रिस्सो सेमिफाइनलमा

दीपक परियार

लेखनाथ — पहिलो हाफ सम्हालिन नसक्दा ए डिभिजन टोली नेपाल पुलिस क्लब मंगलबार जापानको विश्वविद्यालयका खेलाडीसम्मिलित रिस्सो युनिभर्सिटी टिमसँग छैटौं मनकामना केबलकार पोखरा कपको क्वाटरफाइनलमा १–० ले पराजित भएको छ ।

पोखरा कपमा मंगलबार प्रतिस्पर्धा गर्दै रिस्सो युनिभर्सिटी (हरियो) र पुलिस क्लबका खेलाडी । म्यान अफ द म्याच घोषित जापानका नात्सुकी ताकेदा (दायाँ) । तस्बिर : दीपक/कान्तिपुर

पोखरा रंगशालामा जापानी युवा खेलाडीसामु पुलिसका अनुभवी खेलाडी फिक्का देखिए । पहिलो हाफमा विपक्षीलाई कमजोर आँकलन गर्नु पुलिसलाई भारी पर्‍यो । रिस्सोले सेमिफाइनलतर्फ यात्रा बढाउँदा पुलिस प्रतियोगिताबाट बाहिरिने दोस्रो विभागीय टिम बन्यो ।

पुलिसले हालै सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल सुदूरपश्चिम खप्तड गोल्डकप जितेको थियो । फरक पृष्ठभूमिका टिमसँग प्रतिस्पर्धा गर्नु दुवै टोलीको चुनौती थियो । बाजी भने आमन्त्रित जापानी टोलीले मार्‍यो ।

‘टेक्निकल’ खेल खेलेका रिस्सोका खेलाडीको प्रदर्शनमा सुरुदेखि नै दर्शक लोभिए । १९ औं मिनेटमा राइट विंगर यासुताका सुजुकीले गोल गरे । उनले नात्सुकी ताकेदाको पासमा गोल गरे । ताकेदाले पेनाल्टी एरियाबाहिरबाट मिलाएको पासलाई सुजुकीले वान टचमै पोस्टको दिशा दिए । जापानीको खेल बुझ्नै समय लागेको पुलिसलाई एक गोलले थप हतास बनायो । पहिलो हाफमै रिस्सोलाई केही अवसर मिल्यो । ताकुया हितोमीले डिफेन्सलाई बिट गर्दै हानेको बल पुलिसले कठिनसँग बचायो ।

खेलको ३३ औं मिनेटमा हितोमीकै कर्नरलाई ताकुतो योसिनाले हानेको हेड प्रहार बाहिरियो । ३८ औं मिनेटमा रिस्सोले थप अवसर सिर्जना गर्‍यो । दाइची ओगावाको हेडिङलाई पुलिसका कप्तान विक्रम धिमालले गोललाइनबाट क्लियर गर्दै गोल थपिनबाट जोगाए । गोलकिपर बिट भइसकेको अवस्थामा विक्रमले क्लियर गरेका थिए । ४२ औं मिनेटमा कप्तान हिरोतो होसिकावाको लामो कडा प्रहारलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए ।

रिस्सोको खेलको भेउ पाएपछि दोस्रो हाफमा पुलिसले केही सुधार ल्यायो । फिनिसिङमा भने बारम्बार चुक्यो । आफूलाई सुधारेर बनाएका दुई उत्कृष्ट मुभमा स्कोर हुन नसक्दा पुलिस खेलमा फर्किने सम्भावना टर्‍यो । ६८ औंं मिनेटमा रवि पासवानले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलकिपरबाट रिबाउन्ड भयो । त्यसलाई पेनाल्टी एरियाबाट भरत शाहले जाली चुमाउन खोजे ।

उक्त बल पनि गोलकिपर तेइता मित्सुमोरीले पन्च गरेर बचाए । रिस्सोका डिफेन्सले बल क्लियर गर्दा खेललाई बराबरीमा पुर्‍याउने पुलिसको चाहनामा तुषारापात भयो । ७६ औं मिनेटमा पुलिसले अर्को अवसर बनायो । नीरकुमार राईले २० यार्डबाट बार च्यापेर गरेको कडा शट पोस्ट नजिकबाट बाहिरियो । रिस्सोका नात्सुकी ताकेदा म्यान अफ द म्याच भए ।

रिस्सोका प्रशिक्षक ताकेसा तोकाइरिनले विपक्षीको खेलको अवस्था थाहा नहुँदा नहुँदै पनि मैदानमा होमिएको बताए । उनले लामो यात्राको थकान भएकाले आफ्ना खेलाडीले अझै शतप्रतिशत दिएर खेल्न नसकेको सुनाए । उनले भने, ‘मैदानसँग परिचित भएपछि र खेलाडी फिट भएको अवस्थामा सेमिफाइनलमा हाम्रो प्रदर्शन सुधारिने छ ।’

