कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढासुब्बा गोल्डकप : आयोजक धरान सेमिफाइनलमा

सुनसरी — बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार धरान रंगशालामा आयोजक धरान फुटबल क्लबले कोलकाताको डेल हाउस एथलेटिक्स क्लबलाई २–० गोलले पराजित गर्दै सुरुमै घर पठाएको छ । 

बुढासुब्बा गोल्डकप : आयोजक धरान सेमिफाइनलमा

पाहुना टोलीविरुद्ध धरानका खेलाडीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । धरानले फागुन २ मा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

धरानको जितमा मिलन राईले नवौं मिनेट र म्यान अफ द म्याच वर्तमान राईले २३ औं मिनेटमा गोल गरेका थिए । मैदानको मध्यभागमा विपक्षी खेलाडीबाट बल खोसेर एक्लै अगाडि बढाएका मिलनले गरेको कडा प्रहार सिधै गोलमा परिणत भयो । पेनाल्टी बक्सभित्र विपक्षी गोलरक्षक एस सिंह बिट भएर अगाडि बढेको मौकामा वर्तमानले ‘चिप’ शट प्रहार गर्दै दोस्रो गोल गरेका थिए ।


आयोजकले प्लेइङ सेट स्थानीय खेलाडीलाई मात्र समावेश गरेको थियो । स्थानीय खेलाडी भए पनि उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । यसअघिका सबै प्रतियोगितामा धरान फुटबल क्लवले धरान बाहिरका स्थापित खेलाडीलाई समावेश गरेर खेलाउँदै आएको थियो ।


आयोजक धरानको थप गोल गर्ने थुप्रै प्रयास खेर गएको थियो । खेलको ५० औं मिनेटमा वर्तमानको क्रस पासमा मिलनको प्रहार गोलरक्षक सिंहले बचाएका थिए । ६५ औं मिनेटमा सुजन लिम्बुले दिएको ब्याक पासलाई फेरि मिलनले प्रहार गरे पनि बाहिरियो । त्यसलगत्तै विपक्षीले वर्तमानलाई लडाएपछि मिलनले प्राप्त फ्रिकिक प्रहार गर्दा गोलरक्षक सिंहले मुस्किलले बचाए । खेलको इन्ज्युरी समयमा हेमन्तको पासमा मिलनको प्रहार गोलरक्षक सिंहले खुट्टाले जोगाए ।


पश्चिम बंगाल कोलकाताको सुपर लिगमा दुईपल्ट उपाधि विजेता रहिसकेको डेलहाउस एथलेटिक्स क्लब गोल फर्काउन प्रयासरत रहे पनि असफल भयो । पहिलो गोल खाएपछि ‘नर्भस’ जस्तै देखिएका डेलहाउसका खेलाडीले दोस्रो हाफमा आक्रामक खेले पनि फिनिसिङ राम्रो हुन सकेन ।


खेलको १६ औं मिनेटमा जी मण्डलको पासमा आर शर्माले हेड गर्नु अघि नै गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए । लगत्तै डी एलेनाको प्रहार पनि विनयले जोगाए । ४४ औं मिनेटमा ए रोयको सशक्त प्रहारले पोस्टको दिशा लिन सकेन । ७३ औं मिनेटमा डी विश्वासले बक्सभित्रबाट गरेको प्रहारलाई डिफेन्डरले जोगाए ।


आयोजक धरानका प्रशिक्षक सागर घिमिरेले चार वर्षयताकै उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । उनले भने, ‘सबै खेलाडी धरानकै भएकाले आफ्नो क्लबका लागि राम्रो प्रदर्शन गरे । गोल गर्ने अवसर अरु पनि थिए तर थप स्कोर गर्नमा भने चुक्यौं ।’


डेलहाउसका प्रशिक्षक सुप्रियदास गुप्ताले नयाँ खेलाडी भएकाले टिम सेट नहुँदा हार बेहोर्नुपरेको बताए । उनले भने, ‘कोलकातामा प्रिमियर लिग र सुपर लिग खेले पनि दुई वर्षयता अहिले अधिकांस नयाँ खेलाडी छन् । भर्खरदेखि उनीहरू ठूला प्रतियोगिताको अभ्यासमा रहेका छन् । त्यसैले गोल खाएपछि खेलमा फर्कन गाह्रो भयो ।’बुधबार क्वाटरफाइनलमा एपीएफ क्लब र डफिन्स क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ २९, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?