कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिया र उमेशले जिते उपाधि

एलिसा श्रेष्ठ

भोजपुर — खोटाङकी प्रिया राई र भोजपुर आमचोक गाउँपालिकाका उमेश राईले शनिबार चौथो भोजपुर ट्रेल रेसको उपाधि जितेका छन् । पौवादुङ्मा गाउँपालिकास्थित सानोदुङ्मा माविबाट सुरु भएको ३६ किलोमिटरको ट्रेल रेस सदरमुकामस्थित सहिदपार्कमा टुंगिएको थियो ।

प्रिया र उमेशले जिते उपाधि

विजेता महिला खेलाडीले गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन पाउने र विजेता पुरुष खेलाडीले अन्तराष्ट्रिय ट्रेल रेसमा सहभागी हुन पाउने आयोजक रीमाचुङ एजुकेसन एन्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ राईले जनाएका छन् ।


प्रियाले ५ घण्टा १९ मिनेट ८ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो भएकी भोजपुरकी प्रतीक्षा श्रेष्ठले ५ घण्टा ३६ मिनेट ३० सेकेन्डमा दूरी पार गरिन् । ६ घण्टा १ मिनेट ४८ सेकेन्डबाट सिन्धुपाल्चोककी प्रिया तामाङ तेस्रो भइन् ।


उमेशले ३ घण्टा ३१ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरेर उपाधि जिते । दोस्रो भएका सविन तामाङले ३ घण्टा ४३ मिनेट ४ सेकेन्डमा दौड पूरा गरे । ४ घण्टा ८ मिनेट ३९ सेकेन्डबाट सुमन कुलुङले तेस्रो स्थान हासिल गरे ।


धाविक मीरा राई इनिसिएटिभ गु्रपले रीमाचुङ एजुकेसनको प्रायोजनमा ट्रेल रेस आयोजना गरेको हो । चर्चित अल्ट्रा धाविका मीराले भावी पुस्ताका लागि यो अल्ट्रा रेस सुनौलो अवसर बन्ने बताइन् । उनले भनिन्, ‘मेरो जन्मथलोबाटै अल्ट्रा रेसको सुरु गरेर नेपालभर रहेका मजस्तै खेलाडीहरूलाई विश्वसामु ल्याउन सहयोग गर्नेछु र भविष्यमा अन्य जिल्लामा पनि ट्रेल रेसको आयोजना गर्न सहयोग गर्नेछु ।’ त्यसका लागि १० भन्दा बढी पैदल रुटको अनुगमन गरिएको थियो । जिल्लामा मीरा जस्तै खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ उनकै जन्मथलोबाट रेस सुरु गरिएको जनाइएको छ ।


ट्रेल सानोदुङ्मा माविबाट दीर्घेभञ्ज्याङ, तिवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुडे, बोखिम, दाम्सिङको पाँचधारे, देउरालीचोक हुँदै सदरमुकामको सहिदपार्क पुगेको थियो । दौडमा १ सय १२ पुरुष र ३४ महिलाको सहभागिता थियो । त्यस्तै प्रोत्साहनका लागि १२ वर्षमुनिका लागि ३ किलोमिटरको दूरीमा दौडाइएको थियो । ३६ किमि पार गर्न नसक्ने १६ वर्षमुनिका खेलाडीलाई ८ किमि दूरी राखिएको थियो ।


रेसलाई पौवादुङ्मा गाउँपालिकाले ३ लाख सहयोग गरेको छ । धाविका मीरा राईको योगदानलाई सम्मान गर्दै उनको नाममा बहुउद्देश्यीय रंगशाला र सामुदायिक भवनसमेत बनाइने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?