कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला ब्याडमिन्टन प्रतियोगिता : एपीएफको जोडी हावी

विनोद भण्डारी

विराटनगर — मोरङको विराटचोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको मिक्स युगल तर्फ नेपाल एपीएफ क्लबका जोडी हाबी भएका छन् ।

खुला ब्याडमिन्टन प्रतियोगिता : एपीएफको जोडी हावी

सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा एपीएफका तीन जोडीले सेमिफाइनल यात्रा तय गरे । एपीएफकी पूजा श्रेष्ठ र दीपेश धामीको जोडी बीबीएका सीमा राजवंशी र सुजन श्रेष्ठको जोडीलाई २१–१६ र २१–१२ ले पराजित गर्दै अन्तिम चारमा पुग्यो ।


एपीएफकै सुनैना मुखिया र गौतम कठायतको जोडीले आर्मीका अमिता गिरी र नवीन श्रेष्ठको जोडीको चुनौती २१–१२ र २१–१८ ले पन्छाउदै सेमिफाइनलमा श्रेष्ठको जोडीसँगको भेट पक्का गर्‍यो । अर्को खेलमा सेनाका अनुमाया राई र आर्मीबाट खेल्ने शीर्ष वरीयताका खेलाडी रत्नजित तामाङको जोडीले बीबीएका नीता लम्साल र प्रनिश सिंह ठकुरीको जोडीलाई २१–१० र २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा एपीएफका शोभा गौचन र बिजित थापामगर सँगको भेट पक्का गर्‍यो । शोभा र बिजितको जोडीले बीबीएका सूर्य श्रेष्ठ र धनमाया लिम्बूको जोडीलाई २१– १४ र २१–१३ ले पराजित गर्‍यो ।


दुहबी अन्तर्राष्ट्रिय जुनियर र विराटनगरमा हालै सम्पन्न प्रथम राष्ट्रपति कप जुनियर यू–१५ र यू–१९ विधाका विजेता प्रिन्स

दाहालले आफ्नो विजयी यात्रालाई सोमबार पनि कायमै राखे । उनले एपीएफका गौतम कठायतलाई २३–२१ र २१–१३ ले पराजित गर्दै आर्मीका रुकेश महर्जनसँगको सेमिफाइनल भेट पक्का गरे ।


रुकेशले पुलिसका विष्णु कटुवाललाई निर्णायक खेलमा २१–१४, ११–२१ र २१–१६ ले पाखा लगाए । आर्मीका प्रफुल महर्जनले एपीएफका बिजित थापा मगरमाथि २१– १५, १५–२१ र २२–२० को कठिन जित निकाले । अब प्रफुलको सेमिफाइनल भेट एपीएफका सुनील जोशीसँग हुनेछ । सुनीलले पुलिसका जीवन आचार्यलाई निर्णायक खेलमा २१–१४, १७–२१ र २१–१४ ले स्तब्ध पारे ।


भेट्रान्स युगलतर्फको खेलमा विराटनगरका जीवन बोगटी र खोटाङका दीपक राईको जोडीले धनकुटाका दीपक लामा र कुमार दाहालको जोडीलाई २२–२० र २१–१७ ले, पोखराका रमेश भट्टचन र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले लक्ष्मीमार्गका सन्तोष राई र पदम धिमालको जोडीलाई १७– २१, २१–८ र २१–१३ ले र धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले इटहरीका सुरेश कार्की र श्याम लामाको जोडीलाई २१–१७ र २१–१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । अर्को एक जोडी विराट ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र के.बी. गुरुङ पनि अन्तिम चारमा पुगे । गुरुङ एक हातविहीन खेलाडी हुन् ।


पुरुष युगलतर्फ एपीएफका दीपेश धामी र बिजित थापामगरको जोडीले दमकका प्रकाश राई र सुदेन राईको जोडीलाई २१–१३ र २१–१४ ले र आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले बूढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडीलाई २१–१३ र २१–११ ले हराउँदै अन्तिम चारमा भेट सुरक्षित गरेका छन् ।

प्रकाशित : माघ १, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?