कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टप्सलाई क्रिकेट उपाधि

कान्तिपुर संवाददाता

(लेखनाथ) — टप्स माविले नेप्लिज इनकाउन्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेटको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आइतबार फाइनलमा टप्सले प्रतिभा बोर्डिङलाई १७ रनले हरायो ।

मेखबहादुर सेनले नटआउट ८८ रन जोडेपछि २० ओभरमा टप्सले १ सय १० रन बनायो । उनले ६६ बल खेल्दा ८ चौका र ३ छक्का प्रहार गरे । उनीबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । अन्जन केसीले ३ र रोशन न्यौपानेले २ विकेट लिए । जवाफमा प्रतिभाले ९ विकेट गुमाएर ९३ रनमात्रै बनायो । जगदीश घिमिरेले १६, सविन पराजुलीले ११ र सफल केसीले १० रनमात्रै जोडे । टप्सका कप्तान रहेका यू–१६ का पूर्व राष्ट्रिय खेलाडी मेखबहादुर सेन, अशोक मगर र सुजन गुरुङले २–२ विकेट लिए । म्यान अफ द म्याच मेखबहादुर सेन भए ।


नेप्लिज इनकाउन्टर्स एजुकेसन प्रालिको प्रायोजनमा कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ द सिरिज मेखबहादर (१८१ रन, ५ विकेट) घोषित भए । प्रतिभाका जगदीश घिमिरे बेस्ट ब्याट्सम्यान (९७ रन) र हिमालयन बोर्डिङका अमन श्रेष्ठ बेस्ट बलर (१० विकेट) घोषित भए । इमर्जिङ प्लेयरको पुरस्कार हिमालयनका आदित्य थापाले पाए ।


विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी, मुख्य प्रायोजक नेप्लिज इनकाउन्टर्स एजुकेसन प्रालिका प्रबन्ध निर्देशक नारायण पहारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार गरे ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?