । विवाहित उषाका श्रीमान् पनि खेलाडी नै हुन् । दुवै खेलाडी हुँदा घर खर्च चलाउन धौ–धौ परेपछि श्रीमान् रोजगारका लागि विदेश हानिए । उषा भने एक्लै आफ्नो खेल सीप देखाएर आत्मनिर्भर हुन चाहन्छिन् । ‘आर्थिक सहयोग गर्ने/नगर्ने स्कुलले बुझ्ने कुरा हो । मैले मागेकी पनि छैन । बालबालिकासँग सहयोग मागौं, खेल्न नआउने हुन् कि भन्ने डर लाग्छ,’ उषाले थपिन्, ‘मलाई खेल सिकाउने भोक छ । आफ्नो कला बाँड्ने अवसर त पाएकी छु ।’

उनी नि:शुल्क प्रशिक्षक बनेको ५ वर्ष पुग्यो । उनले सिकाएका स–साना नानीले खोखोमा राम्रो सम्भावना देखाउन थालेका छन् भने कतिपय राष्ट्रियस्तरका खेलाडी भइसकेका छन् । ‘ठूलाले भन्दा सानाले रमाइलो मान्दै सिक्छन्,’ उनले सुनाइन्, ‘त्यसैले स्कुलमै फोकस गरेकी छु ।’

२ देखि ५, ६ देखि ७ र ९ देखि १२ कक्षा गरी ३ चरणका विद्यार्थीको मनोभाव बुझेर खेल सिकाउने गरेको उनले बताइन् । यीमध्ये उषा साना कक्षामा पढ्ने बालबालिकाप्रति बढी आशावादी हुन्छिन् । उनीहरूलाई विशेष महत्त्वसाथ सिकाउने गर्छिन् । किनभने ठूला खेलाडी एक–दुई वर्षपछि खेल्न छाड्ने गर्छन् तर साना खेलाडी पछिसम्म खेलिरहन्छन् भन्ने उषाको अनभुव छ । ‘साना नानीले राम्रो सिके भने भोलिको राष्ट्रिय खेलाडी बन्न सक्छन्,’ उनले भनिन्, ‘ठूला खेलाडी उमेर ढल्किँदै जाँदा अल्छी हुन्छन् ।’ उनले सिकाएका केही युवा राष्ट्रिय स्तरमा पुगिसके ।

दाङमा नि:शुल्क खोखो प्रशिक्षण दिँदै आएकी उषा कुँवर ।तस्बिर : मधु/कान्तिपुर

दाङ जिल्ला खेलकुद विकास समितिले दुई महिनाका लागि उनलाई क्षेत्रीय स्तरको खोखो खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । सन् २०१० मा आफूले भारतबाट खोखो खेल सिकेर आएको उनले बताइन् । नेपाल फर्केपछि उषाले विद्यार्थीमा आफ्नो सीप र ज्ञान हस्तान्तरण गर्न चाहिन् । स्कुलमा गइन् र नि:शुल्क प्रशिक्षणको चाँजोपाँजो मिलाइन् । खोखो सिकाउने नसामा उषाले घरको सम्बन्ध तीतो बनाउनुपर्‍यो ।

चुलो–चौको गर्न नभ्याउने, महिनामा तलब नल्याउने, बुहारी आचरण नदेखाउने भन्दै आफन्तले साथ दिन छाडे । घरबाट निकालिएकी उषा एक्लै बस्छिन् । तर, खोखो सिकाउन भने छाडेकी छैनन् । ‘अरूले के भन्छन् भनेर सुन्दिनँ,’ उनले भनिन्, ‘मलाई जे गर्दा आनन्द लाग्छ, त्यही गर्छु । खोखो नसिकाई बस्नलाई मनै मान्दैन ।’

उषाका विचारमा खोखो सस्तो खेल हो । दुईटा पोल र थोरै चुना भए खेल्न सकिन्छ । पछिल्लो समय खोखो खेलमा चासो देखाउने युवापंक्ति बढेको छ । यद्यपि सिकाउने मान्छेको भने कमी छ । त्यसैले उषाले विद्यालयमा शिक्षकको अभाव हुन नदिन नि:शुल्क खोखो सिकाउँदै आएको बताइन् । नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा खोखोमा सहभागिता जनाएको थियो । नेपालले महिला–पुरुष दुवैबाट कांस्य पदक जितेको थियो ।

प्रकाशित : पुस २८, २०७५ ०८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सपना भुलाई सारा...