पुलिसका प्रशिक्षक अनन्त थापाले विपक्षीको क्षमतालाई कम आँकलन गर्दा पहिलो हाफमै गोल खानुपरेको प्रतिक्रिया दिए । उनले भने, ‘जापानी टिमसँग खेल्न पाउनु हाम्रा लागि अवसर हो । यसले नेपाली फुटबलको लेभल कस्तो छ भन्ने छर्लंग देखाएको छ । आधुनिक फुटबल कसरी खेलिन्छ भन्ने जापानी टिमले प्रदर्शन गर्‍यो । सुरुमा युवा टिम देखिएकाले जित्छौं भन्ने लागेको थियो । तर गोल खानु नै टर्निङ प्वाइन्ट बन्यो ।’

बुधबार अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङदीले बिग्रेड ब्वाइजसँग खेल्नेछ । बिग्रेडले घरेलु टोली पोखरालाई हराएको थियो ।

प्रकाशित : माघ २३, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटन र अतिथि केन्द्र

कान्तिपुर संवाददाता

पोखरा — पोखरा प्राविधिक शिक्षालयलाई पर्यटन र आतिथ्यता क्षेत्रको उत्कृष्टता केन्द्रको रूपमा विकास गरिने भएको छ । शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) अन्तर्गतको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको पोखरा प्राविधिक शिक्षालय ।तस्बिर : लालप्रसाद शर्मा/कान्तिपुर

परिषद्ले युरोपेली युनियन (ईयू) सँगको सहकार्यमा शिक्षालयलाई उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने गत शुक्रबार घोषणा गरेको छ । शिक्षालयका प्राचार्य जीवनप्रसाद भण्डारीका अनुसार डेढ महिनाभित्र रणनीतिक योजनासहितको विस्तृत कार्ययोजना बनाएर ईयूलाई बुझाउने र सोहीअनुसार आर्थिक सहयोग प्राप्त हुनेछ । ‘हामीले कार्ययोजना बनाएर दिएपछि ईयूले संस्थागत सुधारका लागि आर्थिक सहयोग दिनेछ,’ उनले भने, ‘निजी क्षेत्र, पोखरा महानगरलगायत सरोकारवालासँगको समन्वय र सहयोगमा पर्यटन र आतिथ्यता क्षेत्रमा उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने उद्देश्य हो ।’ उनले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले केन्द्र घोषणा गर्दै प्रतिफल देखिने गरी कार्ययोजना बनाएर अघि बढ्न सुझाइन् । स्थानीय स्रोतसाधनमा केन्द्रित रही पर्यटन क्षेत्रको माग र आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ थियो । अहिलेसम्म केकस्ता व्यक्तिलाई के कस्तो तालिम दिइएको भन्ने यकिन तथ्यांक नरहको भन्दै उनले एक व्यक्ति एक सीपको अवधारणामा जानुपर्ने बताइन् । महानगर प्रमुख मानबहादुर जिसीले दाताको दबाबमा नभई आफ्नो आवश्यकतामा केन्द्रित रहेर कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । ‘आवश्यकता र चाहना अनुसारको तालिम दिने हो भने दाता चाहिँदैन । महानगरले नै खर्चको व्यवस्थापन गर्न सक्छ,’ उनले भने, ‘विदेशिने गरी जनशक्ति पनि तयार पार्नु भएन ।’

निर्माण, कृषि र पर्यटन क्षेत्रमा काम गरिरहेको शिक्षालयले पर्यटकीय सम्भावनालाई मध्यनजर राख्दै सोही क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउन लागेको हो । यसले पर्यटनको उत्कृष्ट केन्द्र बनेपछि अन्तर्राष्ट्रिय क्षेत्रको समेत थप आकर्षण बढ्ने विश्वास लिइएको छ । परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ उत्कृष्ट केन्द्र घोषणा गरिएको बताए । ‘काम हामीले नै गर्ने हो । ईयूले सहयोग मात्र गर्ने हो’ उनले भने, ‘घोषणा ठूलो कुरा होइन, उत्पादन र उत्पादकत्व बढ्ने गरी दक्ष जनशक्ति तयार पारेर कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो ।’ यसमा परिषद् र शिक्षालय गम्भीर रहेको उनले बताए ।

युरोपेली युनियनकी राजदूत भेरोनिका कोडीले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रम ४८ महिनाको हुनेछ । परिषद्को सक्षमता परियोजना संयोजक गेहेन्द्र कार्की, परिषद् गण्डकी प्रदेश निर्देशक भुवनेश्वर ढुंगाना, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उत्कृष्ट केन्द्र व्यावहारिकरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सबैले महसुस गर्नेगरी कार्यक्रम अघि बढाउनुपर्ने बताए । ‘दक्ष जनशक्ति र रोजगारदाताबीच जोडिने गरी काम गर्नुपर्छ’ उनले भने, ‘अधिकारसँगै कर्तव्यमुखी हुनुपर्‍यो ।’

कार्कीले पर्यटन व्यवसायमा बजार सान्दर्भिक हुनेगरी दक्षतामा आधारित तालिम प्रदान गर्न प्रशिक्षार्थी तथा प्रशिक्षक, कर्मचारीलाई तालिम व्यवस्था, आवश्यक उपकरण र कार्यशालाको सुविधामा वृद्धि गरी पर्यटन उद्योगसँग सक्रिय सहभागितामूलक सहकार्य गर्ने बताए । कार्यक्रममा राजदूत कोडीले प्राचार्य भण्डारीलाई गाडीको साँचो हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित : माघ २३, २०७५ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्