कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्डो–नेपाल आमन्त्रण खुला पुरुष भलिबल : आर्मीलाई उपाधि

माधव अर्याल

पाल्पा — चापाकोट नगरपालिका स्याङ्जाविरुद्ध कठिन जित निकाल्दै त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

इन्डो–नेपाल आमन्त्रण खुला पुरुष भलिबल : आर्मीलाई उपाधि

रामपुरमा जारी दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा सोमबार आर्मीले चापाकोट नगरपालिकालाई ३–२ सेटमा हराएको हो ।


पहिलो र दोस्रो सेट आर्मीले २५–१३, २५–१८ जितेको थियो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको चापाकोटले २५–२१, २५–२२ अंकसाथ खेल बराबरीमा ल्यायो । पाँचौं तथा अन्तिम सेटमा भने आर्मीले चापाकोटविरुद्ध एकपक्षीय खेल प्रदर्शन गर्‍यो र १५–७ अंकसाथ प्रतियोगिताको उपाधि उचाल्यो ।


जितसँगै आर्मीले १ लाख ५० हजार नगद हात पार्‍यो । दोस्रो भएको चापाकोट नगरपालिकाले १ लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो स्थानका लागि सोमबार नै भएको खेलमा इन्डियन रेल्वेज भारतले मणिमुकुन्द भलिबल क्लब, रूपन्देहीलाई ३–२ सेटले हरायो । इन्डियन रेल्वेजले मणिमुकुन्दविरुद्ध २५–१२, २१–२५, ३२–३४, २५–१८ र १५–१२ को सेटमा जित निकालेको हो ।


तेस्रो भएको इन्डियन रेल्वेजले ५० हजार रुपैयाँ हात पार्‍यो । आर्मीका धनबहादुर भट्ट प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट सर्भर त्रिभुवन आर्मीकै मानबहादुर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर त्रिभुवन आर्मीका ईश्वर थापा, उत्कृष्ट स्पाइकर चापाकोट नगरपालिकाका लक्ष्मण राना, उत्कृष्ट सेटर चापाकोट नगरपालिकाका लोकेन्द्र गिरी र उत्कृष्ट ब्लकर इन्डियन रेल्वेजका अभय घोषित भए । प्रतियोगितामा नेपालका पाँच र इन्डियन रेल्वेज गरी ६ टिम सहभागी थिए ।

प्रकाशित : माघ ८, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?