कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएल क्रिकेट : अत्तरियाको खुलेको रूप

धनगढी — सीवाईसी अत्तरियालाई रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सबैभन्दा कमजोर टोली मानिएको थियो । त्यही अत्तरिया पहिलो दुई खेल जितेर शीर्षस्थानमा पुगेको छ । अत्तरियाले बिहीबार रूपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्‍यो । 

डीपीएल क्रिकेट : अत्तरियाको खुलेको रूप

कप्तान दीपेन्द्रसिंह ऐरीको ६७ रनमा टस जितेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रन बनायो । पहिलो दुई खेल जितेर मजबुत स्थानमा रहेको रूपन्देही फाप्ला क्रिकेट मैदानमा पूरा ओभर खेल्दै ८२ रनमा अलआउट भयो । अत्तरिया र रूपन्देहीसँगै काठमाडौं गोल्डेन्ससँग पनि ४ अंक छ । अत्तरिया रनरेटमा अगाडि छ ।

राउन्ड रोबिन लिगमा एकले अर्काेसँग खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । त्यसमा शीर्ष दुई टोली क्वालिफायर्स १ खेल्ने छन् र विजेता टोली फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने खेलको विजेतासँग प्रतिस्पर्धा गरेर फाइनल पुग्ने बाटो समाउने छ ।

दीपेन्द्रले जारी प्रतियोगितामा व्यक्तिगत उच्च स्कोर बनाउनेक्रममा ५० बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे । ‘ब्याटिङ गर्न त्यति सजिलो त छैन, स्पिनरहरूले बल धेरै घुमाइरहेका छन् । त्यही भएर मैले रिभर्स र स्वीप शट खेल्ने विकल्प रोजें, त्यसमा सफल भए जस्तो लाग्यो,’ दीपेन्द्रले भने, ‘हाम्रो टोली युवा छ, त्यहीअनुसार भनेजस्तो गरिरहेको छ र फिल्डिङ पनि राम्रो गरिरहेको छ ।’ दक्षिण अफ्रिकी भेट्रान क्रिकेटर जोन्टी रोड्स मेन्टर भएकाले टिममा धेरै फरक परेको उनले सुनाए ।

रूपन्देहीका कप्तान वसन्त रेग्मी अत्तरियासँगको हार अप्रत्यासित नभए पनि त्यो आफूहरूका लागि राम्रो शिक्षा भएको बताए । ‘खेल्दा हार्छु भनेर कहिल्यै सोचिन्न । तर खेलको नियम नै हो, जसले राम्रो खेल्छ त्यसैले जित्छ । नराम्रो खेल्ने हार्छ । ट्वान्टी–२० मा ४ ब्याट्सम्यान र ४ बलर चल्यो भने कुनै पनि खेल निस्किन्छ,’ वसन्तले कमजोर मानिएको अत्तरियासँगको हारपछि भने, ‘मैले देखेको, बुझेको यही हो । यस खेलमा पनि त्यही भयो । हाम्रो कुनै पनि ब्याट्सम्यानले क्लिक गर्न सकेनन् । उताबाट दीपेन्द्रले राम्रो खेल्यो र अरुले औसत प्रदर्शन गर्दै यो पिचमा राम्रो स्कोर बनाउन सहयोग गर्‍यो । कहिलेकाहीं हारले पनि धेरै सिकाउँछ ।’

उनले जुन योजना बनाएर आएको त्यो अलिकति नमिल्दा र स्पष्ट हुन नसक्दा पनि हार बेहोर्नुपरेको जनाए । तर त्यो के योजना थियो भने उनले सञ्चारमाध्यमलाई बताउन चाहेनन् । शीर्ष दुईमा पुग्ने आफ्नो टोलीको सम्भावना अझै बलियो रहेको जनाउँदै उनले दीपेन्द्रको इनिङ्सबारे प्रशंसा गर्दै भने, ‘दीपेन्द्र पहिलादेखि नै राम्रो खेल्ने खेलाडी हो । उसको आफ्नै प्राकृतिक खेल्ने शैली छ । क्रिकेटमा चाहिने पनि त्यही नै हो, प्राकृतिक रूपमा खेल्ने नै अहिले सफल छन् ।’

दीपेन्द्रले रित गौतमसँग तेस्रो विकेटमा ५५ बलमा ५७ रन जोडे । प्रेम तामाङको स्थानमा खेलेका रितले २० बलमा १२ रन बनाए । यसअघि नै ओपनर जयकिसन कोल्सावाला १ र सुवेन्दु पाण्डे २ चौका प्रहार गरी १४ बलमा १२ रन बनाएर आउट भइसकेका थिए ।

दीपेन्द्रपछि अत्तरियाबाट सन्नी पटेल (१२) मात्र दोहोरो स्कोर बनाउने खेलाडी थिए । सन्दीप जोरा २, भुवन कार्की शून्य, जितेन्द्रसिंह ठकुरी ३ र कमलसिंह ऐरी १ रनमा आउट भए । रूपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३, विक्रम सोबले २ तथा वसन्त र पुनीत मेहराले १–१ विकेट लिए ।

विदेशी खेलाडीद्वय बाबर हायत र पुनीतलाई खाता खोल्नु अघि नै गुमाएको रूपन्देही कुनै पनि समय अत्तरियाको स्कोर छेउछाउ देखिएन । ओपनर प्रदीप ऐरी १५ बलमा १४ र सन्दीप सुनार २७ बलमा १५ रन बनाएर आउट भए । सुमित महर्जनले २२ बलमा अविजित २२ रन बनाएपछि रूपन्देहीले ठूलो रन अन्तर घटाउन सकेको थियो ।

विनोद भण्डारीले १० र विक्रमले १४ रन बनाए । भीम सार्की, वसन्त र ललितसिंह १–१ तथा कृष्ण कार्की २ रनमा आउट भए । अत्तरियाका सन्नी, भुवन, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र राउतले २–२ तथा कमलले १ विकेट लिए । सन्नीले ४ ओभरमा १८, भुवनले ४ ओभरमा १०, दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १३ र दीपेन्द्र राउतले ४ ओभरमा ९ रन खर्चे ।

वर्षाले दोस्रो खेल रद्द

विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाले रद्द बनाएको छ । टस जितेर विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाई ८२ रन बनाएको समयमा खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि पनि निरन्तर वर्षाका कारण थप खेल हुन सकेन । दुवै टोलीले १–१ अंक पाएका छन् । विराटनगरसँग ३ खेलमा ३ अंक भएको छ । पहिलो दुई खेल हारेको महेन्द्रनगरको यो पहिलो अंक हो ।

विराटनगरका ओपनर असादउल्लाह खानले १९ रन बनाए । २३ बल खेल्दै ३ चौका प्रहार गरेका उनले पहिलो ओभरमा मोहम्मद नाभेदको बलमा छक्का प्रहार गरेका थिए । पृथु बाँस्कोटा १४, अविनाश यादव १३ र तृतराज दास १२ रन बनाई आउट भए । महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ३ र नाभेदले १ विकेट लिए ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?