बुढासुब्बा गोल्डकप : पुलिस सेमिफाइनलमा

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा सोमबारमा नेपाल पुलिस क्लबले पोखराको सहारा क्लबलाई सडनडेथमा हराउँदै सेमिफाइनल पुगेको छ । 

बुढासुब्बा गोल्डकपमा सोमबार बलका लागि जुध्दै पुलिस (रातो) र सहाराका खेलाडी । म्यान अफ द म्याच पुलिसका नीरकुमार राई । तस्बिर : प्रदीप/कान्तिपुर



Citizen

सडनडेथमा भरत शाहको पेनाल्टी गोल भएपछि पाँचपल्टको विजेता पुलिसले आफ्नो जित यात्रा कायम गरेको छ । सहाराका अन्जन देवकोटाको प्रहार पोस्टमाथि आकासिएपछि पुलिस अन्तिम चारमा पुग्यो । पुलिसले अब डफिन्स क्यामरुन र एपीएफबीचको विजेतासँग फागुन ३ मा फाइनल पुग्नका लागि खेल्नेछ ।

यसअधि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा पुगेको थियो । सुरुआती ५–५ पेनाल्टीमा ३–३ गोलको बराबरी भएको थियो । त्यसपछि सडन डेथबाट नतिजा निकालिएको हो ।

पेनाल्टी शुटआउटमा पुलिसका अजित भण्डारी, देवेन्द्र तामाङ, सुमन सुवेदीले गोल गरे भने तेज तामाङ र हरि कडायतले पेनाल्टी चुकाए । सहाराका विश्व अधिकारी, विनोद गुृरुङ र जनक कार्कीको पेनाल्टीमा गोलमा परिणत हुँदा गोविन्द थापाको प्रहार गोलकिपरले रोके भने रमेश मगरको प्रहार पोलमा ठोक्किएर बाहिरियो ।

यो सिजनको खप्तड गोल्डकप विजेता पुलिसले खेलअवधिभर खासै प्रदर्शन गर्न सकेन । दबाबमा खेलेको पुलिसलाई ३३ औं मिनेटमा नीरकुमार राईले गोल गर्दै अग्रता दिलाए । उनले रवि पासवानको पास उपयोग गरे । त्यसलाई सहाराले ८४ औं मिनेटमा पेनाल्टी गोलमार्फत बराबरी गरेको थियो । सहाराका विश्व अधिकारीले पेनाल्टीमा गोल गरे । उनले पुलिसका अजित भण्डारीको ह्यान्डबल प्राप्त पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

यस सिजन पहिलो स्पर्धाको रूपमा बुढासुब्बा गोल्डकपमा निस्केको सहाराले पुलिसविरुद्ध चारपल्टभन्दा बढी गोल गर्ने अवसर पाएको हो । आठौं मिनेटमा टंक गुरुङको पासमा सुशील लामाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

६० औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले असफल बनाए । लगत्तै विश्वकै पासमा सुशीलले गरेको प्रहार पुलिसका देवेन्द्र तामाङले क्लियर गरिदिएका थिए । अन्तिम समयमा करिव एडिज्युकको प्रहार गोलरक्षक शत्रुधनले मुस्किलले बचाएका थिए ।

पुलिसले गोल गर्ने अवसर खासै निकाल्न सकेन । नवौं मिनेटमा भरत शाहको फितलो प्रहारलाई गोलरक्षक लक्कीकुमार कार्कीले सहजै बचाए । खेलको १९ औं मिनेटमा पुलिसका नीरकुमारको प्रहार सहाराका साहिदले फर्काएर गोल हुनबाट बचाएका थिए ।

तीर्थ रानामगरले ४० औं मिनेटमा वान भर्सेज वान अवस्थामा हतारिएर प्रहार गर्दा लक्कीले जोगाए । विजयी भए पनि सन्तुष्ट नभएका पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्ना खेलाडीले थप सुधार गनुपर्ने अवस्था देखिएको बताए । उनले भने, ‘सहाराले भन्दा राम्रो खेले पनि गोल गर्ने अवसर निकाल्न चुक्यौं । सेमिाइनलमा राम्रो खेलेर जित्नुको विकल्प छैन ।’

सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले खेल रणनीतिअनुसारै खेलिएको बताए । उनले भने, ‘तर खेलाडी स्कोर गर्न चुके ।’ मंगलबार आयोजक धरान फुटबल क्लब र कोलकाताको डल हाउस एथलेटिक्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ २९, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अरुण तेस्रोको सुरक्षाप्रति भारतको चासो

मन्त्री पुनले लगानीको सुरक्षाका लागि जुनसुकै किसिमको कदम चाल्न नेपालको प्रतिबद्धता दोहोर्‍याए 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले संखुवासभा जिल्लामा निर्माणाधीन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरक्षालाई लिएर चासो व्यक्त गरेको छ । 

नयाँ दिल्लीमा सोमबार जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन (बायाँ) भारतका ऊर्जा राज्यमन्त्री आरके सिंहका साथ । तस्बिर: नेपाली दूतावास नयाँदिल्ली

भारतका केन्द्रीय राज्यमन्त्री आरके सिंहले भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको शिष्टाचार भेटमा चासो व्यक्तगरेका हुन् ।

