कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीसी अवार्डमा कोहलीको कीर्तिमान

एएफपी

दिल्ली — भारतीय कप्तान विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अवार्डमा वर्षका उत्कृष्ट क्रिकेटरसहित प्रमुख तीन उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

आईसीसी अवार्डमा कोहलीको कीर्तिमान

कोहलीको नेतृत्वमा भारतले हालै अस्ट्रेलियामा पहिलोपल्ट टेस्ट र वान–डे अन्तर्राष्ट्रिय शृंखला जितेको थियो ।


विश्व क्रिकेटको सर्वोच्च संस्थाले प्रदान गर्ने वार्षिक अवार्डमा कोहलीलाई टेस्ट र वान–डे अन्तर्राष्ट्रिय वर्षको उत्कृष्ट खेलाडीमा चुनिएको छ । पूर्व खेलाडी र भेट्रान पत्रकारको भोटका आधारमा वर्ष खेलाडी चुनिएको थियो । प्रदर्शनका आधारमा वर्ष २०१८ मा कोहली शीर्षस्थ ब्याट्सम्यान थिए ।


गत वर्ष उनले ५५.०८ को औसतमा १ हजार ३ सय २२ टेस्ट रन बनाए, जसमा ५ शतक सामेल थियो । उनले वान–डे अन्तर्राष्ट्रियमा ६ शतकसाथ १ हजार २ सय २ रन बनाएका थिए । कोहलीलाई लगातार दोस्रो वर्ष आईसीसी टेस्ट र वान–डे अन्तर्राष्ट्रिय टोलीको कप्तान बनाइएको छ । टोलीमा अन्य देशका उत्कृष्ट खेलाडी पनि समेटिएको छ ।


अस्ट्रेलियाका आरोन फिन्च लगातार दोस्रो वर्ष ट्वान्टी–२० अन्तर्राष्ट्रिय वर्ष क्रिकेटरमा चुनिएका छन् । उनले जुलाईमा जिम्बावेविरूद्ध हरारेमा १ सय ७२ रन बनाए, जुन ट्वान्टी–२० को व्यक्तिगत उच्च स्कोर पनि हो । भारतका ऋषभ पन्त इमर्जिङ खेलाडी र स्कटल्यान्डका कालुम म्याकलिओडले एसोसिएट वर्षको उत्कृष्ट खेलाडीमा चुनिए । २१ वर्षे पन्त इंग्ल्यान्डमा शतक बनाउने भारतका पहिलो विकेटकिपर हुन् । उनले डिसेम्बरमा एडिलेडमा ११ क्याच लिएर टेस्टमा सर्वाधिक सिकारको कीर्तिमान बराबरी गरेका थिए ।


भारतीय छनोटकर्ता पुरस्कृत

दिल्ली (एएफपी)– अस्ट्रेलियासँग हालैको क्रिकेट शृंखला जितेको टोली छनोट गर्ने भारतीय क्रिकेट छनोटकर्ताहरू पनि पुरस्कृत भएका छन् । इतिहास रच्ने टोली बनाएकोमा छनोटकर्तालाई झन्डै ३० हजार डलरबाट पुरस्कृत गरिएको छ ।


भारतले अस्ट्रेलियामा खेल्न लागेको ७१ वर्षमा पहिलोपल्ट टेस्ट शृंखला जितेको थियो । टेस्टलाई निरन्तरता दिनु अघि भारतले वान–डे अन्तर्राष्ट्रिय शृंखला पनि २–१ ले जितेको थियो । भारत र अस्ट्रेलियाबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला बराबरीमा टुंगिएको थियो ।


विराट कोहलीको कप्तानीमा रहेको भारतले अस्ट्रेलिया भ्रमणका क्रममा पहिलोपल्ट कुनै शृंखला गुमाएन । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसअघि नै खेलाडी र प्रशिक्षकलाई उक्त ऐतिहासिक सफलताका लागि नगद बोनस दिने घोषणा गरिसकेकोमा छनोट समितिका प्रत्येक सदस्यलाई भारु २० लाख (२८ हजार डलर) दिने निर्णय गरेको हो ।


‘पाँच सदस्यीय छनोट समितिले सन्तुलित भारतीय टोली छनोट गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् र उनीहरूले टिम व्यवस्थापनलाई काम गर्न धेरै विकल्पक दिएका थिए,’ भारतीय क्रिकेटका प्रशासक विनोद रायले विज्ञप्तिमा भनेका छन् । भारतकी पूर्व महिला कप्तान एवं क्रिकेट प्रशासक डियना इडुल्जीले पनि छनोटकर्ताको प्रशंसा गरेकी छन् । ‘हालै अस्ट्रेलियामा सफलता दिलाउने प्रत्येक सदस्यको कदर हुनुपर्छ,’ इडुल्जीले भनेका छन् ।


छनोटकर्तालाई नगदले पुरस्कृत गर्दा २०१७ मा बीसीसीआईको आलोचना पनि भएको थियो । भारतका पूर्व अलराउन्डर मदन लाल भने यो निर्णयमा आश्चर्य थिए । उनले छनोटकर्ताको काम नै खेलाडी छनोट गर्नु भएको बताए ।

प्रकाशित : माघ ९, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?