स्मृति
ज्ञानु अधिकारी

काठमाडौँ — सुरुचिटोलस्थित लेखक अधिकारी निवासमा पुग्दा देखिएको दृश्य विष्मयकारी थियो— पढेर आधा अधुरै छाडिएका पुस्तक, रजिस्टर कापीमा लेखिएका उपन्यास पाण्डुलिपि, केही रिसर्च आर्टिकल, कोठामा अलपत्रझैं भेटिए । 

सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ
एक बिहान बानेश्वरको सुरुचिटोलस्थित लेखक शिव अधिकारी निवासमा पुग्दा यस्तो लाग्यो, यो गीत सायद उनले आफ्नै लागि लेखेका हुन् । पढेर आधा अधुरै छाडिएका पुस्तक, रजिस्टर कापीमा लेखिएका उपन्यास पाण्डुलिपि, केही रिसर्च आर्टिकल, खोजअनुसन्धानका केही महत्त्वपूर्ण सामग्री कोठामा अलपत्रझैं भेटियो । घरधनी नभएको घरको माथिल्लो तलाको एउटा बन्द कोठाभित्र १५ बर्षयता यी सामग्री यत्तिकै बसिरहेका छन् । लेखक अधिकारीको ५० वर्षकै उमेरमा २०६० पुस २७ गते निधन भएको थियो ।

एक समयकी प्रभावशाली कविसमेत रहेकी सरला बिष्ट शिव अधिकारीकी श्रीमती हुन् । शैली र सुक्ति दुई छोरीका साथमा आध्यात्मिक क्षेत्रमा लागेकी उनी भारत प्रवासमा छिन् । यसकारण पनि लेखक, कवि, पत्रकार अधिकारीका थाती रचना र योजना अलपत्रै छन् । उनका फुटकर लेख, निबन्ध र रचनाहरू कुनकुन पत्रिकामा प्रकाशित छन् ? प्रकाशित गर्नका लागि विभिन्न संस्था तथा व्यक्तिलाई दिइएका पाण्डुलिपि कुनकुन थिए ? यसबारे घरपरिवारका सदस्य पनि बेखबर छन् ।

साहित्यका सबै विधामा गरेर अधिकारीका कविता, उपन्यास, नाटक र निबन्ध गरी एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । २०२९ मा ‘बालक सिद्धार्थ’ शीर्षकको किशोर नाटक लेखेर सर्वप्रथम आफ्नो साहित्यिक चेत प्रस्तुत गरेका शिवको यो कृति एसियन सांस्कृतिक केन्द्र, जापानबाट पुरस्कृत भएको थियो । यो रचना अङ्ग्रेजी, हिन्दी, उर्दू र अन्य भाषामा समेत अनुवाद भएको छ ।

अधिकारीका विदिशा, चेष्टा, आखेट, पुँश्चली नामका उपन्यास र दिगन्त सारथि, हाडमासुको पहाड, सम्प्रति, हिमालको हालचाल आदि कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै, त्रासदी मुद्राहरू, तासको जामा र अरू तीन नाटक, सिंहासन, अन्यथा आशयजस्ता नाटक कृति प्रकाशित छन् । उनका ‘विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व र विचार’ कृति तथा ‘कलकत्ता इज विग सिटी’, ‘जनआन्दोलन डायरी’, ‘टनकपुर उवाच’ जस्ता निबन्ध पनि स्मरणीय छन् ।

