कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्फा विवाद : घले पदच्युत, चार जिल्ला अध्यक्षलाई कारबाही गरिने

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना पदाधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाएका चार जिल्ला संघका अध्यक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

एन्फा विवाद : घले पदच्युत, चार जिल्ला अध्यक्षलाई कारबाही गरिने

एन्फा कार्यसमिति बैठकले चुनावमा आर्थिक अनियमितताबारे ‘टेप रेकर्ड’ सार्वजनिक गरेका मानार्थ अध्यक्ष टासी घलेलाई पनि पदच्युत गरेको छ ।

बैठकले बिहीबार घलेलाई अहिलेसम्मको सहयोग र सल्लाहप्रति धन्यवाद दिँदै मानार्थ अध्यक्ष पद फिर्ता लिएको हो । गत वैशाखमा कर्माछिरिङ शेर्पाको अध्यक्षतामा निर्वाचित कार्यसमितिको पहिलो बैठकले घलेलाई एन्फाको मानार्थ अध्यक्षमा मनोनयन गरेको थियो ।

त्यसअघि पनि एकवर्षे कार्य अवधिका लागि भएको एन्फा अध्यक्षको निर्वाचनको ठीक अघिल्लो दिन तत्कालीन कार्यबाहक

अध्यक्ष नरेन्द्र श्रेष्ठ नेतृत्वको कार्यसमिति बैठकले घलेलाई मानार्थ अध्यक्षमा मनोनीत गरेको थियो ।

त्यस्तै एन्फा निर्वाचनमा आर्थिक अनियमितताका साथै निर्वाचित कार्यसमितिको ९ महिनाको कार्यकालमा बेथितिको आरोप लगाउने काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षमाथि कारबाही प्रक्रिया सुरु गर्दै बैठकले थप प्रक्रियाका लागि अनुशासन समितिसमक्ष सिफारिस गरेको छ ।

असन्तुष्टिबारे एन्फाभित्रै रहेर आवाज उठाउन सक्ने प्रावधान रहेकामा पत्रकार सम्मेलन गरी प्रचारबाजीमा लागेको भन्दै बैठकले काठमाडौंका विराजजंग शाही, ललितपुरका पुरुषोत्तम थापा, भक्तपुरका गौतम सुजखु र धादिङका दीपक खतिवडालाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

चुनावका क्रममा आर्थिक अनियमितताको दाबी गरी एन्फाका केही पदाधिकारीले मानार्थ अध्यक्ष टासी घलेसँग गरेको कुराकानीको टेप गत महिना सार्वजनिक गरिएको थियो । जहाँ मतदातालाई आर्थिक प्रलोभनमा पारिएको, विदेश भ्रमणमा लगेको तथा अदालतलाई पनि आर्थिक प्रलोभनमा पारेको दाबी छ । अडियो टेपमा मानार्थ अध्यक्ष घलेले महासचिव इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र श्रेष्ठ, सदस्यहरू मधुसुदन उपाध्याय, दावा लामा लगायतसँग चुनावी खर्चबारे कुराकानी गरेका छन् ।

असन्तुष्ट चार जिल्ला अध्यक्षले आर्थिक अनियमितताको दाबीसहित डिसेम्बर २२ मा एसियाली फुटबल महासंघ (एएफसी) मा उजुरी गरेका थिए । एन्फासँग त्यसको जवाफ एएफसीले एक साताअघि मागेको थियो ।

बैठकमा करिब ५ वर्षअघि बंगलादेश फुटबल संघको नाममा एन्फाले दिएको १५ लाख पेस्की फस्र्योटबारे पनि छलफल भएको थियो । पेस्की फस्र्योटका लागि तत्कालीन अध्यक्ष गणेश थापामार्फत रकममा एन्फामा दाखिला भएको छ । किर्ते हस्ताक्षर गरी विदेशी नागरिकका नाममा पेस्की लिएकोबारे पनि छानबिन हुने र अन्य पेस्कीका नाममा पनि करोडौं रहेकाले नियम पूरा गरेर मात्र दाखिला गरिने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी गराए ।

एजेण्डामा रहेर पनि बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्षबारे छलफल भएन । एन्फामा चार उपाध्यक्ष छन् । उनीहरूको वरीयताक्रम अहिलेसम्म तोकिएको छैन ।

ओलम्पिकको एसियाली छनोटको दोस्रो स्थान हासिल गर्ने नेपाली महिला राष्ट्रिय टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँ पुरस्कारस्वरुप दिने निर्णय पनि उक्त बैठकले गरेको छ । एएफसी यू–१९ च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुगेको महिला टोलीका सदस्यलाई पनि जनही २५ हजार दिइने भएको छ । साफ च्याम्पियनसिपका लागि प्रशिक्षणरत राष्ट्रिय महिला टोलीका ३० सदस्यले बोनसस्वरुप जनही १० हजार रुपैयाँ पाउने छन् ।

विराटनगरमा हुने महिला साफ च्याम्पियनसिप तयारीका लागि अध्यक्ष शेर्पाको नेतृत्वमा मूल आयोजक समिति र उपाध्यक्ष पंकज नेम्वाङको संयोजकत्वमा तयारी समिति बनाइएको छ । एन्फाको १८ औं साधारणसभा चैत ९ मा विराटनगरमा गर्ने निर्णय पनि गरिएको छ ।

प्रवक्ता किरण राईको संयोजकत्वमा लिग सञ्चालन कार्यविधि निर्माण समिति बनाइएको छ । समितिमा सदस्य विजय घले र लिग निर्देशक सन्जिव मिश्र रहने छन् । यो समितिलाई जिल्ला तथा प्रदेशस्तरीय लिग, फ्रेन्चाइज लिग, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने जिम्मेवारी छ ।

बैठकले राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठलाई अघिल्लो कार्यसमितिले वर्ष खेलाडीको रूपमा प्रदान गर्ने निर्णय गरेको अपार्टमेन्ट पुरस्कार अहिलेसम्म पनि नदिइएकाले प्रोत्साहनस्वरुप ५ लाख प्रदान गर्ने निर्णय गरेको छ ।

मोफसलमा हुने फुटबल प्रतियोगितालाई वर्गीकृत र व्यवस्थित गर्न केन्द्रीय सदस्य विजय घलेको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । यो समितिले अर्को वर्षदेखि प्रतियोगिता वर्गीकरण गर्दै जाने म्यान्डेट पाएको छ ।

आर्थिक वर्ष २०७६ को वार्षिक कार्यक्रम तयार पार्ने जिम्मेवारी उपाध्यक्ष वीरबहादुर खडाले पाएका छन् । हालै सम्पन्न

सहिद स्मारक ए डिभिजन लिगमा क्लबहरूलाई आर्थिक सहयोग गरी हौसला बढाएकोमा एन्फाले काठमाडौं र ललितपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित : माघ ४, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?