कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालयन शेर्पाको जित

पवन यादव

सिमरा — हिमालयन शेर्पा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै दसौं सिमरा गोल्डकप प्रतियोगिताको सेमिफाइनल पुगेको छ । 

हिमालयन शेर्पाको जित

बाराको सिमरामा जारी प्रतियोगिताको सोमबारको खेलको सुरुवातदेखि नै हिमालयनले पुलिसलाई दबाबमा राखेको थियो । ८५ मिनेटसम्म दुवै टिमले गोल गर्न सकेनन् । हिमालयन शेर्पाका जर्सी नं. १७ का खेलाडी त्रिदेव गुरुङले खेलको ८६ औं मिनेटमा गोलपोस्ट नजिकैबाट गोल गरे । त्यही गोल नै निर्णायक गोल हो भन्दै दर्शकले हिमालयनको पक्षबाट हुटिङ गर्न थालेका थिए ।


केही बेरमै हिमालयनका जर्सी नं. १० का खेलाडी विश्वास श्रेष्ठले सजिलै अर्को गोल थप्दै टिमलाई २–० को स्थितिमा पुर्‍याए । थपिएको ४ मिनेटको खेल अवधि सकिनुभन्दा एक मिनेट अगाडि उनले गोल थपेका थिए ।


खप्तड गोल्डकप जितेर धनगढीबाट लामो यात्राबाट थकित खेलाडीले सुस्ताउन नपाउँदै मैदानमा उत्रिएपछि हार व्यहोर्नुपरेको पुलिसका प्रशिक्षक अनन्त थापाले बताए ।


‘सुदूरपश्चिमबाट गाडी चढेर खेल्न यहाँ आइपुगेका हौं,’ उनले भने, ‘यस्तो अवस्थामा खेलाडीको पीरमर्का आयोजकले बुझी दिनुपथ्र्यो । हामीले आराम गर्ने समय नै पाएनौं । तर पनि खेलाडीले राम्रै मिहिनेत गरेका हुन् ।’ खुला अवसर बनाउन नसक्दा हार खेप्नुपरेको उनले बताए । खेलमा हेम तामाङको कमी महसुस गरिएको उनले बताए ।


हिमालयन शेर्पाका प्रशिक्षक सुबोध लिम्बूले बिरामी अवस्थामा पनि खेलाडीले नतिजा आफ्नो पक्षमा निकालेको जनाए । ‘धेरै समयपछि नकआउट खेल्न टिम बाहिर निस्केको हो,’ उनले भने, ‘टिमका १/२ जना खेलाडी बाहिर रहेकाले सोचेअनुसार प्रदर्शन गर्न सकिएन,’ उनले भने । मिडफिल्डर भीषण गुरुङलाई टिमले धेरै मिस गरेको उनले बताए । रुघाखोकी लागेर टिमका अधिकांश खेलाडी बिरामी रहेको प्रशिक्षकले जनाए ।


हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । उनलाई प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाकी प्रमुख किरण वज्राचार्यले ट्रफी र नगद हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित : माघ ८, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?