नेपाललाई यूएईसँगको ट्वान्टी–२० शृङ्खला

वर्षाले प्रभावित खेल १०–१० ओभरमा झारिएको थियो
कान्तिपुर संवाददाता

काठमाडौँ — एकदिवसीय अन्तर्राष्ट्रियपछि नेपालले यूएई विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पनि जित हासिल गरेको छ । नेपालले पहिलोपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । यसअघि नेपालले नेदरल्याण्ड्स र हङकङसँग शृङखला खेलेको थियो । दुवैमा नेपाल पराजित भएको थियो । 

तीन खेलको शृङ्खलाअन्तर्गत तेस्रो तथा निर्णायक खेलमा आइतबार १४ रनको जितसँगै नेपालले शृङ्खला २–१ ले जितेको हो। नेपालले पहिलो खेलमा बिहीबार २१ रनले हारेको नेपालले दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो।

दुवईस्थित आईसीसी एकेडेमी ओभलमा वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। कप्तान पारस खड्काको २९ र डेब्यू शृङ्खला खेलेका सन्दीप जोराको २८ रनको सहयोगमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो।

ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि नेपालले तेस्रो खेलमा पनि राम्रो सुरुआत गर्न सकेन। कप्तान पारसले एउटा एण्डबाट रन बटुलिरहँदा अर्को एण्डबाट ज्ञानेन्द्र मल्ल ११ र दीप्न्द्र सिंह ऐरी २ रनमा आउट भए।
पारसले १४ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्बाधिक २९ रन बनाए।

जवाफमा सन्दीप जोरा र विनोद भण्डारीले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफल बनाएको हो। ११ बल खेलेर जोराले ३ छक्कासहित २८ रन बनाउँदा १३ बलमा २ चौका र १ छक्कासहित विनोदले २१ रन जोडे। करण केसीले पनि १० रन बनाए। यूएईका मोहम्मद नभिद र अमिर हायतले २/२ विकेट लिए।

१ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो। करण केसी अभिनाश बोहोरा र ललितनारायण राजवंशीले २/२ विकेट लिएसँगै यूएईको इनिङ कमजोर बन्यो। सोमपाल कामीले नेपालको विकेट खाता खोलेका थिए। सन्दीप लामिछानेले पनि १ विकेट लिए।

यूएईका घुलामा शब्बरले १५ बलमा २५, साइमन अनवारले २० बलमा ३० र मोहम्मद बोताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।दुवै शृङ्खला जितेर नेपाली टोली सोमबार स्वदेश फर्कँदैछ।

........
यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको छ। दुबई स्थित आईसीसी एकेडेमी ओभलमा खेल सुरु हुनु अगाडि वर्षा भएकाले खेल १०–१० ओभरमा झारिएको छ।

नेपालले प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाएको छ। विनोदले नै नेपालबाट विकेटकिपिङ गर्नेछन्।
शृङ्खला १–१ को बराबरीमा रहेको छ। युएईले पहिलो खेल २१ रनले जितेको थियो। नेपालले दीपेन्द्रसिंह ऐरीको अविजित ४७ रनमा ४ विकेटले जित्दै ३ खेलको शृङ्खला बराबरीमा ल्याएको थियो।नेपालले ३ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला यसअघि नै २–१ ले जितेको थियो।

प्रकाशित : माघ २०, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

नवनियुक्त राजदूत आचार्यले लिए शपथ

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई भारतको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । 


आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराइन्।

मन्त्रिपरिषद्को हालैको निर्णय अनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका थिए। नेपालको इतिहासमा राष्ट्रप्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो। राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन्।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो।

प्रकाशित : माघ २०, २०७५ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्