अधिकारी आफ्ना साहित्यिक रचनामध्ये तुलनात्मक रूपमा नाटक विधामा बढी सशक्त देखिन्छन् । परम्परागत लेखनभन्दा पृथक् बसेर अधिकारीले सामयिक विषयमा प्रयोगवादी नाटक लेखेका छन् । उनले समकालीन सामाजिक तथा राजनीतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्दै स्वैरकल्पनाको प्रयोग गरेका छन् । २०४८ सालको नाटक महोत्सवमा प्रज्ञाप्रतिष्ठानमा प्रदर्शित ‘तासको जामा’ नाटक र यो संग्रहमा रहेको ‘आशमाया’ शीर्षक रचना टेलिनाटक रूपमा समेत चर्चित रह्यो । यस नाटकको ४० वटा शृङ्खला नेपाल टेलिभिजनबाट प्रशारण भएको थियो ।अधिकारीको साहित्यकार र पत्रकार गरी सिर्जनशील जीवनका दुई पाटो छन् । दुवै क्षेत्रमा उनी स्वतन्त्र र निर्बाध रूपमा अघि बढिरहे । बानेश्वरबाट शङखमूल जाने बाटोमा पर्ने आफ्नै घरमा सुरुचि पत्रिकाको अफिस खोलेपछि त्यस ठाउँको नाम सर्वप्रथम सुरुचि टोल उनैले राखेका थिए । २०३५ मा नेपाल ल क्याम्पसबाट जागिरे जीवन प्रारम्भ गरेका अधिकारीले साझा प्रकाशन, जनसंख्या आयोग, मीनभवन क्याम्पस आदिमा समेत जागिरे भए । सधैंभर स्वतन्त्रताप्रेमी अधिकारीले जागिरे जीवन स्वेच्छिक रूपमा त्यागेर पत्रकारिता र साहित्यमा समर्पणलाई आफ्नो रोजाइको क्षेत्र बनाएका थिए । २०४२ मा देशान्तर साप्ताहिक पत्रिकाको स्तम्भ लेखकका रूपमा पत्रकारिता प्रारम्भ गरेका उनी पछि त्यसै पत्रिकाको सम्पादक भए । उनी सुरुचि, नवसुरुचि साप्ताहिक पत्रिकाका साथै गोरखापत्र दैनिकमासम्बद्ध रहे ।

शिव अधिकारीले आफ्नो जीवनकालभर समाजका विभिन्न विषय, पात्र र प्रवृत्तिमाथि कटाक्ष गर्दै लेखिरहे । प्रतिकूल परिस्थितिमा पनि निर्भीक विचार राख्ने यी अब्बल पात्रका बारे कहींकतै पनि चासो राखेको पाइदैन । उनका समकालीन पत्रकार–लेखक पनि अधिकारीबारे पूरै बेखबर एवं मौन देखिन्छन् । उनले लेखेका र नाम कमाएका केही पुस्तक अहिले बजारमा पाइँदैन ।

शिव जीवनको अन्तिम क्षणसम्म सक्रिय थिए । त्यतिबेला उनको लेखनको उत्कर्षकाल थियो । अनुभव, अध्ययन र
सङ्गतका कारण लेखन द्रुत बनिरहेका बेलामा उनी यो संसारबाट हराए । लेख्दालेख्दैको कविता पूरा गर्न पाएनन्, लेखिसकेको उपन्यासको नाम राख्नै बाँकी थियो । एउटा नाटकसङ्ग्रह प्रेसमा जान तयार थियो । उनी यसरी गए कि एकाएक आँधी रोकिएजस्तो भयो ।

धादिङको सिरुवानीमा सामान्य कृषक परिवारमा जन्मिएर सङ्घर्षमय यात्राबाट आफ्नो पृथक् पहिचान बनाएका उनी आज गुमनाम छन् । आसेपासे राख्न नसक्ने र प्रशस्त पैसा जम्मा गर्न नसक्ने साहित्यिक व्यक्तित्व सायद शिव अधिकारी ‘बेखबर’ रहेझैं रहने पो हुन् कि ?

प्रकाशित : पुस २८, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT