कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शृंखलामा भारतको अग्रता

एएफपी

नेपियर, न्युजिल्यान्ड — स्पिनरद्वय कुलदीप यादव र युजभेन्द्र चाहलको सानदार प्रदर्शनपछि न्युजिल्यान्डविरुद्धको पहिलो वान–डे खेलमा भ्रमणकारी टोली भारतले ८ विकेटको जित पाएको छ ।

शृंखलामा भारतको अग्रता

भारतका कप्तान विराट कोहलीका अनुसार उनले ३ सयभन्दा बढी रन बन्ने अनुमान गरेका थिए । तर, उनका बलरहरूले घरेलु टोलीलाई १ सय ५७ रनमै समेटेपछि नतिजा घोषणामा केवल औपचारिकता मात्र बाँकी रह्यो ।

‘टस हारेपछि मैले ३ सयभन्दा बढी रन बन्ने अनुमान गरिसकेको थिएँ । तर बलरहरूले यसरी खेलेर दबाब सिर्जना गरे कि मेरो अनुमान ठ्याक्कै विपरीत भयो,’ कोहलीले थपे, थपे, ‘तपाई सबैलाई थाहा छ कि यो विकेटमा १ सय ५० रनको लक्ष्य पछ्याउनु निकै सहज हुन्छ । यो सबै हाम्रा बलरको प्रदर्शनको उपज हो ।’

यादव र चाहलले स्पिन बलको सानदार नमूना पेश गरे । जसमा न्युजिल्यान्डले ६ महत्त्वपूर्ण विकेट गुमायो । मोहम्मद सामीले पनि ३ विकेट लिए पनि इनिङ्सको १२ ओभर बाँकी छँदै न्युजिल्यान्ड १ सय ५७ रनमा समेटियो ।

लक्ष्य पूरा गर्न २ रन बाँकी छँदा ३० मिनेट खाना समयको पहिलो ओभरमा सूर्यको किरणले खेल असहज भएपछि डकवर्थ लुइस प्रणालीअनुसार भारतलाई विजय घोषणा गरियो । लक्ष्य पूरा गर्न नपाए पनि ओपनर शिखर धवनले अविजित ७५ रन बनाएर आफ्नो काम पूरा गरिसकेका थिए । अर्का ओपनर रोहित शर्मा ११ र कप्तान कोहली ४५ रनमा आउट भएका थिए । अम्बाती रायडु १३ रनमा अविजित रहे ।

पराजित टोली न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भारतीय हमलाको सामना गर्न नसक्ने आफ्ना खेलाडीलाई दोषी ठहर्‍याए । ‘सामान्यत: यस विकेटमा ३ सय आसपास रन बनिरहेकै हुन्छ । तर निश्चित रूपमा हामीले त्यसो गर्न सकेनौं हामीले केही प्रयास बढाउनुपर्छ,’ उनले भने ।

न्युजिल्यान्डका लागि विलियम्सनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनलाई बाँकी कसैले पनि साथ दिएनन् । रस टेलरले २४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


कोहलीलाई आराम

दिल्ली (एएफपी)– भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले न्युजिल्यान्डविरुद्धको बाँकी दुई वान–डे खेलमा कप्तान विराट कोहलीलाई आराम दिने जानकारी दिएको छ । यसपछि हुने ट्वान्टी–२० शृंखलामा पनि उनी उपलब्ध हुने छैनन् ।


‘पछिल्ला केही महिनाको लगातारको खेल तथा अस्ट्रेलियाविरुद्धको घरेलु शृंखलालाई समेत मध्यनजर गरी आराम दिनु उपयुक्त हुने निर्णय टिम चयन समितिले गरेको छ,’ बीसीसीआईको विज्ञप्तिमा उल्लेख छ ।


बीसीसीआईले कोहलीको स्थानमा कसैलाई पनि पठाएको छैन । आगामी दुई वान–डे र ट्वान्टी–२० शृंखलाका लागि कप्तानी जिम्मेवारी भने रोहित शर्माले निर्वाह गर्नेछन् ।


आगामी मेमा इंग्ल्यान्ड र वेल्समा हुने वान–डे विश्वकपअघि भारत र अस्ट्रेलियाबीच दुई ट्वान्टी–२० र पाँच वान–डे शृंखला अर्को महिना सुरु हुँदै छ ।

प्रकाशित : माघ १०, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?