भारतीय सरकारी कम्पनी सतलजको लगानीमा निर्माण भइरहेको ९०० मेगावाट जडित क्षमताको उक्त आयोजनाका कार्यालयहरूमा समयसमयमा भइरहेको भौतिक आक्रमणलाई लिएर भारतले चासो व्यक्त गरेको हो । गत साता परियोजनाको तुम्लिङटारस्थित साइट कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

उक्त भेटमा सँगै रहेका एक सरकारी अधिकारीका अनुसार मन्त्री पुनले लगानीको सुरक्षाका लागि जुनसुकै किसिमको कदम चाल्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत अरुण तेस्रो परियोजनाको उत्पादन लाइसेन्स भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत् निगम पावर डेभलपमेन्ट कम्पनीले पाएको थियो । परियोजनाको औपचारिक शिलान्यास गत वर्ष दुवै मुलुकका प्रधानमन्त्रीले गरेका थिए ।

सतलज र नेपाल सरकारबीच भएको परियोजना विकास सम्झौता (पीडीए) अनुसार स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण हुने यो परिजोनाको स्वामित्व २५ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण हुनेछ ।

कम्पनीबाट नेपालले १ खर्ब ७ अर्ब रुपैयाँ रोयल्टी पाउनेछ । पीडीए सम्झौताअनुसार पाँच वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको परियोजनाबाट नेपालले २१.९ प्रतिशत बिजुली सित्तैमा पाउनेछ । भेटमा भारतीय पक्षले ४०० मेगावाटको तल्लो अरुण निर्माणका लागि पनि इच्छा व्यक्त गरेको थियो । भेटमा भारतीय मन्त्री सिंहले अरुण तेस्रो लागि गरिएको सर्त तथा प्रावधानअनुसार यदि नेपालले मान्छ भने आफूहरू तल्लो अरुण पनि विकास गर्न चाहेको बताएका थिए ।

जवाफमा मन्त्री पुनले अरुण तेस्रोको काम केहीअघि बढेपछि त्यसले सकारात्मक सन्देश प्रवाह हुने र त्यसपछि त्यही सकारात्मक माहोलमा सकारात्मक निर्णय गर्न सकिने कूटनीतिक जवाफ दिएका थिए । सन् २०१२ मा सरकारले परियोजनाको उत्पादन लाइसेन्स ब्राजिलियन कम्पनी ब्रास पावरलाईदिएको थियो । पचास प्रतिशतभन्दा बढी बिजुली भारत निर्यात गर्ने गरी लाइसेन्स हात पारेको पावरले लामो समयसम्म पनि परियोजना अघि बढाउन सकेको छैन ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार भेटमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन, एनर्जी बैंकिङ, बुटवल–गोरखपुर प्रसारण लाइनका सम्बन्धमा पनि भेटमा छलफल भएको थियो । केहीअघि पोखरामा भएको दुई देशका ऊर्जासम्बद्ध अधिकारीहरूको बैठकमा एनर्जी बैंकिङमा सहमति बनेको थियो ।

भेटमा उक्त सहमतिलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो । नेपालमा विद्युत् ऊर्जा बढी भएका बेला भारतमा अत्यधिक माग हुने र भारतमा कम माग हुने हिउँदमा नेपालमा बिजुली अपुग हुने भएकाले यो असन्तुलन सम्बोधन गर्न दुवै मुलुक इनर्जी बैंकिङको अवधारणा लागू गर्न सहमत भएका हुन् ।

विशेषगरी दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसी आगामी वर्ष सम्पन्न हुने र त्यसपछि वर्षायाममा बिजुली खेर जाने भएकाले नेपाली पक्षले भारतसमक्ष त्यसअघि नै एनर्जी बैंकिङ कार्यान्वयनमा ल्याउन आग्रह गर्दै आएको छ । आजको भेटमा भारतीय पक्षले एक वर्षभित्रै एनर्जी बैंकिङ कार्यान्वयनमा ल्याउने सम्बन्धमा आवश्यक नीतिगत र कानुनी व्यवस्था पूरा गर्न तयार रहेको जवाफ दिएको स्रोतले बताएको छ ।

त्यसैगरी ४०० केभीको १३० किमि बुटवल–गोरखपुर प्रसारण लाइनको लागत व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको छ । यसमा नेपालले लागतको व्यवस्थापन टुंगो लगाउँदा प्रसारण लाइनको प्रयोग सुरुका केही वर्ष आयातका लागि गर्ने भए पनि त्यसपछि मूलत: भारत निर्यातकै लागि प्रयोग हुने कुरालाई पनि ध्यान दिनुपर्ने बताउँदै आएको छ ।

भारतले भने यसलाई व्यापारिक कोणबाट हेर्नुपर्ने तर्क राख्दै आएको छ । भेटमा दुवै देशका सरकारको अनुदानमा बनाउने वा जोखिम बाडँफाँड गर्ने भन्ने विकल्पको विस्तृत लेखापरीक्षण गरेर टुंगोमा पुग्ने समझदारी पनि बनेको छ ।

प्रकाशित : माघ २९, २०७५ ०९:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT