कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंको जित निरन्तर

धनगढी र महेन्द्रनगर अप्ठयारोमा

धनगढी — उपाधि दाबेदार मानिएका धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडमाथि दबाब चुलिँदो छ । लगातारको हारपछि सुदूरपश्चिमका यी दुई फ्रेन्चाइज टोली रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अप्ठयारो स्थितिमा पुगेका छन् ।

काठमाडौंको जित निरन्तर

दुईपल्टको डिफेन्डिङ च्याम्पियन धनगढी बुधबार लगातार तेस्रो खेलमा पराजित भयो ।


विराटनगर किंग्सले धनगढीलाई २१ रनले हराएर पहिलो सफलता हात पार्‍यो । महेन्द्रनगर पनि लगातार दोस्रो पराजय बेहोर्न बाध्य भयो । टोलीलाई काठमाडौं गोल्डेन्सले ७ रनले हरायो । त्यस विपरीत रूपन्देही च्यालेन्जर्सजस्तै काठमाडौंले पनि लगातार दुई खेल जितेको छ ।


राउन्ड रोबिन लिगमा एकले अर्कासँग खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । त्यसमा शीर्ष दुई टोली क्वालिफायर्स १ खेल्ने छन् र विजेता टोली फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने खेलको विजेतासँग प्रतिस्पर्धा गरेर फाइनल पुग्ने बाटो समाउने छ । धनगढी र महेन्द्रनगरबीचको खेलमा पराजित हुने टोली प्रतियोगिताबाटै बाहिरिने समीकरण बन्ने सम्भावना पनि प्रबल छ ।


‘हामीले अझै लय नै समात्न सकिरहेको छैनौं । जित पाऐपछि एउटा लय आउँछ, त्यो आउनै सकेको छैन । पहिलो इनिङ्समा हामीले बलिङमा निकै राम्रो गर्‍यौं तर त्यसलाई ब्याटिङमा फिनिस गर्न सकिरहेका छैनौं, ब्याट्सम्यानहरूले सुरुआत पाए पनि त्यसलाई टुंग्याउन सकेका छैनन्,’ धनगढी कप्तान सोमपाल कामीले भने, ‘पावर प्ले निकै महत्त्वपूर्ण हुन्छ, तर हाम्रो यसैमा विकेट खसिरहेको छ । नयाँ ब्याट्सम्यानलाई भित्र गएर खेल्न गाह्रो भइरहेको छ । हामीले रन पनि बनाउन सकिरहेको छैनौं ।’


आगामी दुई खेल राम्रो खेलेरमात्र नपुग्ने भएकाले उनी टोलीको प्लेअफमा पुग्ने सम्भावना आफ्नो हातमा नरहेको स्विकार्छन् । अघिल्लो दिन धनगढी टिम छिमेकी सीवाईसी अत्तरियासँग खेल्दा ९६ रनको लक्ष्य पछ्याउन पनि असमर्थ रहेको थियो । फाप्ला क्रिकेट मैदानमा बुधबारको खेल पनि लगभग त्यस्तै रह्यो धनगढीको हकमा ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३ रन बनायो । जवाफमा धनगढी १९ ओभरमा ८२ रनमै अलआउट भयो । भारतीय बलर अविनाश यादवले १९ औं ओभरमा सोमपाल (४), सौरभ खनाल (४) र विपिन खत्री (०) लाई आउट गरी विराटनगरलाई विजयी बनाए ।


खेलका वास्तविक हिरो कप्तान करण केसी रहे । उनले ४ ओभरमा २४ रन खर्चेर माथिल्लो ४ विकेट लिए । यादवले तल्लो ४ विकेट लिनेक्रममा ४ ओभरमा १० रनमात्र खर्चे । सुसन भारीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।


सन्दीप रजाइलीले ३६ बलमा ४ चौकाको मदतले ३४ र राजु रिजालले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । करणले आफ्नो पहिलो दुई ओभरमा सुनील धमलालाई १ र रोहन मुस्तफालाई ९ रनमा बोल्ड गरे । दुवैले इनसाइड एज लागेर स्टम्प गुमाउन पुगे । पवन सर्राफ र अमिर हायत पनि समान ४ रनमा आउट भए ।


करण र अविनाशले ब्याटिङमा पनि महत्त्वपूर्ण साझेदारी गरे । करणले २२ बलमा १ चौका र २ छक्का प्रहार गरी २१ र यादवले २९ बलमा २ चौका प्रहार गरी २७ रन बनाए । आशिफ शेख १२ र सम्शाद शेख ११ रनमा आउट भए । हरिशंकर शाह २, कुशल भुर्तेल ६, असाहउल्लाह खान ३ र राजेश पुलामी १ रनमा आउट भएपछि करण र यादवले विराटनगरको स्कोर हेर्नलायक बनाए । पृथु बाँस्कोटा ६ रनमै आउट भए ।


धनगढीका सोमपाल र विपिन खत्रीले ३–३ विकेट लिए । सोमपालले ३ ओभरमा ८ र विपिनले ४ ओभरमा १९ रन खर्चे । रोबिन क्षेत्रीले एक ओभर बलिङ गर्दै २ विकेट लिए । अर्को १ विकेट सुनील धमलाले लिए । अन्तिम ओभरमा आफ्नो बलमा क्याच लिनेक्रममा विकेटकिपर राजुसँग जुध्न पुगेपछि हायत घाइते हुनपुग्दा अन्तिम दुई बल फाल्दै सुनीलले विकेट लिएका थिए ।


‘मेरो कप्तानीमा र विराटनगरको पनि यो पहिलो जित हो । प्रतियोगितामा एउटा लय चाहिन्छ, आजको जितले त्यो मिलाइदिएको छ,’ करणले भने, ‘हाम्रो टिममा बलिङ राम्रो छ, ब्याटिङमात्र क्लिक भएको छैन । अर्को खेलमा ब्याट्सम्यानले पनि स्कोर गर्छन् भन्ने मैले आशा लिएको छु ।’


दिनको अर्को खेलमा काठमाडौंले ५ विकेट गुमाई १ सय ३४ रन बनायो । जारी प्रतियोगितामा यो उच्च स्कोर पनि हो । महेन्द्रनगरले ८ विकेट गुमाई १ सय २७ रनमात्र बनाउन सक्यो । महेन्द्रनगरको सुरुआत राम्रो रहेन । ओपनरका रूपमा पठाइएका हिटर मोहम्मद नावेद दोस्रो बलमै नन्दन यादवको बलमा बोल्ड भए । अर्को ओभरमा दिलीप नाथ १ रन बनाई रशिद खानको बलमा एलबीडब्लू आउट भए ।


कप्तान शरद भेषावकरले २४ बलमा २३, आरिफ शेखले १० बलमा १ चौका र दुई छक्का प्रहार गरी १८, सुब्रमन्यम आनन्दले १२ बलमा २ छक्कासहित १५, रोहित पौडेलले १० रन बनाए । तल्लोक्रममा आएका अमरसिंह राउटेलाले २७ बलमा २ चौकासहित २८ रन बनाए पनि जित दिलाउन सकेनन् ।


काठमाडौंका रशिद खानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अंकित दबासले २ तथा नन्दन, ललितनारायण राजवंशी र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।


दबास र योगेन्द्रले ४२ बलमा ७६ रन जोड्दा काठमाडौंले चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । दबास ६५ र योगेन्द्र २२ रन बनाई अविजित रहे । ५५ बल खेलेका दबासले ५ चौका र ३ छक्का तथा योगेन्द्रले १४ बलमा १ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए ।


गौरव तोमार १, अनिलकुमार शाह ६, कप्तान ज्ञानेन्द्र मल्ल १४, महबुब आलम १३ र सोनु तामाङ १ रनमा आउट भएपछि दबास र योगेन्द्रको जोडी जमेको थियो । महेन्द्रनगरका अमरसिंहले २ तथा नाभेद, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए ।


‘हामीले उनीहरूलाई १ सय २० रनसम्म रोक्नुपर्ने थियो । यो विकेटमा १ सय ३५ रन भनेको एकदम राम्रो स्कोर हो । दुर्भाग्य भन्नुपर्छ दुवै खेल हामीले अन्तिम ओभर लगेर पनि फिनिसिङ गर्न नसक्दा हार्न पुगेका छौं,’ महेन्द्रनगरका कप्तान शरदले भने, ‘एउटा कप्तानका रूपमा टिमको प्रदर्शनबाट म सन्तुष्ट नै छु, खाली लक्ष्यमा पुग्न नसकेको मात्र हो ।’


काठमाडौंका कप्तान ज्ञानेन्द्र दुई खेल जितेपछि प्लेअफमा पुग्ने सम्भावना बने पनि रनरेट हेर्दा अझै गाह्रो भएको बताउँछन् । ‘हामीले अरु खेल पनि जित्नुपर्छ । दुई खेल जितेपछि लक्ष्य शीर्ष ४ भन्दा पनि शीर्ष २ मा पुग्नेतिर जान्छ । विकेटको कन्डिसन अलिकति गाह्रो भएकाले केही भन्न सकिने स्थिति छैन,’ उनले भने, ‘सबै राम्रो टोली छन्, जसले राम्रो खेल्छ उसैले नै जित्ने हो ।’

प्रकाशित : फाल्गुन २, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?