कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी र थ्रीस्टारको लक्ष्य एउटै, अभियान फरक

पवन यादव

सिमरा — बाराको सिमरा रंगशालामा भइरहेको दसौं सिमरा गोल्डकप फुटबलको उपाधि कस्ले जित्ला ? सिमरामा शनिबारसम्मका लागि चर्चाको विषय बनेको छ ।

आर्मी र थ्रीस्टारको लक्ष्य एउटै, अभियान फरक

नव जनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि निरन्तर हुँदै प्रतियोगिताको शनिबार हुने फाइनलमा साबिक विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।


थ्रीस्टारले हिमालयन शेर्पा र आर्मीले आयोजक नव जनजागृतिलाई समान १–० को झिनो गोल अन्तरले हराउँदै उपाधिमा दाबेदारिता प्रस्तुत गरेका हुन् । दुवै ‘ए’ डिभिजन लिगका प्रतिस्पर्धी हुन् ।


दुईपल्ट उपाधि जितिसकेको आर्मर्ीले लगातार दोस्रोपल्ट थ्रीस्टारको सामना गर्दै छ । गत वर्ष पनि थ्रीस्टारलाई हराउँदै आर्मीले उपाधि जितेको थियो । २०७१ सालमा सम्पन्न छैटौं संस्करण विजेता आर्मी चौथोपल्ट सिमरा गोल्डकपको फाइनल खेल्दै छ । आठौं संस्करणको फाइनलमा भने संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपाधि गुमाएको थियो ।


सिमरा गोल्डकप इतिहासमा मनाङ मस्र्याङ्दी र आर्मीले २–२ पटक उपाधि जितिसकेका छन् । तर मनाङले यसपल्ट सहभागिता जनाएन । यसपालि आर्मी तेस्रो पटक च्याम्पियन बन्दै प्रतियोगिताको सफल टोली बन्ने दाउमा छ । दोस्रोपल्ट फाइनल पुगेको थ्रीस्टार भने आर्मीसँग बदला लिने अभियानमा छ ।


एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नव जनजागृतिलाई १–० ले हराएको थियो । थ्रीस्टारले फाइनलसम्मको यात्रा तय गर्दा संकटालाई २–० र हिमालयन शेर्पालाई १–० ले पन्छाए । थ्रीस्टारका गोलकिपर एलन न्यौपाने गोल खाएका छैनन् । आर्मीका टंक बस्नेत र थ्रीस्टारका फोफाना फोडे समान २ गोलसहित सर्वाधिक गोलकर्ता सूचीमा अगाडि छन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिसाथ मैदान उत्रने शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा बताएका छन् ।


थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइनल जित्दै सिमरा गोल्डकपको सिल्डमा नाम लेखाउने प्रयासमा रहेको बताए । ‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचीमा नाम लेख्नु छ,’ आर्मीका पूर्व प्रशिक्षक उनले दाबीसाथ भने, ‘दुवै टिम जित्नका लागि मैदान उत्रन्छ नै । तर हामी आर्मीविरुद्ध विशेष तयारीसाथ उत्रन्छौं ।’


आर्मी र थ्रीस्टार दुवै टिमका खेलाडीले सिमरामा स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुवै टिमको प्रदर्शन प्रभावित भएको जनाए । ‘आर्मीकै कुरा गर्दा कतिपय देखिनुपर्ने अनुहार टिममा छैनन्,’ उनले भने, ‘थ्रीस्टारको पनि लिगपछि केही खेलाडी बाहिरिएका छन् । नयाँ आएकाहरू टिममा एडजस्ट भइसकेका छैनन् ।’


थ्रीस्टारका कप्तान विक्रम लामाले आर्मीसँग खेल्नु आफूहरूका लागी एउटा सुनौलो अवसर भएको बताए । ‘उच्च फर्ममा रहेको आर्मीसँग खेल्दा हामीले केही नयाँ कुरा सिक्ने अवसर पाउँछौं,’ उनले भने, ‘हाम्रा लागि यो अवसर सौभाग्यपूर्ण छ । हामी उपाधि उचाल्ने मौका आफ्नो हातबाट खेर जान दिँदैनौं ।’


फाइनलका दुवै टोली राम्रो भएका कारण खेल बराबरीको हुने आर्मीका प्रशिक्षक नवीन न्यौपाने बताउँछन् । ‘जसले मौकाको सदुपयोग गर्नसक्छ उसले नै बाजी हात पार्छ,’ उनले भने, ‘फाइनल पुगेका दुवै टिम सशक्त हुने भएकाले विशेष रणनीति र मिहिनेत जरुरी पर्छ ।’


एक साताअघि वीरगन्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकप जितेको आर्मीले त्यसको भोलिपल्टै सिमरा गोल्डकप खेलेको स्मरण गर्दै प्रशिक्षक न्यौपानेले टिमका केही खेलाडीलाई मिस गरेको बताए ।


उनका अनुसार लिगपछि नवयुग श्रेष्ठ, दिनेश हेम्जनलगायतका केही खेलाडी आर्मी टोलीमा छैनन् । ‘उनीहरूलाई पक्कै मिस गरेका छौं । वीरगन्जमा उनीहरूबिनाको टिमले उपाधि जितिसकेकाले अरु खेलाडी पनि सक्षम देखिएका छन् । लिगपछि पहिलोपल्ट नकआउट फुटबलमा थ्रीस्टारसँग भिड्न लागेकाले यस खेललाई महत्वसाथ लिएका छौं,’ प्रशिक्षक न्यौपानेले भने ।


थ्रीस्टार प्रशिक्षक केसीले लिगपछिको यस सिजनमा आाफूहरूले भाग लिएको दुई प्रतियोगितामध्ये दुवैमा फाइनल पुगेकाले मनोबल उच्च बनेको बताए ।

उपाधि रक्षाका लागि कडा संघर्ष गर्ने आर्मी प्रशिक्षकको दाबी रहँदा सिमरा गोल्डकमा इतिहास कोर्ने अभियानमा आर्मीविरुद्ध खरो उत्रने थ्रीस्टार प्रशिक्षकले भनाइ छ ।


आर्मीको तर्फबाट प्रशिक्षक नवीन न्यौपाने र टिम म्यानेजर चुनबहादुर थापा तथा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी र कप्तान विक्रम लामा प्रिम्याच कन्फ्रेन्समा ट्रफी उचालेका थिए । आर्मी कप्तान भरत खवास सहभागि थिएनन् ।

प्रकाशित : माघ १२, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?